पहिलो चरणको आन्दोलन समापन

सुर्खेत, नेपाल आदिबासी जनजाति महासंघले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरेको ‘आरक्षण बचाऔं’ आन्दोलनको पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू समाप्त भएको छ । आन्दोनलको अन्तिम दिन शनिवार लोकसेवा आयोगको कार्यालय नजिक कोण सभा गरी पहिलो चरणको आन्दोलन सम्पन्न गरिएको हो ।

नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् सुर्खेतको नेतृत्वमा लोकसेवाको विज्ञापनविरुद्व पहिलो चरणको आन्दोलनमा सिठ्ठी जुलुस, मसाल जुलुस, जिल्ला प्रशासन कार्यालय तथा लोक सेवा आयोगको कार्यालय घेराऊ लगायतका कार्यक्रम गरिएको महासंघका अध्यक्ष पञ्चसिंह रोकायले जानकारी दिए । रोकायले लोकसेवा आयोगमा आफूहरूले पाउँदै आएको आरक्षण सीटहरूलाई संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्दान्त विपरित लोकसेवा आयोगले सूचना प्रकाशित गरी अपहेलना गरेको कारणले केन्द्रीय कार्यक्रम अन्तर्गत चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताए ।

संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रक्रिया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनुपर्ने भन्दै आयोगको सूचना विरुद्ध आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रले पहिलो चरणको आन्दोलनमा सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः   ५ श्रावण २०७६, आईतवार ०८:४०