गुरुको अपार महिमा

विषय प्रवेश
केही दिन अगाडि असार शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमालाई मनाइयो । यसको आफ्नै सार्थक महŒव रहेको छ । संस्कृतमा ‘गु’ को अर्थ ‘अन्धकार’ र ‘रु’ को अर्थ ‘नास गर्नु’ भन्ने हुन्छ । अन्धकारलाई नास गर्ने व्यक्तिलाई गुरु भनिन्छ । अर्को अर्थमा गुरु भनेका ज्ञान, मन्त्र, यन्त्र, सीप र प्रविधि सिकाउने पुज्य व्यक्ति हुन् । उक्त दिनलाई वेद, रामायण लगायतका विभिन्न धार्मिक शास्त्रका रचयिता वेदव्यासको जन्मजयन्तीको रूपमा पनि मनाइन्छ ।

यसैगरी वुद्धधर्मालम्बीहरूले धर्मचक्रप्रवर्तनको रूपमा मनाउने गर्दछन् । भगवान गौतम वुद्धले यसै दिन ज्ञानको पहिलो उपदेश सारनाथमा गएर दिएका थिए भन्ने मान्यता रहेको छ ।

यस दिन गुरुलाई भेटेर, उपहार दिएर, गुरूको सम्झना, श्रद्धा र सम्मान प्रकट गरेर एउटा पर्वकै रूपामा मनाइन्छ । यो वर्ष पनि यस्तै गरेर मनाएका धेरै समाचारहरू आए । गुरुलाई विभिन्न आदरार्थी शब्दहरूले सम्बोधन गर्ने गरिन्छ । कतै गुरु, कतै शिक्षक, कतै सर त कतै गुरुजी भनेर सम्मान गर्ने प्रचलन रहेको छ । हिन्दु धर्ममा गुरुलाई ब्रम्हा, विष्णु र महेश्वरको रूपमा मान्ने चलन रहेको छ । माता, पिता, गुरु र अथितिको स्वागत र सत्कार गर्नुपर्छ भन्ने हिन्दु संस्कार रहेको छ । प्राचिनकालमा गुरुकुल शिक्षा प्रणालीमा गुरुको सम्मान गर्ने हुनाले यो एउटा प्रचलनको रूपमा पनि विकसित भएको मानिन्छ । म आफूलाई पनि आफ्ना गुरुहरूको सकारात्मक सन्देश र सुमार्ग प्रति ऋणी भएको महसुस भयो । मलाई बाल्यकालदेखि शिक्षण गर्नुभएका र मलाई भुल्नै नसक्ने गुन लगाउनुभएका आदरणीय गुरुहरूका सकारात्मक विशेषताहरूमार्फत् यस लेखबाट सम्झने प्रयास गरेको छु ।

भुल्नै नसकिने मेरा गुरुहरू

गुरु पूर्णिमाको सु–अवसरमा परिवारको पहिलो गुरु त हाम्रा आमा–बुबा नै हुनुहुन्छ । विद्यालय जीवनको प्रारम्भमा मलाई अक्षराम्भ गराउने गुरु प्रेमबहादुर बुढालाई धेरै सम्झें । हुन त उहाँ अहिले दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो शिक्षकको जागिरे जीवनबाट राजनीतिमा आएर जनताको सेवा गरिरहनुभएको छ । उहाँले मलाई कक्षा पाँचसम्म पढाउनुभएको थियो । त्यसमा पनि उहाँले पढाएका धेरै किताबी पाठहरू त्यति याद छैन तर उहाँले सिकाएका व्यवहारिक कुराहरू अहिले पनि ताजै छन् ।

