अंग्रेजी भाषा सिक्दै कर्णालीका सांसदहरू
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही हिजो आज हरेक दिन बिहानै संसद सचिवालय पुग्छन् । सभामुख शाही मात्र होइन उप–सभामुख पुष्पा घर्तीसहित करिब दुई दर्जन सांसदहरू पनि त्यहाँ जम्मा हुन्छन् । एका बिहानै संसद सचिवालयमा हुने उनीहरूको जमघट संसदको कुनै कामका लागि भने होइन । यो सांसदहरूका लागि सञ्चालिन गरिएको अंग्रेजी भाषा कक्षा हो, जहाँ जम्मा भएर सांसददेखि सभामुखसम्म हिजोआज अंग्रेजी भाषा सिक्न व्यस्त छन् ।
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशले प्रदेशसभा सचिवालयसँग समन्वय गरेर प्रदेशसभा सदस्यहरूलाई अंग्रेजी भाषा सिकाउन थालेको हो । प्रदेशसभा सचिवालयमै बिहान ६ बजेदेखि ७ बजेसम्म उनीहरूका लागि अंग्रेजी भाषा कक्षा सञ्चालन हुन्छ । जहाँ अंग्रेजी भाषको आधारभूत ज्ञानदेखि इमेल र इन्टरनेट सम्बन्धी पढाइ हुन्छ ।
प्रदेशसभा सदस्य दानसिंह परियारले काम गर्दै जाँदा अंग्रेजी भाषाको आवश्यकता पर्न थालेपछि सिक्न सुरु गरेको बताए । अन्य ज्ञान भए पनि जनताको कामसँगै आफूहरूको क्षमता अभिवृद्धि गर्नका लागि पनि भाषा सिक्न थालिएको उनको भनाइ छ । ‘प्रायः अहिले जहाँ पनि अंग्रेजी भाषा प्रयोग हुन्छ । जनताको काम गर्न पनि हामीले आफूहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक छ’ उनले भने ‘यो संगै हामीले नेट तथा इन्टरनेटका विषयमा पनि पढ्छौं ।’
अंग्रेजी भाषा कक्षामा सहभागी अर्की सांसद मिनासिंह रखालले पनि पछिल्लो समय अंग्रेजी ज्ञान अपरिहार्य भएको बताइन् । अहिले जहाँ पनि अंग्रेजी भाषाको प्रयोग हुँदा भाषाको महŒव बुझेर पढ्न थालेको उनले बताइन् । ‘नेपाली भाषा बोलिरहँदा पनि अंगे्रजी शब्द मिसाउने गरिन्छ । कसैले अंग्रेजी बोल्यो भन्ने बुझिदैन । हामी प्रदेशसभा सदस्यहरू विज्ञहरूसँग छलफलमा बसे पनि अंग्रेजी भाषा आवश्यक पर्ने’ उनले भनिन् ‘त्यसैले पनि हामीले अंग्रेजी भाषा सिक्न आवश्यक छ भनेर पढ्न थालेको हौं ।’
प्रदेशसभा सदस्यहरूलाई अंग्रेजी भाषासँगै सूचना र सञ्चार प्रविधि क्षेत्रको ज्ञानका विषयमा जानकारी दिइने नेल्टाले जनाएको छ । इमेल इन्टरनेटको विषयमा जानकारी दिने उद्देश्य रहेको नेल्टा कर्णाली प्रदेशका अध्यक्ष विष्णु खड्काले बताए । उनले भने, ‘अहिले सुरुमा अंग्रेजी भाषाको आधारभूत ज्ञान दिन्छौं । विस्तारै कम्प्युटरको आधारभूत ज्ञानसँगै इमेल–इन्टरनेट प्रयोगका बारेमा पनि जानकारी दिन्छौं ।’
कर्णाली प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरूको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अंग्रेजी भाषा र सुचना प्रविधि सम्बन्धी ज्ञान दिन कक्षा सुरु गरेको हो ।
साझा बिसौनी संवाददाता ।