पहिलो दिन भेट, दोस्रो दिन विवाह
सफल व्यवसायी बन्नु विनोद अर्यालको बाल्यकालदेखिकै सपना हो । पिता लक्ष्मण अर्याल र माता रेखा अर्यालको कोखबाट २०४१ सालमा जन्मिएका विनोद बाल्यकालदेखि नै भविष्यमा सफल व्यापारी बन्ने सपना बुन्दै हुर्किए । चञ्चले र जिज्ञाशु स्वभावका विनोद बुटवलमा बीबीएस सकेर विजनेश पढ्नकै लागि बेलायत गए । ‘मेरो बाल्यकालदेखिको सपना नै व्यापारी बन्ने थियो, त्यही सपना साकार पार्नको लागि मैले पढाइ पनि व्यापार सम्बन्धी नै गरें’ उनले भने ।
बेलायतमा चार वर्ष विजनेश अध्ययन पछि उनी नेपालमा नै व्यापार गर्ने सोच लिएर फर्के । उनले धेरै जिल्लामा व्यापारको लागि अध्ययन पनि गरे तर, आफूले खोजे जस्तो ठाउँ पाएनन् । उनी सुर्खेतमा पहिलो पटक व्यापार अध्ययनका लागि आएका थिए । उनलाई सुर्खेत नै व्यापार गर्ने उपयुक्त ठाउँ लाग्यो । उनी भन्छन्, ‘म व्यापार गर्छु भनेर धेरै जिल्लामा गएँ तर, सुर्खेत नै मलाई व्यापारको लागि उपयुक्त ठाउँ लाग्यो, वातावरणीय हिसाबले हरेक दृष्टिकोणबाट हेर्दा सुर्खेतले मेरो मन तान्यो ।’ यतिसम्म कि आफू जन्मिएको ठाउँभन्दा उनलाई सुर्खेतको वातावरण, भौगोलिक दृष्टिले पनि उनले सुर्खेतलाई व्यापार गर्नको लागि उपयुक्त ठाने ।
उनलाई बाल्यकालदेखि नै व्यापार गर्ने रुचि त्यसमा पनि उनका बुबाले पनि व्यापार गरेको हुँदा उनलाई बाल्यकालदेखि नै व्यापार सम्बन्धी राम्रो ज्ञान थियो । २०७० साल वैशाखदेखि उनले सुर्खेतमा दर्शन फेन्सी हाउस सुरु गरे । उनी भन्छन्, ‘मैले सुर्खेतमा व्यापार सुरु गरेको छोटो समयमा नै सफलता पाएँ ।’ विनोदले व्यापार त सुरु गरे तर, घर बुटवल र व्यापार सुर्खेत भएकाले उनी एक्लै भए ।
भनिन्छ, जीवनमा कोही पनि व्यक्ति जीवन एक्लै अगाडि बढाउन सक्दैन । जीवनलाई सहज रूपमा अगाडि बढाउनको लागि कोही न कोहीको साथ त चाहिन्छ नै । उनलाई पनि जीवनको हरेक पाटो र बाटोमा साथ दिने साथीको आवश्यकता खट्कियो । आफन्तद्वारा उनी केटी हेर्न बुटवल गए । विनोदका आफन्त केटी पक्षतिरको घर नजिकैको थिए । उनले भने, ‘मेरो आफन्तले केटीलाई राम्रोसँग चिनेको छु एकचोटी हेर्न जाउँ भनेपछि गएँ ।’
उनको विवाहको कुरा चलेको केटी अरु कोही नभएर समीक्षा थिइन् । समीक्षालाई भने आफ्नो विवाहको कुरा चलेको केही थाहा थिएन । समीक्षा भर्खर ब्याचलर सकेर एनजीओमा जागिर गर्दै थिएन् । उनी काम गर्ने अफिसमा नै विनोद आफन्तलाई लिएर समीक्षालाई हेर्न गएका थिए । विनोद समीक्षालाई हेर्न जाँदा पहेंलो रंगको टिसर्ट लगाएर गएका थिए । उनलाई थाहा थिएन समीक्षालाई पहेंलो रंग मनपर्छ भन्ने । समीक्षाको मनपर्ने रंग पनि पहेंलो थियो । पहिलो भेटमा नै समीक्षाको आँखा विनोदको टिसर्टमा गयो । उनले भनिन्, ‘मलाई मनपर्ने रंगको टिसर्ट लगाएर मलाई हेर्न आउनु भएको थियो त्यो पहेंलो टिसर्टले गर्दा पनि मलाई उहाँ पहिलो नजरमा नै मन पर्नुभयो ।’
