ट्राफिक जरिवाना बैंकमार्फत्

सुर्खेत, ३१ असार । (साबिस)
आज (बुधवार)देखि ट्राफिक प्रहरीले जरिवाना वापतको नगद पैसा नबुझ्ने भएको छ । ट्राफिक नियमको उलंघन गरेबापत्को जरिवाना सिधै बैंकमा दाखिला गर्नुपर्ने नियम आजदेखि कार्यान्वयनमा ल्याइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरिबहादुर बिसीले ट्राफिकले पैसा असुल्छ भन्ने आम सर्वसाधारणको आरोपबाट बच्नको लागि उक्त कार्यको सुरुवात गर्न लागिएको बताए । उनले भने ‘जुन ठाँउमा ट्राफिक नियमको उलंघन हुन्छ त्यहाँबाट एउटा रसिद दिईन्छ । र कागजपत्र जफत् गरिन्छ । ट्राफिक नियमको उलंघन गरेबापत्को जरिवाना बैंकमा जम्मा गरेर रसिद देखाएपछि मात्रै कागजपत्र फिर्ता दिइन्छ ।’

राष्ट्रिय वाणिज्य बैंकमा जरिवाना वापत्को रकम जम्मा गर्नको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयले कोड नम्बर उपलब्ध गराउनेछ । आर्थिक पारदर्शीताका लागि नगद नबुझ्ने गरिएको जनाएको छ । प्रमुख बिसीका अनुसार २४ घण्टे बैंक दाखिला कार्यक्रम भए पनि भौगोलिक विकटताका कारण तीन दिनभित्र सवारीधनीले बैंक दाखिला भौचर बुझाएर आफ्नो कागजपत्र लैजान सक्नेछन् । कर्णाली प्रदेश प्रहरी कार्यालयलेसमेत यसअघि प्रदेशका १० वटै जिल्लामा यो कार्यक्रम लागू गर्नेगरी निर्देशन दिइसकेको छ ।

सुर्खेत जिल्लामा जनशक्ति अभावको कारण ट्राफिmक नियम कार्यान्वयनमा चुनौती थपिएको ट्राफिक प्रमुख बिसीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार गत वर्ष ३५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो भने यो वर्ष २९ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा कार्यालयले राजश्व मात्रै १ करोड ६४ लाख ५८ हजार पाँच सय रूपैयाँ अशुल गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७४÷०७५ मा भने ८७ लाख ८९ हजार राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः   १ श्रावण २०७६, बुधबार १०:१४