दन्त परीक्षण शिविर सम्पन्न

सुर्खेत, ६ साउन ।
जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूको युवा रेडक्रस सर्कलको आयोजनामा दुई दिने दन्त परीक्षण शिविर सम्पन्न भएको छ । आइतवार र सोमवार विद्यालयमा सञ्चालन गरिएको शिविरमा सोही विद्यालयमा अध्ययनरत नौ सय १५ जना विद्यार्थीको दाँत परीक्षण गरिएको छ ।
डा. नविन मल्लको संयोजकत्वमा भएको दन्त परीक्षण शिविर निक्कै प्रभावकारी भएको र आगामी दिनमा पनि यस्ता गतिविधि सञ्चालन गरिने युवा रेडक्रस सर्कलका अध्यक्ष शंकर आचार्यले बताए । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले विद्यार्थीहरूको सक्रियतामा भएको शिविरको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूलाई यस्ता कार्यक्रम गर्न प्रेरिरत र सहयोग गर्ने बताए । सर्कलका शिक्षक नायक खगेन्द्र शाहीसहित सर्कलका प्रतिनिधिहरू रूपबहादुर बुढाक्षेत्री, विनिता आचार्य, प्रेरणा रावल, सुनिता थापा, कल्पना न्यौपाने, मदन थापा, रेणुका धिताल लगायतको सहभागिता रहेको थियो ।