भनिन्छ नि, भाग्यमा लेखेको कुरा भइपरी आउँछ । विनोद र समीक्षाको भाग्यमा पनि दुवै जना एक हुने लेखेकै थियो । त्यसैले त नजानेरै भए पनि समीक्षाको मनपर्ने रगंको टिसर्ट विनोदले लगाएर गएका थिए । पहिलो भेटमा नै उनीहरूले बिहेको कुरा छिनिसकेका थिए । विनोद जे कुरामा पनि निर्णय छिटो लिने भएकाले पनि विवाहको कुरा पनि एकै दिनमा छिने । दुवै जना समीक्षाको अफिसमा नै भेटेर कुरा गरेका थिए । उनीहरू भन्छन्, ‘सुन्दा अचम्म लाग्छ, हाम्रो भेटको पहिलो दिनमा नै विवाहको कुरा छिनेर भोलिपल्ट नै विवाह ग¥यौं ।’
भनिन्छ, भाग्यमा लेखेको कुरा जति टाढा भए पनि आफ्नो हुन्छ, नहुने कुरा जति नजिक भए पनि टाढा हुन्छ । विनोदको भाग्यमा पनि समीक्षा लेखेकै भएर होला एकै दिनमा विवाहको कुरा पक्का भएको थियो । केटाकेटीको कुरा मिले पनि दुवैको घरपरिवारले उनीहरूको विवाह २०७१ सालमा मागी विवाह भयो ।
विवाह भएको भोलिपल्ट नै दुवै जना सुर्खेत आएका थिए । विनोदले एक वर्ष अगाडि नै सुर्खेतमा व्यापार सुरु गरिसकेका थिए । समीक्षाको भने सुर्खेत आएको पहिलो चोटी नै थियो । विवाहपछि हरेक छोरीको लागि माइती भर पराइ बन्छ । समीक्षाको लागि पनि विवाहपछि माइती घर, पढाइ र जागिर छोडेर सुर्खेत आउनुपर्दा नरमाइलो लागेको थियो । आफूले गरेको नियमित काम भन्दा फरक काममा समीक्षालाई रिझ्नको लागि सुरुमा अलि गाह्रो भएको थियो । एक त विवाहपछि कहिल्यै नआएको ठाउँमा आउँदा त्यसमा माइतीदेखि घरबाट समेत एक्लै हुँदा सुरु–सुरुमा समीक्षालाई नरमाइलो लागेको थियो । उनले भनिन्, ‘सुरु–सुरुमा अलि नरमाइलो लागेको थियो, पछि बानी पर्दै गएँ अहिले त सुर्खेत नै रमाइलो लाग्छ ।’ समीक्षालाई रमाइलो गराउनको लागि विनोद भने हाँसो लगाइरहन्थे । त्यसैले पनि समीक्षालाई विनोदसँग नजिक हुन गाह्रो भएन । उनी भन्छिन्, ‘मलाई नरमाइलो लाग्दा सधैं उहाँले मलाई हँसाउनुहुन्थ्यो त्यसैले पनि खासै गाह्रो भएन ।’
पसलमा बस्नेदेखि बाहेक बिदाका दिनमा दुवै जना सँगसँगै घुम्न जाने गर्दछन् । दुवै जना धर्मकर्ममा अलि बढी आस्था राख्ने भएकाले घुम्न जाँदा पनि पहिला मन्दिरमा पुग्नैपर्ने हुन्छ उनीहरूलाई । उनीहरू भन्छन्, ‘हामी जहाँ घुम्न गए पनि मन्दिरमा जानै पर्छ, धर्मकर्ममा दुवैको आस्था धेरै नै छ ।’ समीक्षालाई लाग्ने गर्छ भगवान्ले जोडी पहिले नै बनाएर पठाएका हुन्छन् । त्यस्तै समीक्षाकै लागि विनोदलाई बनाएर पठाए झैं लाग्नेगर्छ । समीक्षा सधैं सोमवारको व्रत बस्ने गर्छिन् । विनोद उनलाई हेर्न गएको दिन पनि सोमवार नै थियो । जुन दिन समीक्षाको व्रत थियो । यो सबै भगवान्ले लेखेकै भएर आफूहरूको जोडी भएको उनीहरू बताउँछन् ।
