विपद् व्यवस्थापन

वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढी हुन्छ । असार लागेयता विभिन्न समयमा आएका बाढी र पहिरोमा परी केहीले ज्यान गुमाइसकेका छन् । यस्तो दुर्घटना वर्षेनी हुँदै आएका छन् । प्राकृतिक विपद्ले हरेक वर्ष नै सताउने गर्दछ । कुनै न कुनै क्षति पु¥याएकै हुन्छ । प्रकृतिको गति र गतिविधिलाई नियन्त्रण नै गर्न सकिदैंन । तर यसबाट हुने क्षतिबाट भने बच्न सकिन्छ । त्यसका लागि मानिस आफै सचेत हुनुपर्दछ । कुनै पनि विपद् वा दुर्घटना घटना हुनुभन्दा पहिले नै सचेत भएर जोखिम न्यूनीकरणका उपाए अबलम्बन गरेको खण्डमा जनधनको क्षति पनि कम गर्न सकिन्छ । बाढीपहिरोले ल्याएउनले वितण्डासँग जुद्दने उपाए भनेकै विपद् जोखिम न्यूनीकरणका उपाय अपनाउनु हो ।
मानवीय गतिविधि र लापरबाहीकै कारण पनि प्राकृतिक प्रकोप बढ्दै गएको पाइन्छ ।

प्राकृतिक सन्तुलन विग्रने गतिविधि र पदण्डविपरिचतका संरचना निर्माणले जोखिम बढाएको छ । विशेष गरी वीरेन्द्रनगर लगायत सहरी क्षेत्रमा त खोलाहरुको बाटो नै छेकेर बनाइएका संरचनाका कारण पनि ठूलो क्षति हुने गरेको छ । खोलाहरु जुन बाटो भएर बगिरहेका छन् वा बग्नुपर्ने हो त्यहाँ भवनसहित अन्य संरचना बनाइएका छन् । जसले गर्दा वर्षात्को समयमा बढेको खोला आफ्नो बाटोबाट नबगी मानवबस्तीमा छिरेको उदाहरण प्रशस्त छन् । वि.सं. २०७१ सालमा वीरेन्द्रनगरका इत्राम खोला र खोर्के खोलालले पु¥याएको क्षति यस्तै उदाहरण हो । तर विगतको विपद्बाट पनि पाठ सिकेको पाइदैन । पछिल्लो वर्षमा तिनै खोलाहरु च्यापेर धमाधम भौतिक संरचना निर्माण भइरहेका छन् । खोलाको वहाब बढेर बाढी आएमा फेरि पनि विगतकै जस्तो धनजनको क्षति निम्त्याउनेछ ।

कर्णाली प्रदेशका जिल्लाहरुकोे भौगोलिक अवस्था नै पहिरोको बढी जोखिममा छ । त्यसैले यसबाट बच्ने वा हुनसक्ने क्षति न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्नु वुद्धिमानी हुन्छ । पूर्वसावधानी अपनाएर हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ समयमै ध्यान पु¥याउनुपर्दछ । तर यति मात्रैले पनि हुँदैन । प्राकृतिक विपद्लाई निम्त्याउने मानवीय कार्यहरु रोक्न पनि उत्तिकै जरुरी छ । यसका लागि नागरिकलाई सचेत गराउने दायित्व राज्यको हो । अहिले प्रदेश र स्थानीय सरकार पनि सञ्चालनमा छन् । त्यसैले उनीहरुले यसतर्फ काम गर्न सक्नुपर्दछ । पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा स्रोत, साधन र जनशक्तिको अभाव छ । त्यसैले आवश्यकताका आधारमा विपद् व्यवस्थापनका विधि र प्रक्रियाहरु अवलम्बन गर्न जरुरी हुन्छ । विपद् व्यवस्थापनका लागि प्रभावकारी संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नुपर्छ ।