मृतकका परिवारलाई एक लाख राहात
वर्षात्को समयमा प्राकृतिक प्रकोपबाट हुनसक्ने जोखिम कम गर्न कर्णाली प्रदेशमा पूर्वतयारी थालिएको छ । सोमवार कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर पूर्व तयारी गर्ने निर्णय गरेको हो ।
बैठकले डोल्पा लगायत कर्णालीका अन्य जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिपरिवार एक लाख दिने निर्णय गरेको छ । डोल्पाको मुड्केचुला गाउँपालिकामा यही असार २१ गते बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको थियो । बाढीमा परी नौ जना बेपत्ता भएका छन् । उक्त घटना भएपछि बसेको परिषद्को बैठकले राहत दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विनोद गौतमले बाढीमा परी मृत्यु भएका परिवारलाई एक लाख दिने निर्णय भएको जानकारी दिए । ‘अहिलेसम्म डोल्पामा बाढीमा परेर दुई जनाको मृत्यु भएको पुष्टी भएको छ’ उनले भने, ‘विपद् व्यवस्थापन परिषद्बाट मृतकका परिवारलाई तत्काल एक लाख राहत दिने निर्णय भएको छ ।’
उद्दार र राहतका लागि पूर्वतयारी
यसैगरी बैठकले प्राकृति प्रकोपबाट हुने क्षतिलाई मध्यनजर गर्दै उद्दार र राहतका लागि आवश्यक सामग्री सबै जिल्लामा राख्ने निर्णय पनि गरेको छ । उद्दार र राहतका लागि आवश्यक सामग्री, औषधि, खाद्यान्न लगायत १० वटै जिल्लामा तयारी अवस्था राख्ने निर्णय भएको गौतमले जानकारी दिए ।
साथै बैठकले केन्द्र सरकारसँग समन्वय र सहकार्य गरेर बर्षातको समयसम्म उद्दारका लागि एउटा हेलिकोप्टर प्रदेश राजधानीमा राख्ने निर्णय पनि गरेको छ । ‘कर्णालीका दुर्गम ठाउँमा उद्दारका लागि भनेर एउटा हेलिकोप्टर सुर्खेतमा राख्ने निर्णय भएको छ’ गौतमले साझा बिसौनीसँग भने, ‘यसअघि गृहमन्त्रालयले एउटा हेलिकोप्टर उद्दारका लागि पठाउने भनेको थियो यदि भएन भने भाडामा भएपनि एक महिनाका लागि तयारी अवस्थामा सुर्खेतमा राख्ने निर्णय भएको छ ।’ उनका अनुसार पहिरोले सडक अवरुद्ध गरिरहने भएकाले डोजर लगायत स्रोत साधनसहितको टोलीलाई क्याप्प खडा गरेर बस्ने व्यवस्था मिलाउन भौतिक मन्त्रालयलाई निर्देशन पनि दिइएको छ ।
बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रभावकारी रूपमा विपद् व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिए । उनले कर्णाली राजमार्ग तथा जाजरकोट–डोल्पा सडकमा डोजरसहितको टोलीलाई ४० किलोमीटरको दूरीमा तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएका छन् । ‘विपद् प्रभावितहरूको तत्काल उद्दार, उपचार, आवास तथा खाद्यान्नको व्यवस्थापनका लागि सबैलाई परिचालन हुन आग्रह गर्दछु । उद्दार र राहतका लागि सरकार तयार छ । उद्दार तथा अन्य सामग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिनुहुन अनुरोध छ ।’
वर्षात कम हुँदा क्षति न्यून
यसैबीच कर्णाली प्रदेशमा वर्षात कम हुँदा प्राकृतिक विपद्का घटना पनि न्यून भएका छन् । असार महिना सकिन लाग्दासम्म कर्णाली प्रदेशमा छिटफुटबाहेक बाढी र पहिरोका ठूला घटना भएका छैनन् । पूर्वी क्षेत्रमा भन्दा तुलनात्मक रूपमा पश्चिममा कम क्षति भएको छ । पछिल्लो विवरण अनुसार डोल्पामा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । नौ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । पहिरोमा परी तीन वटा घरमा क्षति पुगेको छ ।
त्यसैगरी दैलेख र सल्यानका गरी दुई विद्यालयमा पहिरोले क्षति पु¥याएको छ । सुर्खेतमा भने हालसम्म बाढी र पहिरोले १४ विगाह खेत पुरेको प्रहरीको तथ्यांकमा छ । विगतको तुलनामा यसपाली कम क्षति भएको जनायएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लामा पहिरोको जोखिम छ । नदी, खोला आसपासमा बस्नेहरू बाढीको जोखिममा छन् । तर यसपाली पूर्व र मध्य क्षेत्रभन्दा पश्चिममा कम पानी परेकाले क्षति कम भएको क्षेत्रीय हावापानी कार्यालयले सुर्खेतले जनाएको छ । पूर्व सूचना प्रणालीका कारण नागरिक सचेत पनि भएका छन् । नदी तथा खोला किनारका जोखिम ठाउँमा बस्नेहरूलाई सुरक्षित ठाउँमा बस्न सम्बन्धित जिल्लाका प्रसासनले आग्रह गर्दै आएका छन् ।
प्रकाशित मितिः ३१ असार २०७६, मंगलवार ०८:२७
साझा बिसौनी संवाददाता ।