आशाको डोरी (अनुभूति)

prakash
प्रकाश रोकाया

जिन्दगी आशाको डोरीले बाँधिएको छ । आशा छ र त हामी पीडादायक पर्खाइहरू झेल्न तयार हुन्छौं । आशा छ र त हामी भोलि देख्न अभिशप्त हुन्छौं । आशा छ र नै त जीवनलाई जीवन जस्तै बनाएर अनुभूति गर्न पाइरहेका छौं । हिजो कसैलाई पर्खिरहेकी बुढी आमा आज पनि कसैले ढोका ढक्ढकाइरहँदा उही आफ्नो छोरो आयोकी भनेर झस्किन्छिन् । आशा त लामो समयभन्दा पनि छिटो समय अर्थात् दैनिक पनि हुँदोरहेछ । ऊ त्यही बाटोमा छन् आशा, सरले होमवर्क पनि चेक नगरिदिएको भए हुन्थ्यो भन्ने आशा । गाडीमा यात्रु भराभर किन नहुन अझैं यात्रु थपिउन भन्ने आशा तर मेरो आशा अलि बेग्लै छ ।
कक्षा १ मा भर्ना हुँदा कसैको हात समातेर स्कुल गएको थिएँ । मलाई ऊ भेटिने आशा थिएन । न त म उसलाई चिन्दथें । चिन्दथें त केवल त्यो स्कुललाई । उकालो र ओरालोमा पनि उही रफ्तारमा कुद्ने दिन बित्दै गए । मित्रताको बारेमा नजानेकै भए पनि हाम्रो मित्रता बन्दै गयो । सम्बन्ध बाक्लिदै गयो । हामी सधैं खेल्ने चौर पनि त्यही, खाजा खाँदा छहारी दिने रुख पनि उही । म खाजा खाने समयमा उसको आशामा बसिरहन्थें ताकि ऊसँगै भेट होस् । थाहा थिएन कुनै दिन ती पनि आउलान भनेर त्यो दिन सानै कुरामा हाम्रो झगडा भयो । त्यसमा रिस थियो, त्यसमा आवेग थियो, त्यो आक्रोशले दनदनी बलिरहेको शरीरले उसलाई अनि मलाई पछारिन बेर लागेन । मान्नुस् दुवै जनाको भए पनि त्यो एक किसिमको युद्ध मैदान झँै लाग्दथ्यो । तर पनि कसैले हामीलाई छुट्याइदियो । मलाई फेरि उहीसँग मिल्ने आशा थिएन तर पनि समयले फेरि पनि हामीलाई मिलाइदियो । विस्तारै फेरि गुच्छा, कबडी, तातो आलु जस्ता खेलले हाम्रो मित्रता फेरि पनि विगतकै जस्तो प्रगाढ बनाइदियो ।
थाहै भएन समय बितेको । हामीसँगै पढ्ने केही साथीहरू विवाह गरेर गइसकेका थिए । त्यहाँ पनि त एउटा आशा थियो ऊसँगै फेरि त्यही स्कुलमा पढ्न पाइयोस् । कक्षा आठको रिजल्ट पनि आयो । म ऊ भन्दा केही पछिल्लो स्थानमा आएँ तर पनि मेरो जुन आशा थियो त्यो पूरा हुनसक्ने कुरै थिएन । स्कुलमा आठ कक्षा भन्दा माथि पढाइ हुँदैन थियो । हामी पनि आ–आफ्नो हिसाबले छुट्यौं । अर्काे स्कुलमा कक्षा ९ को भर्ना गर्नको लागि पुगें । जब म त्यो स्कुलमा पुगें मलाई त्यस्तो कुनै आशा थिएन अनि सोचेको पनि थिइनँ । लाग्छ, सोचले नै आशा जन्माउँछ तर यो अवस्था न मैले सोचेको थिएँ तर आशा नै गरेको थिएँ । भर्ना हुन भनेर भित्र बस्न आँटेको थिएँ, त्यहाँ कोही केटीको आगमन भयो, जसलाई म केही अगाडिबाट चिन्दथें तर मेरो लागि त्यो केटी स्वीकार्य हुन सकेन । म पुनः अमरज्योति नमुना उच्च मावि नेवारे चनौटेमा गएँ । त्यहाँ ऊ सँगै भेट भयो, त्यही पुरानो मान्छे जोसँग मैले मेरो जीवनको बाल्यकाल बिताएको
थिएँ । अनि टाढिन लागेको मित्रतालाई अगाडि बढाउने बाटो पाइयो । विस्तारै समय बित्दै गयो । पढाइ आफ्नो गतिमा ओरालो लाग्दै गयो । प्रतिस्पर्धाको त्यो कक्षामा ऊ कुनै कुनाम बसिरहेको हुन्थ्यो भने म अर्काे कुनै कुनामा बसिरहेको हुन्थें । विस्तारै ऊ पनि नजिक हुँदै थियो अनि म भने आफ्नो अतिरिक्त क्रियाकलापमा अगाडि । हुन त, ऊ पनि आफ्नो अतिरिक्त क्रियाकलापमा अगाडि भयो तर जुन सरहरूको हामीप्रति गरेको आशा थियो, त्यो पूरा