मानवअधिकार राष्ट्रिय कार्यशाला

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ असार ।
चौथो मानवअधिकार राष्ट्रिय कार्यशाला तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी कार्यशाला शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्ज र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा भएको कार्यशालामा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले मानवअधिकार संवेदनशील विषय भएकाले यसको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक मुरारीप्रसाद खरेलले चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजना तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजनामा विभिन्न १८ वटा विषयलाई समेटेर कार्ययोजना तयार पारिएको बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले मानवअधिकारको क्षेत्रीय कार्यालयलाई प्रदेश संरचना अनुसार सुर्खेतमा सार्नुपर्ने बताए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले खाद्य सुरक्षाका विषयमा आफ्नो कार्यालय गम्भीरताका साथ लागिपरेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी, जिल्ला शिक्षा अधिकारी दीपा हमाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १८ असार २०७३, शनिबार ०४:३५