भीसीटीएस प्रणालीको विरोधमा प्रदर्शन

सुर्खेत, सरकारले ल्याएको करको मापदण्डको विरोधमा सुर्खेत उद्योग वाणिज्य संघले प्रशासनमार्फत् सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । शुक्रवार संघले वीरेन्द्रनगर प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाएको हो ।


भेहिकल एण्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) को विरोधमा सरकारको ध्यानाकर्षण गराउनको लागि ज्ञापन–पत्र बुझाएको सुर्खेत उद्योग वाणिज्य संघका सचिव आरपी पाण्डेले बताए । साउन १ गतेदेखि लागू भएका अवैज्ञानिक र अव्यवहारिक नीति र कानुनको खारेजीको लागि विभिन्न आठ बुँदे मागसहित ज्ञापन–पत्र बुझाइएको उनले बताए ।
निजी क्षेत्रको सहमति र सहकार्य विना एकतर्फी रुपमा ल्याइएको भीसीटीएस प्रणाली तत्काल खारेज गर्नुपर्ने, एक हजारभन्दा बढी ज्याला स्थायी लेखा नम्बर भएका मजदुरलाई बैंकमार्फत् भुक्तानी दिने व्यवस्था, सामान ढुवानीमा लगाइएको मुल्य अभिवृद्धि कर (भ्याट), खाद्यवस्तुमा लगाइएमा मूल्य अभिवृद्धि कर र अग्रीम आयकर पनि खारेज गर्नुपर्ने माग ज्ञापन–पत्रमा उल्लेख छ ।
त्यस्तै सामाजिक सुरक्षा कोषका अव्यवहारिक प्रावधान एक हजारभन्दा बढीको खरिदमा प्यान अनिवार्य हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, वाणिज्य कार्यालयमा नवीकरण नभएका फर्महरूका नवीकरणका लागि सहज बनाउनुपर्ने र सहुलियत ब्याजदर कायम गर्नुपर्ने माग प्रशासनमार्फत् नेपाल सरकारलाई बुझाइएको उलने बताए । सरकारले ज्ञापन–पत्र प्रति ध्यान नदिए थप आन्दोलनका कार्यक्रमको घोषणा गरिने सचिव पाण्डेले जनाए ।

प्रकाशित मितिः   ४ श्रावण २०७६, शनिबार ०८:३१