नेयमारले भने, ‘क्लब छाड्न चाहन्छु’

ब्राजिलीयन स्टार नेयमारले क्लब छाड्न चाहेको बताएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेर उनले क्लब छाड्न चाहेको बताएका हुन् ।

पीएसजीको प्रि–सिजनको प्रशिक्षणमा नदेखिएका नेयमार पेरिस पुगेर आफ्नो क्लब छाड्ने मनसाय रहेको बताएका हुन् । उनले क्लबका खेल निर्देशक लियोनार्दोसंग भेट गरेर क्लब छाड्न चाहेको स्पष्ट पारिसकेका छन् ।

नेयमारले क्लब छाड्ने मनसाय देखाएपनि पीएसजीले उनलाई मनाउन कोशिश गरिरहेको थियो । क्लबले नेयमारको सोच परिवर्तन गर्न सकिने विश्वास देखाएको थियो ।

तर पेरिस पुगेका नेयमारले क्लबका निर्देशकसंग भेट गर्दै पीएसजी छाड्ने मनसाय रहेको सुनाएका हुन् । तर नेयमारले आफु जान चाहेको क्लबको विषयमा भने केही उल्लेख गरेका छैनन् ।

२७ बर्षका स्टार पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना फर्कन चाहन्छन् ।

बार्सिलोनाले नेयमारका लागि औपचारिक प्रस्ताव राख्न बाँकी छ । तर स्पेनिस महारथीले कोही खेलाडीलाई नेयमार लिने शर्तमा बेच्न सक्नेछ ।

फिलिप कौटिन्होको नाम खेलाडी साटफेरको सुचिमा रहेको छ । उनी लोन वा स्थायी रुपमै क्लब छाड्न सक्नेछन् । कौटिन्होको बसाई बार्सिलोनाले नेयमारको बिषयमा गर्ने निर्णयले धेरै हदसम्म निर्धारण गर्नेछ ।

पीएसजीका खेल निर्देशक लियोनार्दोले पछिल्लो समय उचित प्रस्ताव आएर नेयमारले क्लब छाड्न सक्ने बताएका थिए ।

-एजेन्सी

प्रकाशित मितिः   ३१ असार २०७६, मंगलवार ११:१३