मुलुकलाई हामीबाटै बढी खतरा !
भर्खरै मात्र नेपालको राजनैतिक वृतमा अमेरिकाले अगाडि सारेको इण्डो प्यासिफिक रणनीतिले निकै तरंग उत्पन्न गरिदियो । यस विषयमा सामाजिक सञ्जालदेखि अन्य सञ्चार माध्ययमहरूमा निकै बहस छलफल भए । अहिलेको विश्वमा राष्ट्रिय राजनीतिमा अन्तर्राष्ट्रिय र क्षेत्रीय घटनाक्रम र राजनीतिको प्रभाव पर्दैन भन्न सकिँदैन । नेपाल जस्तो अत्यन्तै भू–राजनैतिक रुपमा संवेदलशील देशमा त झन् खासगरी शक्ति राष्ट्रहरूको विशेष ढङ्गको प्रभाव पर्ने कुरामा दुई मत छैन । भारतले अगाडि सारेको हिमालयन फ्रन्टियर, चीनको वेल्ट एण्ड रोड इनिसियटिभ र अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको दुश्चक्रमा नेपाल फस्ने खतरा देखिएको जानकारहरू बताउँछन् । तर हाम्रा मुख्य समस्याहरू चीन, भारत वा अमेरिका होइनन् । शक्ति राष्ट्रहरूले नेपालमा प्रभाव राख्न सक्छन् तर हाम्रो मुलुकलाई कता लैजाने भन्ने कुरा आन्तरिक हो, त्यो हामीभित्रै निहित हुन्छ ।
हामीले देखेको समृद्धिको सपना अरु कोही आएर साकार पारिदिनेवाला छैन । केवल हामीले मात्र यो कुराको सुनिश्चितता गर्न सक्छौं । कयौं पुस्तादेखि गरिबी, बेरोजगारी, कुपोषण, कुशासन र परनिर्भताको सांग्लोमा बाँधिएका हामी उकुसमुकुस भैसकेका छौँ।
राजाले देश विकास गर्न सकेनन् र दिएनन् भनेर हामीले राजतन्त्र फालेको एक दशक भन्दा बढी भइसकेको छ । संविधानसभाबाट निर्मित नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अंगीकार गरेको छ । सात दशकको लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त भएको नयाँ संविधान कतै धर्मग्रन्थ जस्तै बन्ने त होइन भन्ने आशंका पैदा भएको छ । धर्मग्रन्थ जस्तै संविधान पनि गलत हातहरूमा पर्दा हानिकारक दस्ताबेज बन्न सक्छ । संविधानले हाम्रो स्वतन्त्रतालाई सुरक्षित गर्न सक्दैन, यद्यपि यसमा उल्लेख केही सिद्धान्तहरूका कारण अधिकारहरूको संरक्षण गर्न मद्दत पु¥याउन सक्छ ।
नेताहरूले संविधान बनेपछि जादुमय तरीकाले जनताको अवस्थामा परिवर्तन आउँछ भनेर भ्रम छरेका थिए जो अत्यन्तै वालसुलभ खालको बुझाइ हो । हामीले वर्षौदेखि हरेक पुस्तालाई प्रतिवद्धता व्यक्त गर्दै आएका विकास र समृद्विका सपनाहरू साकार पार्न सकिएको छैन । राजनितिक अस्थीरता, नेतृत्वमा देखिएको अकर्मण्यता र क्षमताको अभाव, सरकार र मातहात रहेका संस्थाहरूको परम्परागत संरचना, कुशासन लगायत कारणले मुलूकको भविष्य कुइरोमा हराएको काग जस्तै भएको छ । राजनीतिप्रति आम जनताको निराशा छाएको छ । कोरियन भाषा परीक्षामा नाम निकालेको दिन घरमा दशैं भन्दा बढी रमझम हुनेगरेको छ । लाखौंको संख्यामा हाम्रा युवाहरू विदेशमा छँदैछन्, हजारौं युवाहरू विदेश जाने तयारीमा छन् । अच्चमको विषय के छ भने मिडियामा जापानले नेपाली कामदार लैजाने हल्ला चलेपछि देशैभरी हजारौं युवाहरू जापानिज भाषाको तयारीमा जुटिसकेका थिए जब कि सरकारले आधाकारिक रूपमा जापान सरकारसँग सम्झौता गरेकै थिएन । राजनैतिक नेतृत्व र सरकार सञ्चालनको जिम्मेवारी पाएका मानिसहरू समृद्धिको गफ लगाएर थाकेका छैनन, हामीले लाखौं युवा विदेश पठाएर कसको लागि समृद्धि ल्याउने हो ?
