लोकसेवाको विज्ञापनविरुद्व सिठ्ठी जुलुस

सुर्खेत, ३० असार ।

समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोधमा सुर्खेतका आदिवासी तथा जनजातीहरुले विरोध गरेका छन् । उक्त विज्ञापनको विरोधमा आइतवार मसाल जुलुस निकालेका उनीहरुले सोमवार सिठ्ठी जुलुस गरेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतको नेतृत्वमा सोमवार वीरेन्द्रनगरमा सिठ्ठी जुलुस गरिएको छ । स्थानीय मंगलगढी चौकबाट शुरु भएको सिठी जुलुसले वीेरेन्द्रनगर बजार परिक्रमा गरी वीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणात भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले संविधा विपरित लोकसेवाले विज्ञापन खुलाएको र त्यसलाई सर्वोच्च अदालतले पनि नरोकेको भन्दै आक्रोश व्यक्त गरे । पिछडिएको समुदायको अधिकार खोस्नेगरी विज्ञापन गरेर कर्मचारी भर्ना गर्न लागिएको उनको भनाइ थियो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले लोकसेवा आयोगमा पाउदै आएको आरक्षणलाई हटाएर विज्ञापन खोलिनु संविधानको मुल मर्मविपरित भएको टिप्पण गरे । उनले समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी आफूहरुलाई अवहेलना गरेको समेत बताए ।

असमावेसी विज्ञापन तत्काल रद्द गरी आरक्षण सुनिश्चिततासहितको विज्ञापन अविलम्ब प्रकाशित गर्नुपर्ने मागसहित आदिवासी तथा जनजातीहरु आन्दोलित भएका छन् ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार १८:२६