म तीन/चार कक्षामा अध्ययन गर्ने बेलामा नै उहाँले स्वास्थ्य सम्बन्धी धेरै ज्ञान दिनुहुन्थ्यो । बिहान उठेर धेरै पानी पिउने, खाली पेट नबस्ने, साबुन वा खरानी पानीले सधैं हात धुने, कपडा धोएर मात्र लगाउने, काँचो खानेकुरा पखालेर मात्र खाने, अनिधो नबस्ने , टाढाको यात्रामा जानु छ भने बिहान केही खानेकुरा खाएर मात्र निस्कने आदि हुन्थे । यसैगरी सामानको सुरक्षा गर्नुभनेको आधा पैसा जोगाउनु हो भन्ने भनाइ अहिले पनि ताजै सम्झिन्छु । यति मात्र होइन, समयमा काम गर्ने, नयाँ सहरमा गाउँको मान्छे जाँदा चर्फी प्रयोग गर्ने तरिका, टाढाको यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि सिकाउनुहुन्थ्यो । मेरो जीवनमा उहाँ मेरो जीवनको एक आदर्श गुरू हुनुभयो । सादा जीवन र उच्च विचारको लेसन धेरै पटक दो¥याइरहनुभयो । उहाँले म चार कक्षामा पढ्ने बेला नै जीवनको लक्ष्य किटान गर्नुपर्छ भनेको याद आउँछ । पहिला म कक्षा ५ मा पढ्ने बेलासम्म मैले आफ्नी आमालाई तिमी भनेर सम्बोधन गथें । एक दिन प्रेम सरले आफ्नी आमालाई तिमी अनि अरुकी आमालाई तपाईं भन्नुभन्दा आफ्नी आमालाई पनि तपाइँ भन्नु राम्रो हुन्छ भनेर सम्झाएको याद छ । त्यसपछि मलाई यो कुराले गहिरो छाप पा¥यो र आमालाई तपाईं भन्न सुरु गरें । अर्को दिन स्कुलको कक्षामा फल्याकमा बसेको बेला मैले रातो टोपी लाएर बीचमा बसेर यताउता चकचक गरेको बेला प्रेम सरले ए रातो टोपी किन पेलेको, तेल निकाल्ने हो भनेको याद आउँछ । त्यसपछि म सधैं अनुशासित बनें । आजकाल सम्झिँदा असाध्यै हाँसो पनि लाग्छ । गरीब, दुखीलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराउन पनि उहाँ कुशल हुनुहुन्थ्यो । शिक्षा नै जीवन हो । शिक्षा नै गरीबको धन हो भन्ने कराको बोध मलाई उहाँले नै गराउनुभएको थियो ।

प्रेम बुढा सरसँगै मलाई कक्षा ५ सम्म पढाउने गुरू बालकृष्ण आचार्यलाई पनि यो वर्षको गुरू पूर्णिमामा धेरै सम्झिएँ । मायालु भावले मलाइ अंग्रेजी विषयमा राम्रो हुनुपर्छ भनेर कक्षा चारदेखि प्रेरणा दिने व्यक्ति उहाँ हो । जसको कारण आज म एक माध्यमिक तहको अंग्रेजी शिक्षकको रूपमा कुशलतापूर्वक अध्यापन गराइरहेको छु । उहाँ अहिले बर्दिया जिल्लामा शिक्षककै रूपमा कार्यरत हुनुहुन्छ ।
मैले प्राथमिक तह उत्तीर्ण गरिसकेपछि निम्न माध्यमिक तहमा र माध्यमिक तहमा आदर्श मावि घुम्नेखाली दैलेखमा अध्ययन गरें । उक्त विद्यालयमा रहँदा सबैभन्दा बढी सम्झिने गुरूमा प्रेमदेव गिरी, प्रकाशचन्द्र शर्मा, तिलकबहादुर राना, नन्दाराम कँडेल, मणिराम तिमिल्सेना, बलिराम गिरी, चन्द्रप्रकाश जैसी, ललितप्रसाद सापकोटा, बलिराम गिरी, वासुदेव आचार्य, यज्ञबहादुर सिंह, भवानीप्रसाद जैसी, डिल्लीराम शर्मा हुनुहुन्छ । प्रेमदेव गिरी त अहिले नेपाल टेलिकमको कार्यालय सुर्खेतमा कार्यरत हुनुहुन्छ । उहाँहरूको आदर्शलाई र सुमार्गलाई अहिले पनि झल्झली सम्झिन्छु । विज्ञान विषयमा स्नातक गरेको गुरू प्रेमदेव गिरीलाई धेरै सम्झन्छु । उहाँ अंग्रेजी, गणित र विज्ञान तीन वटै विषय राम्रो पढाउन सक्ने कुशल कला थियो । बलिराम गिरी सरले धेरै नैतिकता र जीवन संघर्षका कुरा सिकाउनुुहुन्थ्यो । उहाँमा विद्यार्थीलाई उत्प्रेरित गरेर काममा लगाउन सक्ने राम्रो कला थियो । प्रकाशचन्द्र शर्मा सरको गणितमा बुझाउन सक्ने राम्रो कला थियो । फरासिलो र हँसिलो मुद्रामा रहने उहाँको बानी असल शिक्षकमा हुनुपर्ने गुण थियो । नन्दाराम कँडेल सरले प्रेरणका पाठहरू पढाउनु हुन्थ्यो । उहाँ अहिले नेपाल सरकारको अधिकृत हुनुहुन्छ । यज्ञबहादुर सिंहको ‘तँ’ भन्ने शब्द अहिले पनि त्यत्तिकै प्यारो लाग्छ ।

