बद्मीको बाल्यकाल
बदमी क्वारी बोहोरा कर्णाली प्रदेश सभा सदस्य हुन् । वि.सं. २०६३ मा तत्कालीन नेकपा एमाले डोल्पाको संगठित सदस्य भएर राजनीतिमा प्रवेश गरेकी बोहोरा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको सदस्य हुन् ।
अखिल नेपाल महिला संघ डोल्पाको अध्यक्ष, केन्द्रीय सदस्यसमेत भइसकेकी उनी समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेकी हुन् । वि.सं. २०३१ असार ९ गते बुबा चन्द्रप्रसाद बोहोरा र आमा विष्णु बोहोराको सन्तानका रूपमा मुड्केचुला गाउँपालिका डोल्पामा जन्मिएकी बोहोराले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः
बाल्कायलका अनेक सम्झना मानसपटलमा छन् । अन्य थुप्रै कुराहरु छन् जो सम्झनामा आउँछन् तर एउटा सम्झना जो म चाहेर पनि सम्झिन सक्दिन । आमाको अनुहार जति सम्झन्छु भने पनि सम्झन सक्दिनँ । तर उहाँसँग बिताएका एक÷दुई पल छन्, जसले बाल्यकाललाई सजिलैसँग सम्झाउँछ ।
आमाले मलाई कुच्चो लिन पठाउनुहुथ्यो । म पहिले दुध खान दिए मात्र काम गर्छु भनेर भन्थें । अनि आमाले दुध खुवाउनुहुन्थ्यो । त्यसपछि आमाले गराएको सबै काम गर्थें ।
म सानैदेखि आमालाई भन्दा पनि बुबालाई बढी पछ्याउने गर्थें । बुबा बाहिर जानुपरे बाटो छेक्न पुग्थे । बुबा प्रायः बाहिर गइरहनुपथ्र्यो । म सधैं छेक्थें । त्यतिबेला आमाले भन्नुहुन्थ्यो ‘तैले बुबाको मात्र माया मान्छेस् मेरो माया मान्दिनेस् । म छिट्टै मर्छु अनि माया लाग्छ ।’ आमाले जे भन्नु भएको थियो आखिर त्यही भयो । म ६ वर्षको हुँदा आमाले सधैंका लागि यो संसार छोडेर जानुभयो ।
आमाको अनुहार कस्तो थियो त्यति सम्झना छैन । आमाले भनेका कुराहरु मात्र सम्झनामा छन् । भाइ जन्मिएको थियो । त्यसपछि आमालाई धेरै गाह्रो भयो । उहाँलाई रक्तअलपत्ता भयो । गाउँमा उपचार सम्भव थिएन । डोल्पामा भर्खर त गाडी पुगेका छन् । त्यस बेलामा कल्पना मात्र थिए । उपचार नपाएर आमाको निधन भयो । हाम्रो चलनमा मान्छेको अन्तिम संस्कारमा उल्टो बाजा बजाउने गर्छन् । बाजा बजेको सम्झना छ ।
आमाले हामीलाई सधैंका लागि छोडेर गएपछि भाई रह्यो । भाईको पनि दुई महिनापछि मृत्यु भयो । भाइले दुध नै खान नपाएर ज्यान गुमाउनुप¥यो । सधैं अरुका दुध खुवाउन लैजानु पथ्र्यो । सधैं अरुकोमा लैजान पनि सम्भावना भएन । फेरि जातीय छुवाछुत व्याप्त थियो । दलितको घरमा दुध खुवाउन गयो भने कुरा काट्थे । हामीले भाईलाई बचाउन सकेनौं । त्यसपछि बुबा र म मात्र भयौं । अझै पनि सम्झदा पीडा महसुस हुन्छ ।
बाल्यकालदेखि नै म सोझी, मिजासिलो र मिलनसार स्वभावकी थिएँ । साथीहरुसँग खेल्ने रमाउने, पढ्ने र गाइगोठाला जाने हुन्थ्यो । घरमा आमा नभएकाले पनि घरको काम सबै गर्नुपथ्र्यो । गाउँमा हाम्रो परिवार जान्ने बुझ्ने अलि सम्पन्न परिवार थियो । बुबाले राजनीतिसँगै घरेलु विधिमार्फत् आँखाको अप्रेशन गर्ने काम गर्नुहुन्थ्यो । बुबाहरुको एउटा समूह नै थियो । बुबालाई सबैले दाङ्दर (डाक्टर) भन्थे । आँखाको अप्रेशन घरेलु उपायबाट गर्नुहुन्थ्यो । अहिले यो काम गर्ने कोही छैनन् । हामीलाई दाङ्दार नै भनेर चिन्थे ।