राजनीतिलाई मनोरञ्जनको रूपमा ग्रहण गरिरहेका प्रधानमन्त्रीबाट नेपाली जनताले छुटकारा पाउनैपर्छ । हजारौंको संख्यामा मानिसहरू मास्क लगाएर काठमाडौंमा हिँडिरहेका छन् तर प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै कसैले पनि मास्क लगाउन नपरेको बताए, त्यति मात्र होइन सरकारका विरोधिहरूले मास्क लगाउन थालेको प्रतिक्रियासमेत दिन भ्याए । अन्तर्राष्ट्रिय अध्ययनहरूले नेपालमा वायु गुणस्तर संसारमा सबैभन्दा खराब देखाएका छन् । ५० देखि एक सय ५० सम्म सामान्य मानिने हावाको गुणस्तर काठमाडौंमा चार सय नाघ्ने गरेको तथ्यहरूले बताउँछन् । यस्ता थुप्रै घटनाहरू छन् जसले प्रधानमन्त्रीको गरिमा र मर्यादालाई प्रतिकूल असर पु¥याएको छ ।
नेपाली जनता आफुले देखेको कुरा मात्र सत्य हो भनेर अफबाह फैलाउने सरकार प्रमुखबाट मुक्त हुन चाहन्छन । प्रधानमन्त्रीका हावादारी भाषणका कारण सत्य र विश्वासलाई कमजोर बनाइएको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलहरूमा विषादी जाँच नगर्नु भनेर भारतीय दुतावासले पठाएको पत्र बारे सरकार प्रमुखले समेत थाहा नपाउनु हाँस्यास्पद र लज्जास्पद छ । भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी जाँच पूर्वाधारको बहाना बनाएर रोक्नु सरकारको अत्यन्तै गैरजिम्मेवार हर्कत हो । पूर्वाधार छैन भनेर विषादीयुक्त फलफूल तरकारी भित्र्याउँछु भन्नु सरकारको नालायकीपन हो ।
प्रधानमन्त्रीले आफूलाई काम गर्न सहज हुने भन्दै राष्ट्रिय अनुसन्धान आयोगलाई आफू मातहात राखेका थिए, तर देशको प्रधानमन्त्रीले मिडियामा आएपछि मात्र थाहा पाएको भनेर सार्वजनिक रूपमा भन्नुले उनको सरकार संचालन गर्ने क्षमता माथी प्रश्न गर्ने ठाउँ उत्पन्न गरिदिएको छ । सरकार सञ्चालन गरिरहेका नेताहरूको गैरजिम्मेवारपना, आसेपासे पूजीवाद र अकर्मण्यताका कारण मुलूक संकटग्रस्त छ । सरकारले विधेकहरू प्रस्तुत गर्दा संविधानको मर्म र भावनालाई कुल्चिने दुस्प्रयासहरू भइरहेका छन् । सरकारले जनतालाई ढुक्क बनाउने भन्दा अझ झन् बढी असुरक्षित, असुन्तुष्ट र वितृष्णा पैदा गरिदिने मात्र काम गरेको छ ।
शिशु अवस्थामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको छ । एकातिर संसदमा एक्लो दलको लगभग दुई तिहाइको वर्चश्व छ भने अर्कोतिर सात दशकदेखिको क्रान्ति पूरा भयो भनेको असोजमा चार वर्ष पुग्दैछ । तर त्यही जगमा जनमत लिएर आएको सरकारले डेढ वर्ष पनि बिताउन नपाउँदै पुनः अस्थिरताका आशंका उब्जन थालिसकेको छ । संविधान बने पश्चात् निर्माण भएको पहिलो सरकार दुई वर्ष पूरा नहँुदै अस्थिर बनाउने खेल आरम्भ भइसकेको आम जनतामा आभास भएको छ । वाम गठबन्धन चुनावमा भाग लिदंै गर्दा पाँच वर्ष कसैले हल्लाउन नसक्ने स्थिर सरकार बनाएर विकासको लहर ल्याउने प्रतिबद्धता गरेको थियो तर डेढ वर्ष नबित्दै पार्टीभित्रैबाट सरकारको स्थिरता माथि प्रहार हुनु सरासर राजनैतिक बेइमानी हो । नेकपा नेतृत्वले गएका केही हप्तादेखि आफैले