शर्माको उपचारमा सहकर्मीहरूको साथ

सुर्खेत, साझा बिसौनी दैनिकका संवाददाता डिलप्रसाद शर्माको उपचारार्थ साझा बिसौनी पब्लिकेशन प्रा.लि.ले आर्थिक सहयोग प्रदान गरेको छ । बोनम्यारोको उपचारका क्रममा रहेका शर्मालाई एक लाख ११ हजार एक सय ११ रूपैयाँ प्रदान गरिएको हो ।

पब्लिकेशनमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक र साझा बिसौनी फाउण्डेशनको कोषमार्फत् उक्त रकम संकलन गरिएको हो । बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि यस पब्लिकेशनमा कार्यरत कर्मचारीहरूले सहकर्मी शर्माको उपचारका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गरेका छन् । उक्त रकममा फाउण्डेशले आफ्नो कोषमार्फत् थप गरेर एक लाख ११ हजार एक सय ११ रुपैयाँ पु¥याएको हो ।

सहकर्मीको जीवन रक्षार्थ रकम संकलन गरेर सहयोग गरिएको साझा बिसौनी पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीले बताए । बोनम्यारो प्रत्यारोपण महंगो भएकाले आर्थिक संकलन गरेर शर्माको उपचारमा सहयोग गरिएको उनले बताए ।

साथै अध्यक्ष अधिकारीले संस्थाले थप रकमसमेत संकलन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए । शर्मा करिब एक महिनादेखि भारतमा उपचार गराइरहेका छन् । आइतवार भारतबाट नेपाल फर्किन लागेका उनको काठमाडौंमा बोनम्यारोको प्रत्यारोपण गरिनेछ ।

यसैबीच नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पनि शर्माको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने भएको छ । महासंघले सहयोग अभियान सञ्चालन गरेर रकम संकलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए । साथै उनले शर्माको उपचारका लागि सक्दो सहयोग गर्न सबैसँग अपिलसमेत गरे ।

प्रकाशित मितिः   १२ श्रावण २०७६, आईतवार १६:४६