मन्त्रीलाई कोट उपहार !

सुर्खेत, ५ साउन ।

साझा पार्टी कर्णाली प्रदेशले मन्त्रीलाई कोट उपहार दिएको छ । हुम्लामा दलित र विपन्न समुदायको क्षमता विकासको लागि सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाका कार्यालयका कर्मचारी र मन्त्रीका पिएका लागि कोट सिलाएको विरोधमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई व्यंग्य स्वरूप उपहारका रूपमा कोट दिइएको हो । साझा पार्टीले गरीब जनाताको करबाट उठेको रकम यसरी अनियमित हुनु र सरकार मुखदर्शक बन्नुले संस्थागत भ्रष्टाचारलाई प्रोत्साहित गरेको भन्दै त्यसको विरोध गरेको हो । पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मन्त्री रावललाई विरोध स्वरूप कोट दिएको बताए । दलित र विपन्न समुदायका लागि छुट्टाएको बजेट यसरी दुरूपयोग गर्नु दुभाग्यपूर्ण भएको उनको भनाइ छ । ‘दलित र विपन्न समुदायका लागि छुट्टाएको बजेट दुरूपयोग गर्नु दुभाग्यपूर्ण हो’ उनले भने, ‘हामीले यसैको खबरदारीका लागि विरोध गरेका हौं ।’

घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले दलित तथा विपन्न समुदायका लागि क्षमता विकास तालिमको बजेट मध्यबाट जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीलाई कोट सिलाइएको थियो । पार्टीले आगामी दिनमा यस्ता घटनाहरू मन्त्रालयका निकायबाट हुन नदिन विश्वसनीय, ठोस र पारदर्शी संयन्त्र निर्माण गर्न पनि माग गरेको छ । सरकारका काम कारबाही पारदर्शी बनाउन साझा पार्टीले मन्त्री रावललाई सात बुँदे ध्यानाकषर्ण–पत्रसमेत बुझाएको छ ।

सामाजिक मन्त्रालयबाट विभिन्न सरकारी विद्यालय, संघ–संस्था, मठमन्दिरलगायतलाई अपारदर्शी र हचुवाको भरमा बजेट वितरण गर्ने र मापदण्ड गराएर मात्र न्यायिक र पारदर्शी ढङ्गले वितरण गरिनुपर्ने, सरकारी विद्यालयमा शुल्क लिने परिपाटी बन्द गर्नुपर्ने, शिक्षा र स्वास्थ्यका सेवा सुविधा पूर्णरूपमा निःशुल्क गराउनुपर्ने, डिजिटल प्रदेशलाई मूर्त रूप दिन सम्पूर्ण सरकारी विद्यालयहरूलाई प्रविधियुक्त विद्यालय गराउनेपर्ने माग राखेको छ । सामाजिक विकास मन्त्री रावलले कोटको विषयमा छानविन गर्न समिति बनाइएको जानकारी दिए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको जनाए । ‘कोट सिलाएको विषयमा छानविन गर्न हामीले तीन सदस्यीय समिति बनाएका छौं । छानविनका लागि शनिवार नै समिति हुम्ला जाँदैछ’ उनले भने ।

प्रकाशित मितिः   ६ श्रावण २०७६, सोमबार १२:४७