निकास नहुँदा डुबान

दोहोरिरहने नियती, दिगो समाधान कहिले ?

सुर्खेत : मंगलवार रातीदेखि परेको अविरल झरीसँगै वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रको केही भुभागमा पानी तालियो । निकास नहुँदा बस्ती पसेको पानीले वीरेन्द्रनगरको वडा नं. ९ र १० का सडक, खेत र केही घर डुबानमा परे । ठूलो धनजनको क्षति नभएपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वर्षेनी दोहोरिने नियतिको एउटा दृष्टान्त हो, यो । जसले पाँच वर्षअघि आएको विनाशकारी बाढी पुनःस्मरण गराएको छ ।

वि.सं. २०७१ सालको साउन अन्तिम साता बाढी आउँदा वीरेन्द्रनगरमा ठूलो धनजनको क्षति भएको थियो । उक्त बाढी र डुबानबाट विस्थापित भएकाहरु अहिले पनि अस्थायी शिविरमा बसिरहेका छन् । त्यही घटनाको झल्को दिनेगरी मंगलवार रातीदेखि भएको डुबानले यहाँका नागरिकलाई त्रसित बनाएको छ । फेरी त्यही जोखिम निमित्ने डरले नागरिक त्रसित बनेका हुन् । तर बुधवार दिउँसोबाट वर्षात कम भएपछि तत्काललाई जोखिम भने टरेको छ । यद्यपी मौसम पूर्वानुमान महाशाखाले विहीवारसम्म पनि झरी पर्नसक्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप बहादुर क्षेत्रीका अनुसार मंगलवार रातीदेखि भएको डुबानले वीरेन्द्रनगरको वडा नं. नौ र दसका ७ वटा घर डुबानमा परेका छन् । उनका अनुसार जोखिममा रहेका ३० जनालाई उद्दार गरिएको छ । साथै उनले खोला किनारका बस्तीहरु जोखिममा भएकोले सुरक्षित स्थानमा सर्नको लागि आग्रह गरिएको समेत जनाए ।

वर्षातको समयमा नागरिकले उक्त क्षेत्रमा बाढि र डुबानको त्रास खेप्नुपरेको यो नौलो घटना भने होईन । विगतका वर्षहरुदेखि नै वर्षात्को समयमा वीरेन्द्रनगरमा कुनै न कुनै प्राकृतिक विपद्ले सताउने गर्दछ । कहिले डुबान त कहिले बाढी । तर दिर्घकालिन रुपमा समस्या समाधान नगर्दा वर्षेनी उस्तै नियति दोहोरिने गरेको छ । वर्षेनी हुने डुबानको दिगो समस्या समाधनको लागि स्थनिय देखी प्रदेश सरकारले अहिले सम्म पनि कुनै ठोस योजना नबनाएको लाटीकोइलीका स्थानीय अगुवा डम्बर जिसी बताउँछन् । निकास नहुँदा वर्षात्को समयमा डुबान पर्ने गरेको भन्दै उनले निकास खोल्नुपर्नेमा जोड दिए । ‘वीरेन्द्रनगरको निकास एउटै छ, जुन निकै सानो छ’ उनले भने ‘यो सबैको चासोको विषय हो । खोला किनारका बस्ती व्यवस्थापन गर्ने र निकासलाई फराकिलो बनाउने काममा सबैको ध्यान जानुपर्दछ ।’ साथै स्थानिय तहदेखी प्रदेश सरकार सम्मले दिर्घकालीन सोचका साथ जोखिमयुक्त बस्ती व्यवस्थपनमा ध्यान दिन सके डुबानको समस्या समाधान हुने जिसीको भनाई छ ।

वीरेन्द्रनगरका खोलाहरुको निकास एउटै छ । जुन निकै साँघुरो छ । त्यसैले पनि वर्षात्को समयमा वीरेन्द्रनगरको तल्लो भुभाग डुबानमा पर्ने गरेको छ । वीरेन्द्रनगर नगरपालीका वडा नं ९ का अध्यक्ष सुरेशकुमार मानन्धरले वडाले मात्रै डुबानको दिगो समस्या समाधानको लागि केहि गर्न नसक्ने बताए । उनले तत्कालका लागि वडाकार्यालयले उद्धार टोली खटाईरहेको जानकारी दिए । ‘पानीको बहाब बढ्नासाथ हामीहरुले उद्धार टोली खटाई मानविय क्षती हुन दिएनाँै’ उनले भने ‘निकाश सानो भएका कारण यो समस्या आएको हो । यो समस्याको दिगो समाधानको लागि नगरपालीका र प्रदेशसरकारसंग बसेर छलफल अगाडि बढाउने छौं ।’ वीरेन्द्रनगरमा खोला अतिक्रमण भएको र खोलाको नक्शा अनुसार तटबन्धन गर्ने काम तत्काल अगाडि बढाईने मानन्धरले बताए ।

त्यसैगरी वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देबकुमार सुवेदीले वीरेन्द्रनगरको डुबान समस्यालाई समाधान गर्नको लागि खोला चौडा गर्ने,बाढिपहिरो नियन्त्रण गर्ने योजना ल्याईने बताए । ‘तत्कालको लागि राहत सामाग्री र उद्धार टोली तयार पारेका छौं’ उनले भने ‘तर वर्षेनी हुने डुबान समस्यालाई दिगो रुपमा समाधान गर्नको लागि योजनाबद्ध ढंगले अगाडि बढ्नेछौं ।’

प्रदेश सरकारले भने विपद् निम्तिसकेपछि उद्दार र राहतका लागि तयारी गरेको जनाएको छ । आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले कुनैपनि हालतमा मानवीय क्षती हुन नदिनको तयारी अवस्थामा रहेको बताए । उनले भने ‘नेपाली सेना, नेपाल प्रहरीसंग समन्वय गरेर उद्धार कार्यलाई तिव्रता दिईरहेका छौं ।’ कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगरको डुबान समस्याको दिगो समाधानको लागि समेत सोच्नुपर्ने उनले बताए । साथै डुबान समस्या समाधानको लागि बजेटको व्यवस्था गरेको उनले जनाए ।

प्रकाशित मितिः   ९ श्रावण २०७६, बिहीबार १२:४५