पुरानै प्रवृत्तिको निरन्तरता
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेलगत्तै प्रकाश ज्वालाले भनेका थिए, ‘असारमा खर्च गर्ने प्रवृत्तिको अन्त्य हुन्छ । जेठ महिना लागेपछि योजना सम्झौता हुँदैनन् ।’ भर्खर मन्त्री बनेको उत्साहमा मन्त्री ज्वालाले बोलेका ती कुरा ‘गफ’मै सीमित भए । दुई वटा वर्षको बजेट कार्यान्वयन गरेर तेस्रो वर्षको बजेट सदनबाट पारित गराइसक्दासम्म पनि उनको कुरा कार्यान्वयन हुन सकेन । उही असारे प्रवृत्तिले निरन्तरता पाइरहेको छ । आर्थिक वर्ष २०७५÷७६ सकियो । तर वर्षको अन्तिम दिनसम्म पनि खर्च भने हुँदैथियो । वर्षभरको हिसाब गर्ने हो भने सबैभन्दा धेरै बजेट खर्च नै असारमा भयो । जबकी मन्त्री ज्वालाले असारे विकास पूर्ण रुपमै रोक्ने प्रतिबद्धता गरेका थिए ।
एकातर्फ पूँजीगत बजेट खर्च नै न्युन छ । त्यसमाथि ठूलो हिस्सा नै असारमा खर्च भएको छ । यसले के देखाउँछ भने पूँजीगत बजेटको सही सदुपयोग हुन सकेन । किनभने यो वर्ष जतिपनि पूँजीगत खर्च भयो त्यसको ठूलो हिस्सा असारे विकासको हो । असारमै आएर रकम खर्च हुने प्रवृत्ति पहिलेदेखिकै हो । संघीय सरकारले पनि यसलाई नियन्त्रण गर्न सकेको छैन । प्रदेश र स्थानीय सरकार पनि त्यसैलाई निरन्तरता दिइरहेका छन् । यो नियति नै बनिसकेको छ । जसले राज्यकोषको दोहन गर्छ । हतार हतारमा गरिने असारे विकास न गुणस्तरको हुन्छ न मापदण्ड अनुसार । सम्बन्धितहरु मिलेमतोमा गरिने विकास केबल बजेट खर्च देखाउने र रकममा ब्रहमलुट मच्चाउने हो भन्ने सबैलाई थाहा छ । तर पनि यसलाई रोक्ने प्रयास नै भइरहेको छैन । त्यसैले पनि असारे विकास नेतृत्वको नियत हो भन्नेमा अब दुई मत छैन ।
प्रदेश सरकारले असार एक गते नै सदनमा बजेट पेश गर्छ । ढिलोमा एक महिना लगाएरै भए पनि पारित हुन्छ । त्यसपछि बचेका दस महिनामा बजेट र योजना कार्यान्वयनको गति अत्यन्तै सुस्त हुन्छ । तर जब असार लाग्छ तब विकासको गति यति तीव्र हुन्छ कि जेठ महिनासम्म चार प्रतिशत विकास खर्च गर्न नसकेको सरकारले असारमा आइपुग्दा ३० प्रतिशत पु¥याउन थाल्दछ । यस्तो प्रवृतिलाई नरोकेसम्म समृद्धिको सपना भने अधुरै रहन्छ । त्यसैले असारे विकासको प्रवृत्तिलाई निमिट्यान्न पार्न जरुरी छ । असारमा ल्याएको बजेट अर्को जेठसम्म कार्यान्वयन गर्नेगरी नियमन गर्न आवश्यक देखिन्छ । नत्र भने एकातर्फ बजेट नभएरै विकास भएन, समृद्धि आएन भनिरहने र अर्कोतर्फ भएको बजेटको सदुपयोग नगरी ब्रह्मलुट मच्चाउने प्रवृत्तिले निरन्तरता पाइरहेनछ ।
प्रकाशित मितिः २ श्रावण २०७६, बिहीबार ०८:१२
साझा बिसौनी संवाददाता ।