सधैं प्रथम हुने हरिहर

हरिहर बस्नेत एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका सहायक प्राचार्य हुन् । वि.सं. २०३६ वैशाख ३ गते दैलेखको तत्कालीन पगनाथ गाविस (हाल भगवतिमाइ गाउँपालिका) मा बुबा टंकबहादुर बस्नेत र आमा सरस्वती बस्नेतको सन्तानका रूपमा जन्मिएका उनी लामो समयदेखि शिक्षण पेसामा संलग्न छन् । शिक्षण पेसा बाहेक उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । वीरेन्द्रगनर जेसीज र लायन्स क्लब अफ बुलबुलेका पूर्व अध्यक्षसमेत रहिसकेका बस्नेतले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः


बाल्यकाल जीवनकै स्वर्णीम समय हो । न कुनै जिम्मेवारी न चिन्ता र शोक । मनमौजी जिन्दगी । जे खान्छु भने पनि भयो । जे चाहिन्छ मागे पनि भयो । जति खेल्छु भने पनि भयो । साथीभाइहरुसँग खेल्न, घुम्न र रमाउन पाइने । हाम्रो परिवार ठूलो थियो । भाइबहिनी पनि धेरै थियौं । सात भाइबहिनी । म राइलो छोरा । गाउँमा हाम्रो परिवार सम्पन्न परिवारमै गनिन्थ्यो । परिवार शिक्षित थियो । मेरो हजुरबुबा बैद्य हुनुुहन्थ्यो । उहाँ गाउँमा कसैलाई केही भयो भने उपचार गर्न पुगिहाल्नुहुन्थ्यो ।

हामीले घरमै पढ्यौँ । तीन कक्षादेखि पढ्न मात्र विद्यालय गयौं । हजुरबुबाले नै हामीलाई पढाउनुहुन्थ्यो । ‘क खदेखि ए.बी.सी’ सबै हजुरबुबाबाट सिक्यौं । बिहान र साँझ पढ्ने अनिवार्य नियम जस्तै थियो । सबै भाइबहिनी वरिपरि भएर बस्नुपथ्र्यो । पढ्नसँगै लेख्नमा हजुरबुबाले जोड दिनुहुन्थ्यो । हजुरबुबाका अक्षर धेरै राम्रा थिए । हामीलाई पनि त्यस्तै अक्षर लेख्न प्रेरित गर्नुहुन्थ्यो । कहिले काहीं बिग्रियो भने सजाय पनि पाउँथ्यौं ।

घरमै पढे पनि मेरो पढाइ राम्रो थियो । म एक्कै पटक कक्षा तीनमा भर्ना र्भर विद्यालय जान थालें । विद्यालय भर्ना भएको पहिलो वर्षमै म तेस्रो भएँ । त्यसपछि कहिल्यै पनि दोस्रो र तेस्रो बन्नुपरेन् । सधैं प्रथम हुन्थें ।

विद्यालयमा सबैको प्यारो थिएँ । विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भइहाल्थें । शिक्षकहरुलाई पहिले नै यो कार्यक्रम गरौं भनेर प्रस्ताव गर्थें । उहाँहरुले पनि नाइ भन्नु हुँदैनथ्यो । विशेष गरेर हाजिरीजवाफ, क्वीज, साहित्य र सांस्कृतिक कार्यक्रमहरु गथ्यौं । मेरो रुचि पनि यिनै कार्यक्रममा हुुन्थे । म जुन कार्यक्रममा सहभागी भए पनि प्रथम हुन्थें ।

विद्यालय पढ्दा अतिरिक्त क्रियाकलापमा धेरै सहभागी हुने भएकाले पढाइबाहेक कथा, कविता लेख्नेमा पनि रुचि थियो । नाचगानमा पनि रुचि थियो । जिल्लास्तरीय कार्यक्रममा सहभागी हुन्थें । सहभागी भएँ भने प्रथम भइहाल्थें । पुरस्कार पनि जित्दा धेरै खुशी लाग्थ्यो । एक पटक हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएर तीन हजार रुपैयाँ पुरस्कार पाएको थिएँ । बाल्यकालमा हामी साथीहरु मिलेर सामाजिक कामहरुमा सक्रिय हुन्थ्यौं । गाउँघरमा विवाह, पूजा हुँदा सामूहिक रुपमा काम गरेर सघाउँथ्यौं ।