राजनीतिक अस्थिरताको मनोवैज्ञानिक माहोल सिर्जना गर्दैछ । सत्ता पक्षबाटै सरकारलाई अस्थिर बनाउने खेल सुरु हुनु नेपाली जनता माथिको घात हो । राजनैतिक नेतृत्व आदर्श, मूल्य, मान्यता र नैतिकताबाट च्यूत भएपछि संसदको संख्यात्मक स्थिरताले मात्र सरकारस्थिर बन्दोरहेनछ । नेकपामा अहिले सत्ता साझेदारीको आलोपालोको सहमति प्रमुख मुद्धाको रूपमा देखापरेको छ । सरकार प्रतिपक्ष दलबाट भन्दा सत्तासिन पार्टीभित्रैबाट असुरक्षित छ ।
नेपालको सबैभन्दा पुरानो दल प्रतिपक्षमा छ । संसदमा अंक गणितको हिसाबले प्रतिपक्ष जस्तो देखिए पनि वास्तविक प्रतिपक्षको भूमिका निर्वाह गर्न असफल सिद्ध भएको छ । सरकारले नियुक्ति गर्ने बिभिन्न पदहरूमा भागवण्डा नमिल्दा मात्र झस्किएर प्रतिपक्ष पनि छ है भनेर आफ्नो उपस्थिति देखाउने प्रयत्न गर्छ । पार्टीभित्रकै किचलो, निहित नेताको स्वार्थको अनुकूल चल्ने र नैतिक धरातल गुमाउदै गएको पंक्ति नेतृत्वमा हावी भइराख्ने प्रवृतिका कारण उठ्नै नसक्ने गरी थला पर्ने दिशामा छ । कतिपय दलहरू विभिन्न जाति र सम्प्रदायका मुद्दाहरू उठाएर द्वन्द्व सिर्जना गर्दै राजनैतिक लाभ लिने दाउमा छन् । छोटै समयमा सत्तामा पुग्ने अभिलाशाका साथ वैकल्पिक राजनैतिक शक्तिको रुपमा उदाएका दलहरू शक्ति आर्जनका लागि दौडधुपमा छन् । शक्ति आर्जनका लागी जस्तोसुकै पृष्ठभूमि बोकेका पात्रहरूलाई रातो कार्पेट बिछ्याएर दलमा भित्र्याउन सबैजसो दलहरू तयार छन् । राजनैतिक नेतृत्वको लागि नैतिकता, क्षमता र वैचारिक स्पष्टताको आवश्यकता नहुने परिपाटी सिर्जना गरिदिएपछि चोर, फटाह, भ्रष्टाचारी र दलालहरूलाई भित्र्याएर शक्ति आर्जन गर्न सहज भएको छ । यसरी फोहोरी राजनीतिक अभ्यासलाई संस्थागत गर्न लागिपरेका दलहरूबाट नेपाललाई खतरा छ । हामी सबैबाट नेपाललाई खतरा छ । समाजमा विद्यमान समस्याहरूको निराकरणको लागि पहल लिने भदा पनि नेताहरूलाई गाली गरेर बस्ने ठूलो जमातबाट देश असुरक्षित छ । जुन युवाहरू राजनैतिक दल तथा समूहगत स्वार्थको रङ्गमा लत्पतिएर सही र बेठिक छुट्याउन सकिरहेका छैनन् तीनैबाट देश असुरक्षित छ ।
राज्यको चौथो अङ्ग मानिने मिडिया जनतलाई सत्य तथ्य उजागर गरेर सु–सज्जित बनाउनुको सट्टा भ्रामक समाचारहरूमार्फत् समाजलाई झन उद्देलित पार्ने पत्रहारहरूबाट देश असुरक्षित छ । देश र जनताको सेवा गर्ने प्रण गरेका सिक्षक, कर्मचारी, सुरक्षा निकाय र जनप्रतिनिधिहरू गैरजिम्मेवार भएर व्यक्तिगत स्वार्थमा लिप्त हुँदा देश असुरक्षित भएको छ । हामी सबैबाट देश असुरक्षित छ । हामी जुन अवस्था र जिम्मेवारीमा छौं त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न सकेमा मात्र देश उन्नती र प्रगतिको शिखर चुम्नेछ । हामी विदेशीका कारण असुरक्षित भएको भन्ने भ्रमबाट आजैबाट मुक्त हुन जरुरी छ, हामी अरु कुनै मानिसका कारण असुरक्षित छौ भने त्यो एक पटक ऐनामा हेर्नुहोस् अझ प्रष्ट हुनेछ ।
प्रकाशित मितिः ३१ असार २०७६, मंगलवार ०८:१८
रविकीरण हमाल ।