प्रशस्त जग्गा जमिन, गाइवस्तु हुन्थे । घरमा बुबा र म मात्र भएकाले हामीहरु आफन्तको बसेका थियौं । काम गर्नका लागि धेरै मान्छेहरु हुन्थें तर पनि आफूले रेखदेख गर्नुपर्ने हुन्थ्यो । करिब दश÷एघार वर्ष पुग्ने बेलासम्म मैले गाउँकै विद्यालयमा पढें । पाँच कक्षा पढें पछि मेरो पढाइ रोकियो । त्यसपछि गाईगोठाला जाने, घरको काम गर्ने दैनिकी नै यही हुन्थ्यो । घरको अवस्थाले गर्दा पढ्न सक्ने अवस्था पनि भएन ।
बुबाले अर्को विवाह गर्नुभएन । मैले बुबालाई विवाह गर्न सुझाव दिन्थें । तर बुबाले मान्नुभएन । मैैले बुबालाई विवाहको कुरा भन्दा उहाँले सधैं एउटा कुरा भन्नुहुन्थ्यो, ‘मैले तिमीभन्दा बाठी विवाह गरें भने तिमीलाई दुःख दिन्छ, अनि तिमी भन्दा कम बाठो विवाह गरे भने तिमीले दुःख दिन्छौं त्यसैले विवाह गर्दिनँ ।’ बुबाले मलाई आमाबुबा दुवैको माया दिनुभयो । मलाई कुनै कुराको अभाव दिनुभएन । बुबाले एक छिन पनि मलाई आफ्नो आँखाबाट ओझेल नपरोस् भन्ने चाहानुहुन्थ्यो ।
पहिले गुन्यौंंचोली लगाउने चलन थियो । बुबाले मलाई सबैको भन्दा राम्रो कपडा किनिदिनुहुन्थ्यो । गहना बनाइदिनुहुन्थ्यो । अझै पनि मैले बुबाको चिनोको रुपमा राखेको छु । झुम्के बुलाकी, ढुंगरी, आमाले बनाइदिएको सिक्काको माला यी सबै लगाएर गाउँमा हिँड्दा आफूलाई सबैभन्दा असल र राम्री लाग्थ्यो ।
घरको परिस्थितिले गर्दा म साथीहरुसँग भने त्यति घुलमिल हुन पाइनँ । घरको काम बढी गर्नुपरेकाले पनि साथीहरुसँग त्यति खेल्ने समय भएन । तैपनि साथीहरु म कहाँ पनि खेल्न आइपुग्थे । कहिले काहीं म उनीहरुसँगै जान्थे । प्राय गाइगोठाला गएको समयमा खेल्थ्यौं । पिङ हालेर खेलेको सम्झना छ । कहिले काहीं सानोतिनो बदमासी पनि गरेको रहेछु भनेर अहिले सम्झना आउँछ । घरमा गाइवस्तु धेरै भएकाले दही धेरै नै हुन्थ्यो । मौरी पनि पालेका थियौं । मैले दही र मह चोरेर साथीहरुलाई खान दिन्थें । थाहा पाएपछि बुबाले गाली त गर्नुहुन्थ्यो तर साथीहरुलाई दिन भने छोडिनँ । सानो छँदा सुतेको बेलामा कसैले उठायो भने रुने बानी थियो । जहाँनिर सुत्यो मलाई निन्द्रा नपुग्नेबेलासम्म त्यही सुत्न दिनुपथ्र्यो । मलाई कसैले उठायो भने रोइहाल्थें ।
उमेर बढ्दै गएपछि विवाहको कुरा आउन सुरु भयो । म १४ वर्षको हुँदा बुबाले विवाह गरिदिन खोज्नुभएको थियो । एक्लो छोरी । बुबाले आफूबाट टाढा पठाउन खोज्नुभएको थिएन । बुबाले घरज्वाइँ राख्ने मनसाय गर्नुभएको थियो । विवाह गर भन्नुभयो तर मैले घरज्वाइँ राख्ने गरी विवाह गर्न मानिनँ । एक जना गाउँमा घरज्वाइँ बस्दा हेपेको मैले प्रत्यक्ष देखेको थिएँ त्यही भएर पनि मैले बुबाको कुरा मानिन् । मैले बुबालाई छोडेर जानुपर्छ भनेर माया लागे पनि मलाई बिवाह गरेर केटाकै घरमा जानुपर्छ भन्ने लाग्थ्यो । किनकी हामी त्यस्तै समाजमा हुर्किएका थियौं । बाल्यकालमा सबैभन्दा बढी आमाको महत्व भयो । दुःख संघर्ष गर्दै बित्यो । अहिले सम्झँदा सपना जस्तो लाग्छ ।
मैले आफै विवाह गरें । त्यसपछि मात्र राजनीति सुरु गरें । अलि बाठी थिएँ । त्यही भएर सबैले सानैदेखि यसले केही गर्नसक्छे भन्नुहुन्थ्यो । मेरो श्रीमान् पनि राजनीतिमै हुनुहुन्छ । त्यही भएर पनि मलाई राजनीतिमा आफूलाई टिकाइ राख्न सजिलो भयो । यसमा घरपरिवार सबैको साथ र सहयोग छ ।
प्रकाशित मितिः ३० असार २०७६, सोमबार १५:३८
मुना हमाल ।