प्रवेशिका परीक्षा पास गरेपछि जीवनको उच्च शिक्षाको गन्तव्य सुर्खेत क्याम्पस शिक्षा भयो । कमजोर आर्थिक अवस्थामा संघर्ष गर्नुपर्ने अवस्था थियो । त्यतिखेर डेरा गरेर बस्नुपर्ने भयो । मेरो जीवनको एक चिन्तक, आदर्श व्यक्तित्व र गुरूको रूपमा हिमप्रसाद गौतम हुनुभयो । हामी सँगै डेरा गरेर बस्थ्यौं । उहाँले समयको पालना, फजुल खर्च नियन्त्रण, शिक्षा नै सम्पत्ति हो, हामी भोलीको लागि आज संघर्षमा छौं जस्ता कुराहरू सिकाउनुहुन्थ्यो । तर विधिको विडम्बना हामी स्नातक अध्ययन कै क्रममा उहाँ लङक्यान्सरको कारण दिवांगत हुनुभयो । गुरू पूर्णिमाको दिन उहाँलाई धेरै सम्झिएँ ।

यसैगरी क्याम्पस जीवनको आरम्भमा मलाई धेरै गाइड गर्ने मणिराम लामिछानेलाई पनि सम्झिएँ । उहाँले जीवनको आधारशिलाको रूपमा धेरै कुरा सिकाउनुभयो । उहाँ हाल जननमूना मावि सुर्खेतका गणित विषयका शिक्षक हुनुहुन्छ । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दा मलाई सधैं सोध्ने, मेरो बारेमा ख्याल राख्ने गुरू रविकिरण अधिकारीलाई पनि धेरै सम्झिएँ । पछि उहाँ सरुवा भएर चितवन गएको याद छ तर धेरै वर्ष भयो भेट भएको छैन । मलाई प्रविणता प्रमाण पत्र तहमा अंग्रेजी पढाउने गुरू विष्णुहरी तिमिल्सेना र विष्णुहरी शर्मालाइ पनि धेरै सम्झन्छु । तिमिल्सेना सरको उच्चारण मनपथ्र्यो भने शर्मा सरको कमान्डिङ ।

स्नातक तह पढ्ने बेला पनि धेरै गुरूहरूको प्रियपात्र भएको थिएँ । शिव केसी, विष्णुहरी शर्मा, राजु चित्रकार, पूर्ण केसी गुरूहरूको याद आउँछ । राजु चित्रकार सरले लेखन कार्यलाई प्रोत्साहन दिनुहुन्थ्यो । स्नातकोत्तर अध्ययन गर्नेबेला सबैभन्दा बढी नेमबहादुर शाही र लालबहादुर राना सरलाई सम्झन्छु । नेमबहादुर शाही सरको नीतिगत दृढता र प्रशासनिक कठोरता असाध्यै मनपथ्र्याे भने राना सरको विषय वस्तु माथिको कमान्डिङ त्यत्तिकै मनपथ्र्यो । त्यसैगरी उत्तम गौली, बासुदेव कार्की सरलाई पनि सम्झिएँ । उहाँहरूले सरलता सिकाउनुभयो । मेरो स्नातकोत्तरको सोधपत्रको अन्तिम जाँच गर्ने गुरु जयराज अवस्थिलाई पनि बिर्सन सकिन ।

