आर्थिक अभावमा खेलाडी : सिमी रोपेर खर्च जुटाउँदै

महेश नेपाली ।
जुम्ला : म्याराथन धावक बन्ने लक्ष्यसहित तीन दर्जन बढी खेलाडी यतिबेला कर्णाली स्पोर्ट क्लब जुम्लामा प्रशिक्षणरत छन् । तर उनीहरु प्रशिक्षण मात्रै गरिरहेका छैनन् सँगसँगै कृषिकर्ममा पनि संलग्न छन् ।

आफूलाई आवश्यक पर्ने खर्च जुटाउन खेलाडीहरु मजदुरी गर्न थालेका हुन् । विहानको समयमा प्रशिक्षण गरिरहेको उनीहरु दिनभर मजदुरी गरिरहेका भेटिन्छन् ।

खेल सामग्री खरिद गर्नका लागि आवश्यक खर्च जुटाउन खेलाडीहरुले विभिन्न काम गर्न थालेका हुन् । क्लबले खेलाडीहरुलाई खेल क्षेत्रमै टिकाउनका लागि यस्तो उपाए निकालेको हो । खेलाडीहरुका लागि आवश्यक पर्ने खर्च जुटाउन आयआर्जनका गतिविधि सञ्चालन गरिएको क्लबले जनाएको छ । त्यसैले बिहानभर प्रशिक्षणमा सहभागि खेलाडीहरु दिउँसो चन्ददनाथ मन्दिरको स्वामित्वमा रहेको शेरा जिउलोमा सिमी लगाउने काम गरिरहेका भेटिन्छन् ।

क्लबका अध्यक्ष सरोज शाही, अन्तर्राष्ट्रिय धावक हरि रोकायासहित खेलाडीहरु हिजोआज सिमी लगाउने काममा निरन्तर खटिरहेका छन् । हाम्रो कृषि सहकारी संस्थाको खाली रहेको जमिनलाई खेलाडीहरुले आम्दानीको माध्यम बनाएका छन् । सहकारीले स्याउ लगाएर खाली रहेको जमिनमा खेलाडीहरुले सीमीखेती गरेका छन् । उक्त खेतीबाट हुने आम्दानीको २५ प्रतिशत सहकारी संस्थाले र ७५ प्रतिशत क्लबले पाउने सहमति भएको छ । क्लबले पाउने रकमबाट खेलाडीहरुको खर्चको जोहो गरिने जनाइएको छ । खेलाडीहरुको खाजाका साथै आवश्यक पर्ने ट्राउजर, जुत्ता लगायतका सामाग्री जुटाउन उक्त रकम खर्च हुने क्लबका अध्यक्ष सरोज शाही बताए । खर्च जुटाउन खेलाडीहरुका लागि गाह्रो भएकोले क्लबको आम्दानीको लागि यस्ता काम गर्नु परेको उनको भनाइ छ ।

यसअघि धावक रोकायाले जग्गा उपलब्ध गराएपछि क्लबको स्वामित्वमा कुटानी पिसानी मिल संञ्चालनमा ल्याइएको छ । ‘खेलाडीको खर्च जुटाउन विभिन्न काम गरिरहेका छौं । मिल संचालन, सिमी खेती गर्ने लगायताका अन्य काम गरिरहेका छौं’ रोकाया भन्छन् ‘कतिपय अवस्थामा खेलाडीलाई जिल्ला बाहिरका प्रतियोगितामा भाग लिन जानु पर्ने हुन्छ । उनीहरुलाई सहभागी गराउन पनि यस्ता काम गर्नुपरिरहेको छ ।’
कर्णाली स्पोर्ट क्लबलाई सघाउन बाहिर जिल्लाबाट प्रशिक्षण लिन आएका खेलाडीहरु पनि लागिरहेका छन् । त्यसै मध्यकी एक हुन सिन्धुपाल्चोक जिल्लाकी लामपुटी लामा । उनीसहित ६ जनाको टोली विगत एक महिनादेखि जुम्लामै आएर प्रतियोगिताको तयारी गरिरहेको छ । उनीहरु सबै विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राईको सम्पर्कबाट जुम्ला पुगेका हुन । हाल उनीहरु भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी गरिरहेका छन् ।

कर्णाली स्पोस्ट क्लबले हरेक वर्ष अयोजना गर्ने जुम्ला रारा अल्ट्रा म्याराथन देशभर हुने पाँचवटा ठुला म्याराथनमध्येको एक हो । यसअघि अरु चारवटा प्रतियोगिता सम्पन्न भैसकेका छन् भने जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुन बाँकी छ ।

अन्तरास्ट्रिय धावक हरि रोकाया संरक्षक रहेको कर्णाली स्पोर्ट क्लबले आयोजना गर्ने जुम्ला रारा अल्ट्रा म्याराथन अक्टोबर महिनामा अन्नपूर्ण गोल्ड वल्र्ड ट्रेल रेसको सेमि फाइनल खेल पनि हो । यसबाट छानीएका छ जनाले उक्त अन्तर्रा्ष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउनेछन् । प्रतियोगिता आयोजनाको तिब्र तयारी भैरहेको अवस्थामा विभिन्न जिल्लाबाट जुम्ला आएर प्रतियोगिताको तयारी गर्नेहरुको संख्यापनि बढिरहेको छ ।

प्रकाशित मितिः   ९ श्रावण २०७६, बिहीबार १२:४१