विप्लव कार्यकर्ताद्वारा वडा कार्यालयमा तोडफोड

दैलेख, जिल्लाको आठबिस नगरपालिका–१ को वडा कार्यालयमा विप्लव कार्यकर्ताले तोडफेड गरेका छन् । सात्तलामा रहेको वडा कार्यालयमा शुक्रवार राती करिब २ बजेतिर तोडफोड गरेको स्थानीयले बताएका छन् ।

ढोकाको ताला फोड्ने प्रयास गर्दा नजिकै रहेको स्थानीय मेडिकलमा बिरामी लिएर स्थानीय आएपछि विप्लवका कार्यकर्ता त्यहाँबाट भागेको र वडा कार्यालय आगजनी हुनबाट जोगिएको स्थानीय जनप्रतिनिधि कमला बिकले बताइन् । ‘आगो लगाउनका लागि खोटोको कुल्पीसमेत कार्यकर्ताले ल्याएका थिए, स्थानीयको चहलपहल बढेपछि उनीहरू भागे’ एक स्थानीयले भने ।

विप्लव कार्यकर्ताले ढोकाको भित्तामा नेपाल कम्युनिष्ट पार्टी भेरी कर्णाली ब्यूरो लेखिएको पर्चासमेत टाँसेका छन् । वडा कार्यालयको झ्याल ढोका फुटालिएको छ ।

घटनाको थप अध्ययनका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले उक्त घटनाबारे थप अध्ययन भइरहेको बताए ।

प्रकाशित मितिः   ५ श्रावण २०७६, आईतवार ०८:४१