जनजागरणमा वृक्षारोपण

सुर्खेत, १७ असार । (साबिस)
वीरेन्द्रनगर–३ स्थित जनजागरण सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वडास्तरीय बाल सञ्जाल, नवकोपिला बाल क्लब तथा युथ फर चिल्ड्रेन कालागाउँ शाखाको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।
वडास्तरीय बाल सञ्जाल, नवकोपिला बाल क्लबको मासिक कार्यतालिका तथा युथ फर चिल्ड्रेनको ‘हरियाली जोगाऔं, वातावरण बचाआंै’ अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा युथ फर चिल्ड्रेनका अध्यक्ष विनोद कँडेलले वातावरण संरक्षण गर्नु र हरियाली बढाउनु सामुदायिक वन प्रयोग गर्ने र स्थानीयवासी सबैको जिम्मेवारी भएका बताए । त्यस्तै वडास्तरीय बाल सञ्जाल, नवकोपिला बाल क्लबकी अध्यक्ष विपना ढकालले भनिन् ‘सामुदायिक वनमा वृक्षारोपण गरिएका बिरुवा स्थानीय वन समितिले संरक्षण गर्नुपर्दछ र वन क्षेत्रमा जथाभावी रूपमा बिरुवा मास्नेलाई कडाभन्दा कडा कारबाहीको प्रावधान ल्याउनु पर्दछ ।’
वन क्षेत्रका विभिन्न खाली पाखाहरू, पहिरो गएको क्षेत्र तथा पुराना रुखहरू भएको क्षेत्रमा ईलाका वन कार्यालयको सहयोगमा उपलब्ध गराइएका १२ विभिन्न प्रजातिका दुई सय ५० वटा बिरुवा दुवै संस्थाका पदाधिकारी तथा स्थानीय व्यक्तिहरूको उपस्थितिमा वृक्षारोपण सम्पन्न गरिएको हो । गतवर्ष जस्तै यसवर्ष पनि सञ्चालन गरिएको यो कार्यक्रमलाई निरन्तरता दिनसकेको खण्डमा वातावरण संरक्षण हुने, हरियाली बढ्ने सहभागीहरूले बताएका थिए ।

प्रकाशित मितिः   १८ असार २०७३, शनिबार ०४:३६