हुन सकेन । आशा पूरा हुने कुरा पनि भएन । किनकी हामीमा अब अतिरिक्त क्रियाकलापको लत लागेको थियो, जुन त्यस्ता क्रियाकलापमा म स्कुलबाट बाहिर जाने कार्यक्रममा भाग लिन्थें भने ऊ भने बाहिर जानेलाई रोक्थ्यो । मलाई आफ्नो माया जालमा फसायो त्यस्ता क्रियाकलापले । हुन त सरहरूको एउटा आशा चाहिँ हामीले पूरा गरेका छौं जस्तो लागिरहेको थियो । मैले स्कुलबाट सहभागिता नहुनबाट बचाइरहेको थिएँ । व्यक्तिको योगदानको मापन कहाँ हुन्छ, कहाँ हुँदैन । मैले र उसले पढेको ठाउँमा भएन होला, काहीं कतै भएको भए पनि त्यसको महसुस हामीले गर्न सकेनौं होला । विस्तारै समय बित्दै गयो । अब फेरि हाम्रो मित्रता उस्तै होला भन्ने लागेको थिएन, विस्तारै दिन अघि बढ्दै गयो । कक्षा १० को परीक्षा आइसकेको थियो । आफ्नो नतिजा राम्रो आ–ओस् भन्ने सबैलाई आशा हुनु स्वभाविक नै थियो । तर यी आशालाई वर्तमानमा ल्याउनु हामी दुईको लागि त्यति सहज थिएन तसर्थ हामी अब केही महिनाको लागि अलग भयौं । म होस्टेलतिर लागें, ऊ आफ्नो घरतिर ।
एसएलसीको परीक्षा हुने ती दिनहरू निकै छोटा लाग्दथे । हामीले सँगै परीक्षा दियौं । अनि पास पनि भयौं । फेरि यहाँनिर प्लस टूको भर्ना जो एक मित्रता टुटाउने माध्यम थियो तर पनि हाम्रो मित्रता टुट्न त्यति सजिलो थिएन । विस्तारै बढ्दै गएको हाम्रो उमेरले हो या सकिँदै गएको जवानी भनौं, जीवनप्रतिका आशा अनि बोझ बढ्दै गए जस्तो लाग्न थाल्यो । अब हामीले दुवैले अतिरिक्त काम छाड्ने विचार गरिसकेका थियौं ।
मैले केही हदसम्म त छाडें र मलाई कुनै आशा भने थिएन कि उसले आफ्नो अतिरिक्त कला भने छोड्ला भनि । किनभने म भन्दा केही चलाख अनि हेन्डसम थियो । नजिकैको कक्षा ११ को परीक्षाको समय तालिका पनि प्रकाशित भयो र हामी दुवै आ–आफ्नो तरिकाले पढ्दै गयौं र दुवै सन्तोषजनक रूपमा पास भयौं । त्यो कक्षा ११ को रिजल्ट आएको दिन थियो । म बारीमा आमालाई तरकारी खन्न सहयोग गर्दै थिएँ । ऊ अनि अर्काे साथी हेमन्त वाइकमा
आए । मलाई पास भएको खबर उनीहरूले नै सुनाए । त्यसपछि मेरो हातको कोदालीले कति बेला हात छोडिसकेछ । मेरो हाफपाइन्ट कतिबेला फुलपाइन्ट भएछ, अनि खुट्टाले जुत्ता लगाएछ थाहै भएन । एकदम हतार जो भएको थियो । त्यो दिन पार्टी भयो । रमाइलो भयो । निकै स्मरणीय रह्यो त्यो दिन । त्यसपछि पनि दिन बितेको थाहा भएन । म त कक्षा १२ पनि पास भइसकेछु । विस्तारै बीबीएसको माहोल ताती सकेको थियो । सबैजना मोडेल कलेजमा पढ्ने सल्लाहका साथै मोडेल कलेजमा भर्ना भयौं । पहिलो दिन मन खुशीले फुरुङ्ग थियो । नौला साथी, नौला सर मिस अनि बिल्कुलै नयाँ वातावरण लागिरहेको थियो । हामी सबै किन हो खै, कसैसँग बोल्न सकिरहेका थिएनौं । सरको बीचमा मेरा आँखा कसैसँग गएर ठोक्किए । उसका आँखामा न त कुनै जादु नै थियो न त कुनै आर्कषणका किरण थिए त केबल मिठो मुस्कान बोली । मलाई मख्ख पार्न यति जो काफी थियो । मन एक किसिमले फरक भइदियो, फरक बिल्कुल पहिले भन्दा । उसलाई देख्नुभन्दा पहिला र अहिलेको मेरो स्थितिमा ठूलै फरक महसुस गरें र मेरो साथी, जो मसँग कक्षा एकदेखि सँगै पढिरहेको छ, उसले बारम्बार बीबीएसको पढाइ जारी राख्न मुस्किल रहेको भनिरहेको थियो । म उसलाई सम्झाइरहेको थिएँ । केही दिनको अथक प्रयासले कलेजमा भर्ना भयो । अब मेरो हिम्मत अझ बढ्यो । दिन बित्दै गए । नयाँ–नयाँ कलेजबाट आएका साथी घुलमिल हुँदै गइयो । साथै ऊसँग पनि जो सँग पहिलो दिन मै आकर्षण भइसकेको थियो, उसँग पनि एउटा गाढा मित्रता बसिसकेको थियो ।