प्राथमिक तह घर जजिकै पढेपछि निम्न माध्यमिक तह पढ्न एक घण्टा भन्दा बढी हिँड्नुपथ्र्यो । बेस्तडा जानुपर्दा खोला तरेर जानुपथ्र्यो । म सानैदेखि पौडी खेल्न सक्थें । एक दिन खोला तरेर जाने क्रममा किताबको झोला बगायो । पौडी खेल्न जानेको भएर मलाई केही भएन । मैले त्यो बिद्यालयमा एक वर्ष मात्र पढें । त्यसपछि दैलेख बजार गएँ । मेरो दाइ दैलेख बजारमै जागिर गर्नुहुन्थ्यो । पछि उहाँसँगै बसेर पढ्न थालें । त्रिभुवन माध्यमिक विद्यालयमा पढाइ सुरु गरें । एसएलसी त्यहीबाट सकेको हुँ ।

बाल्यकालमा कहिले काहीं बदमासी पनि गरियो । साथीहरूसंग मिलेर गाउँमा उखु, सुन्तला, काँक्राहरु चोरिन्थ्यो । साथीहरु र आफ्नो घरको मात्र चोरेर खाइन्थ्यो । बुबा–आमाले थाहा पाउनुहुन्थ्यो अनि गाली गर्नुहन्थ्यो । एक पटक दैलेख बजार पढ्दा सुन्तलाको फार्ममै गएर सुन्तला चोरेको सम्झना छ । कहिले काहीं साथीहरुसँग खेल्ने रमाउने पनि हुन्थ्यो । चाडपर्व, जात्रा सबैभन्दा विशेष लाग्थे । कहिले आउला भनेर दिन गनेर बस्थ्यौं । तिहारका समयमा देउसीभैली खेल्न गएर चारपाँच दिनमा घर आइन्थ्यो ।

एक पटक जात्रा हेर्न गएँ । त्यस बेलामा १० रुपैयाँको नोट विरलै मानिसहरुले बोक्थे । जात्रा हेर्न जाँदा मलाई घरबाट १० रुपैयाँ दिनुभएको थियो । पुलिष्टरको सट लगाएको थिएँ । सटको पकेटबाट कतिबेला खसेछ थाहा नै पाइन । भोक लागेपछि पैसा झिक्दा थिएन । कता खसेछ थाहा नै भएन । दिनभरी भोकै बसें । त्यस बेलामा ५० पैसामा एउटा केरा आउँथ्यो । १ रुपैयाँमा चमेना बिस्कुट आथ्यो । जहाँ–जहाँ खानेकुरा छ त्यही गएर हेरिरहन्थें । मान्छेहरु किन्थे मेरै अगाडि किनेर खान्थें । खाउ पनि भन्दैनथे । मैले माग्दा पनि मागिनँ । अहिले ती दिनहरु सम्झनामा छन् ।
पढाइसँगै घरको काममा पनि सघाउने गर्थें । खेतबारीमा सघाउनुपथ्र्यो । घाँस–दाउरा गर्नुपथ्र्यो । अहिलेको जस्तो फोन, टेलिभिजनको जमाना थिएन । रेडियो कसैकसैका घरमा हुन्थे । रेडियो भने धेरै सुनियो । रेडियो नेपालको क्षेत्रीय प्रशारणबाट एउटा क्वीज कार्यक्रम आउँथ्यो । मैले कहिले पनि नछुटाएर सुन्ने गर्थें । घरको र खेतबारीको काम गर्दा गीत संगीत पनि सुन्थें ।

१० वर्षको उमेरमा सुर्खेत आएँ । हामीले मोटरगाडी देखेका थिएनौं । दैलेखबाट सुर्खेत आउँदा हिँडेर नै आएको हो । पहिलो पटक सुर्खेत आउँदा मोटरसाइकल देखेर हेरेको हे¥यै भएँ । पहिलो पटक मोटरसाइकल देख्दा के के नै देखेको अनुभूति भयो । चढ्न मन लाग्यो । एक जना राम बस्नेत हुनुहुन्थ्यो । उहाँले मोटरसाइल चढाइदिनुभो । यहाँ आएपछि अनौठा मानिसहरू देखें भने हेरेको हेरै गर्थें । एक दिन एरिचोक नजिक एक जना लामो कपाल पालेको मोटो मान्छे देखें । उसलाई मैले हेरिरहेको थिएँ । उसले मलाई किन हेरेको भनेर बेसरी कुट्यो ।

बाल्यकालमा इन्जिनियर बन्छु भन्ने सपना थियो । तर पूरा भएन । एसलसीपछि विज्ञान पढें । पछि गणितलाई ऐच्छिक विषय बनाएँ । अनि शिक्षण पेसा सुरु भयो । अहिले पनि यही पेसा मुख्य पेसा गराएको छु । बाल्यकाल रमाइलोसँग नै बित्यो । परिवारले राम्रो शिक्षा संस्कार नदिएको भए आज यो स्थानमा आइपुग्ने थिएन होला ।

प्रकाशित मितिः   ६ श्रावण २०७६, सोमबार १२:२१