निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत, वीरेन्द्रनगर–९, लाटीकोइलीमा रहेको प्रज्ञा पाठशालाको आयोजनामा एक दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रज्ञा पाठशाला र शुलभ यात्रा प्रा.लि.को संयुक्त पहलमा शनिवार शिविरको आयोजना गरिएको थियो ।
शिविरमा छालारोग, दाँतको परिक्षणका साथै सुगर परिक्षण लगायत विभिन्न रोगको परीक्षण र औषधि वितरण गरिएको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिविरमा आएका अन्य स्थानीय गरी तीन सय ८९ जनालाई दाँतको सुरक्षा, पोषण, बालबालिकाको स्वास्थ्य र सामान्य स्वास्थ्य रक्षा सम्बन्धी जानकारीमूलक प्रदर्शनी र सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको पाठशालाले जनाएको छ ।
शिविरमा डा. खगेन्द्र गौतम, डा. अनिल गदाल, ल्याब टेक्नोलिष्ट सीता रेग्मी लगायतले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । शिविर आयोजना गर्न शुलभ सिटी पोलिक्लिनिक प्रा.लि. वीरेन्द्रनगर–९ मंगलगढीले प्राविधिक सहयोग गरेको थियो भने वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा र लाटीकोइली स्वास्थ्यचौकीले औषधि प्रदान गरेका थिए ।