पढाइ सुरु भएको केही दिनमात्रै बितेको थियो । पोखराबाट मेरो बाबाको फोन आयो अनि मलाई करिब दुई महिनाको लागि उतै आउन सकिने विषयमा कुराकानी भयो । पढाइको मामलामा भने पोखरा युनिभर्सिटीमा मलाई स्कलरसीप मिल्यो भने उतै पढ्नुपर्ने कुरा आयो । यसले एक किसिमले मलाई खुशी बनायो भने एक किसिमले दुःखी । म उसलाई छाड्नुपर्छ कि भनेर अझ दुःखी थिए । ऊ आफु पनि मैसँग जाने अठोट गरिरहेको थियो । म सोच्दै थिएँ तर खुशी भनौं या नियति, म केही कारणले उता जाने कार्यक्रम रद्ध भयो अनि म पुनः मोडेल कलेज मै पढ्ने भन्ने कुरा घरमा भयो । विस्तारै दिन बित्दै
गए । कलेजको खेलकुद सप्ताह पनि नजिकै आयो । ऊ अनि म आफ्ना–आप्mना खेलमा भाग लियौं र केही खेलमा पुरस्कार जित्यौं पनि ।
यो त्यो दिनको कुरा हो, जुन दिन म काम विशेषले मामाघर गएको थिएँ । त्यही रात अनलाइनमा उसले भोलि नै शिवरात्री मनाउने किसिमले आउन भन्यो । मैले पनि हुन्छ भनें । उसले भन्यो, ‘अब धेरै दिन छैन यार ।’ मेरो मनमा कताकता डर लागिरहेको थियो । मैले त्यसपछि कुरा गर्न खोजें तर ऊ अफलाइन भइसकेको थियो । भोलिपल्ट हतारहतार म घर आएँ अनि उसलाई भेट्न गएँ । त्यसपछि उसले अब आफू कामका लागि भारत जान लागेको जनायो । मैले विश्वास गरिनँ । तर सिरियस भएर भन्दै थियो ऊ । हामी शिवरात्री मनाउने तरखरमा लाग्यौं । केही घण्टाको बसाइँपछि शिवरात्रीको प्रसाद लिइ हामी फेरि घरतर्फ लाग्यौं । जब उसले भनेका दिन नजिकिन थाले, ऊ कलेज आउन छाड्यो । अनि म पनि छाडें । म भने नेपालगन्जमा बैंकको परीक्षा दिन गएको थिएँ । म उताबाट आइसकेपछि जम्मा दुई दिन मात्र थियो ऊ जाने दिन आउन । मन अति नै दुखी थियो । कक्षा १ मा हिजोमात्र ऊसँग गुच्छा खेलेको जस्तो लाथ्यो तर आज १ को पछाडि तीन जोडिएर १३ भइसकेछ । अनि ऊसँग छुट्टिन दिन मात्र एक थियो । ‘आजको रात दुईभाइ सँगै बसौं’, उसले भन्यो । त्यसै भयो । खाना खाइरहँदा उसलाई एकटकले हेरिरहें । खै कतिबेला आशुँका दुईथोपा आँखामा रसाएछन् थाहै भएन । रातभरी निन्द्रा लागेन । जम्मै मन वेचैन भइनै राख्यो । ऊसँग आजसम्म बिताएका पल सम्झिँदै मैले सारा रात गुजारें ।
बिहानीको पाँच बजेको थियो । मेरो मन निकै मुस्किलको अवस्थाबाट गुज्रिरहेको थियो अझँ त्यसैमा उसको परिवारको मुहारमा देखिएको पीडाले गर्दा मेरा आँखाले आफ्ना आँशु रोक्न सकिनँ । केही समयपछि गाडी आयो अनि उसलाई पछाडिको सीटमा बसाल्यौं । बिदाइका हात सँगै ऊ र मेरो दूरी पनि तानिदैं गयो । मलाई आफै समाल्नुपर्ने थियो अब केवल ऊ आउने आशा मात्रै थियो । म यहाँ पनि फेरि आशामा पुगेर थच्चिएँ बेस्मारी । एक दिन फेरि ऊ आउने आशामा म बसिरहेको छु । उसको पर्खाइमा बस्नुबाहेक मसँग अरु विकल्प पनि त छैन नि । केवल पखाईमा अनि आउने आशामा बस्नु बाहेक कुनै विकल्प नै रहेन । प्रिय मित्र प्रवेश, म तेरै प्रतिक्षामा छु है । तँ त्यो देशबाट आउने छस् कुनै दिन, म त्यही आशा अनि भरोसामा छु र पर्खिरहेछु ।

प्रकाशित मितिः   १८ असार २०७३, शनिबार ०४:२८