भोलीको बन्द फिर्ता, अन्य आन्दोलन जारी

नेपाल आदिवासी जनजाती महासंघको आयोजनामा भोली(विहीवार) हुने भनिएको बन्द फिर्ता भएको छ ।

लोकसेवा आयोगको विज्ञापनमा आरक्षण लागू नभएको विरोधमा आन्दोलन गर्दै आएको महासंघले यसअघि साउन २ गते नेपाल बन्दको आव्हान गरेको थियो । तर उक्त बन्द फिर्ता गरिएको छ ।

साउन २ र १० गते नेपाल बन्दको आव्हान गरेको महासंघले देशमा आएको बाढी–पहिरो जस्ता प्राकृतिक विपद्लाई ध्यानमा राखी बन्द नगर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बन्दको कार्यक्रमलाई परिवर्तन गरी विहीवार लोकसेवा आयोगको केन्द्रीय कार्यालय काठमाडौं लगायत देशैभरका लोकसेवा आयोगका कार्यालय र जिल्ला प्रशासन कायालयमा घेराउ गर्ने निर्णय गरिएको छ ।

यसैगरी साउन ३ गते देशभर जुलुस निकाल्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउने कार्यक्रम तय भएको छ । त्यस्तै साउन ४ गते देशैभरी जनप्रदर्शन र आमसभा गर्ने तथा लोकसेवा आयोगको असमावेशी विज्ञापनको परीक्षा हुने प्रदेश, जिल्ला तथा परीक्षा केन्द्रहरुमा बन्द अर्थात परीक्षा बिथोल्ने लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेपाल आदिवासी जनजाती महासंघले जनाएको छ ।

प्रकाशित मितिः   १ श्रावण २०७६, बुधबार २१:१७