महिला पत्रकारलाई तालिम

सुर्खेत, सुर्खेतका पत्रकार महिलाहरूका लागि वन्यजन्तु अपराधका बारेमा जानकारी दिन एक दिने तालिम सञ्चालन गरिएको छ । बुधवार हरियो वन कार्यक्रमको आयोजना तथा सञ्चारिका समूह कर्णाली प्रदेश र नेचर मिडियाको संयोजनमा कार्यक्रम तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी रिपोर्टिङ्ग कसरी गर्ने र कस्ता खालको विषयहरूको उठान गर्ने भन्ने विषयमा छलफल भएको थियो । सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष नितु पण्डितले महिलाहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वातावरण तथा वन्यजन्तु अपराधसँग जोडिने भएकोले तालिमको आयोजना गरिएको बताइन् ।

‘पुरुषहरूले अपराध गरे पनि महिलाहरूले समस्या भोग्नुपरेको थुप्रै घटना छन्’ उनले भनिन् ‘महिलाहरूले वातावरण र वन्यजन्तु अपराधको विषयमा नबुझेसम्म अपराध नियन्त्रणसमेत हुँदैन ।’ पत्रकार महिलाहरूले यस्तो खालको विषयमा समेत कलम चलाउन आवश्यक भएको उनको भनाइ रहेको थियो ।

सञ्चारिका समूह कर्णाली प्रदेशकी संयोजक टिका विष्टले कर्णालीमा वातावरण तथा वन्यजन्तु अपराध सम्बन्धी महिला पत्रकारहरूका लागि यो पहिलो तालिम भएको बताइन् । ‘वातावरण र वन्यजन्तु तथा जडिबुटीको अपराध कर्णालीमा पनि हुने गरेका छन्’ उनले भनिन् ‘यसका लागि कर्णालीका पत्रकार महिलालाईसमेत सचेत बनाउनसके अपराध नियन्त्रणमा सघाउ पुग्नसक्छ ।’ तालिममा दैलेख, सल्यान र सुर्खेतका पत्रकार महिलाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   ९ श्रावण २०७६, बिहीबार ११:५३