औषधि पसलमा शिलबन्दी
सुर्खेत, ५ साउन ।
सुर्खेतमा सञ्चालनमा रहेका विभिन्न मेडिकल तथा औषधि पसलमा शिलबन्दी गरिएको छ । मापदण्ड विपरित औषधि पसल र प्रयोगशाला सञ्चालनमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा आइतवार शिलबन्दी गरिएको हो ।
दर्ता नभएका मेडिकल, औषधि विभागमा मात्र दर्तागरी ल्याव सञ्चालन गरेको, मेडिकल दर्ताको ग्रेड अनुसार नचलेको र मेडिकल ल्याबमा प्रयोग गर्न नमिल्ने केमिकल प्रयोग गरेको लगायतका कारण शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए । गत असार २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला विभागबाट अनुगमनका लागि आएका केन्द्रीय विभागका निर्देशक डा. अरुणा झा नेतृत्वको टोलीले अनुगमन गर्दा मापदण्ड विपरित उक्त मेडिकलहरू सञ्चालन गरेको पाइएको थियो ।
विभागबाट गरिएको अनुगमनको प्रतिवेदन आएपछि मात्रै शिलबन्दी गरिएको शर्माले बताए । अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेका राना पोलिक्लिनिक एण्ड डाईगोनोष्टिक सेन्टर, रम्भादेवी र्फामेसी, बोहोरा पोलिक्लिनिक प्रालि, कर्णाली मेडिकल हल र शिवविहार मेडिकलहका औषधि पसल र प्रयोगशालामा शिलबन्दी गरिएको छ ।
यस्तै देउती अस्पताल, नेपाल बाल पोलिक्लिनिक, सुर्खेत हस्पिटल, माया नर्सिङ्ग होम, आस्था पोलिक्लिनिक लगायतका मेडिकललाई सुझाव दिइएको जनाइएको छ । यी अस्पतालहरूमा समेत पर्याप्त सुधार गर्नुपर्ने विभागकको प्रतिवदेनमा उल्लेख भएको शर्माले बताए ।
अनुगमनमा जिल्ला प्रशाासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्मा, जनस्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशभक्त गौतम, वीरेन्द्रनगर नगर प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक निलकण्ठ ढकाल लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ६ श्रावण २०७६, सोमबार १५:४९
साझा बिसौनी संवाददाता ।