गुरुले जीवन सिकाउँछन् । जगत सिकाउँछन् । दर्शन सिकाउँछन् । भाषा सिकाउँछन् । स्वास्थ्य र वातावरण सिकाउँछन् । सभ्यता र संस्कृति सिकाउँछन् । कला, साहित्य र धर्म सिकाउँछन् । नीति र अनुशासन सिकाउँछन् । गरेर खान सिकाउँछन् । लगनशीलता र मेहेनतका पाठहरू पढाउँछन् । जीवनलाई व्यवहारमा रूपाान्तरण गर्न सिकाउँछन् । जीवनोपयोगी व्यवहार सिकाउँछन् । समाजलाई, व्यक्ति र परिवारलाई बोध गर्न सिकाउँछन् । मनोविज्ञान सिकाउँछन् । अनुसन्धान र खोज गर्न सिकाउँछन् । विभिन्न रचना र सिर्जना गर्न सिकाउँछन् । समाचोलनात्मक रूपमा सोच्न र विश्लेषणत्मक रूपमा वस्तुलाई हेर्न समेत सिकाउँछन् । त्यसैले त गुरुको महिमा व्यापक छ । अवर्णनीय छ । योगदान अतुलनीय छ । गुरुले गरेको ज्ञान दान कसैले पनि तिर्न नसक्ने छ ।

गुरुहरू अत्यन्तै निस्वार्थी र निष्पक्ष हुन्छन् । उनीहरू मैनबत्ती जस्तै आफू बलेर अरुलाई उज्यालो दिइरहेका हुन्छन् । उनीहरू चिरपरिचित र अपरिचित हजारौं शिक्षार्थीहरूलाई कक्षा कोठामा विना भेदभाव ज्ञान प्रदान गरिरहेका हुन्छन् । असल गुरुले न त विद्यार्थीलाई राजनीतिक पूर्वाग्रह गरेका हुन्छन् न त अन्य कुनै । सबैमा समान नजर र व्यवहार गरेका हुन्छन् । कुनै प्रकारको रिसवत वा घुस पनि लिएका हुँदैनन् । समाज र राष्ट्रको हितलाई जोडेर काम गरेका हुन्छन् । तर हालका दिनमा शिक्षामा भएको व्यवसायीकरण, शिक्षाको पेशागत मर्यादा विपरित गरिएका सौदवादी, वोर्डिङ्ग स्कुलमा शिक्षकहरूलाई भएको चरम श्रम शोषण र सेवामुखी पेशा नाफामुखी पेसामा रूपान्तरणका कारण गुरुको आदर र सम्मान पनि घटेको हो कि जस्तो लाग्छ । आजको स्वार्थी र पैसामुखी दुनियाँले अनावश्यक कोचिङ सेन्टर, ट्युशन सेन्टर जस्ता नयाँ निजी शैक्षिक डिजाइनले गुरुको मर्यादालाई आझेलमा पारेको जस्तो पनि लाग्छ ।

उपसंहार

गुरुको क्षेत्र व्यापक छ । गुरुको महिमा अपार छ । आज संसारमा यान्त्रिक विकासदेखि सूचना प्रविधिको विकास पनि गुरुकै सार्थक प्रयास र सुयोग्य नागरिकको निर्माणले सम्भव भएको हो । विगतमा भगवानहरूका पनि गुरु थिए । भगवान रामचन्द्रका गुरु विश्वामित्र थिए । श्रीकृष्णका गुरु सान्दिपनी थिए । दानवका गुरु शुक्राचार्य थिए । यज्ञवल्क्य मुनीका गुरु आरुणी थिए । देवताहरूका गुरु वृहस्पति थिए । भगवान श्रीकृष्ण अर्जुनका गुरु थिए । गोरखनाथका गुरु मच्छिन्द्रनाथ थिए । यसरी विगतदेखिको गुरुको महिमा अत्यन्तै बढेको छ । आगामी दिनमा हरेक क्षेत्रमा असल गुरु र कर्तव्य निष्ठ चेलाचेलीको आवश्यकता छ । असल र योग्य गुरुको खाँचो पूरा होस् । गुरु र शिष्य बीचको सम्बन्ध सुमधुर रहोस् । गुरुहरू पनि सुयोग्य र योग्यता प्रणालीका हिमायती बनुन् । अनुसन्धान र नवप्रवर्तनले स्थान लियोस् । सबै शिष्यहरू गुरुले देखाएको सुमार्गमा लागुन् र गुरुले निर्धारण गरिदएको गन्तव्यमा पुगुन् । अनावश्यक कुलत र गलत बाटोमा नलागुन् । एकबारको जीवनलाई सार्थक र योग्य बनाउन् । यही शुभकामना । ढिलै भए पनि जय गुरु पूर्णिमा । जय सम्पूर्ण गुरुहरू ।

(लेखक आदर्श माध्यमिक विद्यालय, लेखफर्सामा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   ५ श्रावण २०७६, आईतवार ०८:३६