ज्येष्ठ नागरिकको छहारी

सुर्खेत, वीरेन्द्रनगर–८ सुर्खेतकी ६३ वर्षीया पवित्रा आचार्य हरेक दिन बिहान ११ बजे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्छिन् । चार घण्टा त्यही बिताएर दिउँसो तीन बजे घर फर्किन्छिन् । यो उनको दैनिकी हो । उनी यसैमा रमाएकी छिन् ।


बिहान खाना खाएर छोरीज्वाई आफ्नो काममा जान्छन् । नाती–नातिना विद्यालय । घरमा उनी एक्लै हुन्छिन् । एक्लै दिन बिताउन उनलाई निक्कै सकस हुन्छ । त्यसैले नजिकै रहेको दिवा सेवा केन्द्रमा जान थालिन् । केन्द्रमा जान थालेपछि भने उनले साथी पाएकी छिन् । आफ्ना सुख दुःखका कुरा साट्ने र दैनिकी बिताउने चौतारी पाएकी छिन् । जबदेखि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा जान थालिन् उनलाई दिन बितेको पत्तै हुँदैन । ‘आफ्ना सुखरु दुःखका कुरा साट्न पाइन्छ । दिन बितेको पत्तै हुँदैन’ उनले भनिन्, ‘घरमा एक्लै बस्नु भन्दा यहाँ दिन बिताउन सजिलो भएको छ ।’

केन्द्रमा उनीजस्तै अरु ज्येष्ठ नागरिकहरू पनि हुन्छन् । उनीहरू सँगै भेला हुन्छन् । एकअर्कासँग सुख दुःख साट्छन् । विगत सम्झिन्छिन् । भविष्य कल्पिन्छन् । सँगसँगै नाँचगानसहित भजनकिर्तनमा रमाउँछन् । एक्लोपनाले आजित भएका ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा केन्द्र कुनै तीर्थ जस्तै सावित भएको छ । शनिवार बाहेक हरेक दिन उनीहरू सेवा केन्द्रै दिन बिताउन थालेका छन् ।
वीरेन्द्रनगरकै ७३ वर्षीय गंगाराम भट्टराई पनि हरेक दिन दिवा सेवा केन्द्र पुग्छन् । त्यहाँ आउने आफू जस्तै अरु ज्येष्ठ नागरिकहरूसँग भेट्छन् । केही आफ्ना कुरा सुनाउँछन् केही अरुका सुन्छन् । उनलाई पनि यसैमा रमाइलो लाग्छ । दिन बितेको थाहै हुँदैन । ‘छोरा बुहारी र नातिनातिना सबै दिउँसो आ–आफ्नो काममा हुन्छन् । घरमा एक्लै बस्न झण्झट लाग्छ, यहाँ नआए दिन नै बिताउँन सकिदैन ।’
सक्रिय जीवन बिताएर वृद्ध अवस्थामा पुगेकाहरूका लागि दिवा सेवा केन्द्र निक्कै प्रभावकारी बनेका छन् । विहान र साँझ परिवारसंगै भएपनि दिनको समय बिताउन दिवा सेवा केन्द्रले उनीहरूलाई राहत दिएको छ । यति मात्र होइन सेवा केन्द्रमा ज्येष्ठ नागरिकका समस्याका विषयमा पनि छलफल हुन्छ । पछिल्लो समय ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना हुने क्रम पनि बढेको छ । स्थानीय सरकारलेसमेत ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई जोड दिएका छन् । मन्दिर तथा छुट्टै भवन व्यवस्थापन गरेर दिवा सेवा केन्द्र सञ्चालन गर्ने गरिएका छन् । सेवा केन्द्रहरू भजनकृतनदेखि भागवत पढ्ने, सुख दुःखका कुरा गर्ने थलो भएका छन् ।
ज्येष्ठ नागरिकहरू आफ्नो फुर्सदको समयमा दिवा सेवा केन्द्रमा जाने गर्दछन् । केन्द्रमा खाजाका लागि नगरपालिका लगायत संघ–

संस्थाले पनि सहयोग गर्दै आइरहेका छन् । वि.सं. २०६५ सालदेखि वीरेन्द्रनगर–८ मा मा निरन्तर रूपमा दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएकी डम्मर आचार्य यस्ता केन्द्रले ज्येष्ठ नागरिकहरूलाई निक्कै राहत मिलेको बताउँछिन् । वृद्ध सेवा केन्द्रकी अध्यक्ष आचार्यका अनुसार ज्येष्ठ नागरिक सेवा केन्द्रमा दैनिक ७० देखि ९० जनासम्म ज्येष्ठ नागरिक आउँछन् । ‘ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र एकदमै राम्रो हो । घरमा दिनभरी एक्लै बस्नुभन्दा आफ्ना उमेरसँगका साथीहरूसँग भेट गर्दा उहाँहरूमा छुट्टै रमाइलो हुन्छ’ उनले भनिन्, ‘हामीले शनिवार बाहेक सबै दिन यहाँ बस्ने वातावरण गराएका छौं । उहाँहरू आफ्ना दुःख सुखका कुरा साटासाट गर्नुहुन्छ । भजनकृतन गरेर रमाइलो गर्नुहुन्छ ।’

वीरेन्द्रनगर–३ लाटिकोइलीमा रहेको प्रशान्ति वृद्धाश्रमले पनि दिवा सेवा सञ्चालन गरेको छ । वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले सेवा केन्द्र ज्येष्ठ नागरिकका लागि प्रभावकारी रहेको बताए । ‘ज्येष्ठ नागरिकका लागि एकदमै प्रभावकारी देखेर नै दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएका हौं’ उनले भने, ‘यसले उहाँँहरूको मनोबल बढेको छ । छोराछोरी आफ्नो काममा जाने । नाती नतिना स्कुल जाने उहाँहरू कहाँ जाने त ? त्यसैले पनि दिवा सेवा केन्द्र प्रभावकारी बनेको छ ।’

कर्णाली प्रदेश सरकारले पनि समुदायमा भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गर्दै आएको छ । अघिल्लो आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले प्रदेशका दिवा सेवा केन्द्रका लागि २५ लाख रूपैयाँ बजेट बिनियोजन गरेको थियो । सामाजिक महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले प्रदेशका १० वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको जानकारी दिइन् । ‘सरकारले दिवा सेवा केन्द्र सञ्चालनका लागि प्रोसाहित गर्दै आएको छ । यो ज्येष्ठ नागरिकका लागि प्रभावकारी बन्दै गएको छ’ उनले भनिन् ।