पिता बालकृष्ण थापा र माता विष्णुमाया थापाको कोखबाट २०४५ सालमा बुटवलमा जन्मिएकी समीक्षाको बाल्यकाल सुखमयसँग बितेको थियो । बाल्यकालमा पढाइ लेखाइ र साथी सङ्गीसँग रमाइलोमा नै बिताएकी समीक्षा बाल्यकालमा शान्त स्वभावकी थिइन् । बुटवलमा नै आफ्नो पढाइसकेकी समीक्षाले विवाह पछिका दिनमा भने पढाइ छोड्दा उनलाई नरमाइलो लागेको थियो । तर पनि उनलाई विनोदले कहिल्यै नरमाइलो हुन दिएनन् । विनोद समीक्षालाई सधैं केही न केही कुरामा हँसाउने गर्थे । त्यसैले पनि समीक्षालाई एक्लोपन र नरमाइलो पल आए जस्तो लाग्दैन ।
विवाहपछि उनीहरूका दिन रमाइलोसँग बितेको छ । व्यापार सँगसँगै दुवै जना बिदाको समयमा रमाइलोको लागि घुम्न जाने पनि गर्छन् । घरको काममा पनि दुवै जना मिलेर नै काम गर्ने गर्छन् । खाना पकाउनमा विनोद सघाउने गर्छन् । कहिले काहीं झगडा पनि हुनेगर्छ । तर, सामान्य मात्र झगडा हुनेगर्छ । दुई जना मात्र भएकाले पनि झगडा गरे पनि दुवै जना एकै छिनमा बोली हाल्छन् । श्रीमान् श्रीमतीको झगडा परालको आगो भने झैं एकै छिनमा रिस मरिहाल्छ । उनीहरू भन्छन्, ‘झगडा पनि हुनैपर्छ किनकी झगडा भएन भने माया कसरी बढ्छ त्यसैले माया बढ्नको लागि पनि कहिले काहीं झगडा हुनैपर्छ ।’ तितोपछिको मिठो भने झैं झगडा पछिको माया पनि गाढा हुनेगर्छ । विनोदलाई समीक्षाले जे पकाए पनि मिठो खाना पकाउने बानी मनपर्ने गर्छ । कहिले काहीं कुरा नबुझेर रिसाउने बानी भने हटाइदिए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै समीक्षालाई पनि विनोदको आफू रिसाएको बेलामा पनि फकाउने र हाँसो लगाउने बानी मनपर्ने गर्छ । विनोद कहिले काहीं रिसाउँदा बढी नै रिसाउने बानी भने समीक्षालाई अलि मन पर्दैन ।
उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि एकअर्काेका विश्वास हुन जरुरी छ । उनीहरू भन्छन्, ‘संसार नै विश्वासमा अडेको छ त्यसैले पनि श्रीमान् श्रीमती बीचको सम्बन्धलाई सफल र दिगो बनाउनको लागि एकअर्काेमा विश्वास हुनुपर्छ ।’ दाम्पत्य जीवन सफल बनाउन र डोरी नै विश्वास हो । श्रीमान्–श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन् । जसरी एक पाङ्ग्राले काम गर्न छोड्यो भने अर्काे पाङ्ग्राले मात्र रथ धान्न र तान्न सक्दैन त्यसरी नै श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि त्यस्तै हो एकअर्काे बीचको विश्वास भएन भने त्यो सम्बन्ध दिगो हुन सक्दैन ।
साझा बिसौनी संवाददाता ।