साझा बिसौनी दशौं वर्षमा

एक लाखको अक्षयकोष स्थापना

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ असार ।
साझा बिसौनी दैनिक नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आइतवार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा एक लाख रूपैयाँको अक्षयकोषसमेत घोषणा गरिएको छ । साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनले एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
पब्लिकेशनका अध्यक्ष गोपी अधिकारीले गैरनाफामूलक लोककल्याणकारी संस्था साझा बिसौनी फाउण्डेशन स्थापना गरी सोही फाउण्डेशनले सञ्चालन गर्ने गरी अक्षयकोष बनाइएको जानकारी दिए ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरिएको फाउण्डेशनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मानव कल्याणका क्षेत्रमा विविध कार्यहरू गर्ने अध्यक्ष अधिकारीले बताए । प्राकृतिक वा अन्य कुनै विपद्का समयमा प्रभावित भएकाहरूलाई फाउण्डेशनमार्फत् सहायता प्रदान गर्ने, आर्थिक विपन्नताका कारण पढ्नबाट वञ्चित भएका वा समस्यामा परेका बालबालिकाहरूलाई अध्ययनका लागि सहयोग
गर्नुका साथै छात्रवृत्ति प्रदान गर्ने काम संस्थाबाट गरिने जनाइएको छ । यसका साथै स्वास्थ्य समस्या सम्बन्धी प्रकोपका समयमा वा ग्रामीण र भौगोलिक रूपमा विकट क्षेत्रमा आवश्यकता अनुसार विभिन्न स्वास्थ्य शिविर र औषधि वितरण लगायत स्वास्थ्यसँग सम्बन्धित कार्यहरू पनि फाउण्डेशनमार्फत् गर्दै जाने अध्यक्ष अधिकारीले बताए । ‘उज्यालो समाजका लागि हामी सबैको हातेमालो’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी दिनमा फाउण्डेशले निरन्तर रूपमा मानवकल्याणका क्षेत्रमा आफ्ना कार्यहरू गर्दै अघि बढ्नेछ’ उनले भने ।
अध्यक्ष अधिकारीका अनुसार साझा बिसौनी दैनिकले वार्षिक रूपमा गर्ने आम्दानीको कम्तिमा पाँच प्रतिशत रकम हरेक वर्ष फाउण्डेशनको कोषमा जम्मा गरिनेछ । व्यवसायिक सफलतासँगै संस्थालाई थप सामाजिक कार्यहरूमा जोड्नु नै फाउण्डेसन स्थापनको मुख्य ध्येय भएको उनले बताए ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार १५:४७