दुई दिनमा २१ पटक भूकम्प, पश्चिममा सचेत हुन आग्रह

2साझा बिसौनी संवाददाता
सुर्खेत, १६ असार ।
बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । बुधवार दिउँसो २ बजे पहिलोपटक पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । बिहीवारसम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
गोरखामा गएको भूकम्पको पराकम्पन नभइ बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरू नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च शतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
‘बुधवार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महसुस भएका छन्’ महर्जनले भने, ‘भविष्यवाणी गर्न त सकिदैंन, तर कुनै पनि बेलामा पश्चिम क्षेत्रमा ठूलो धक्का आउनसक्छ । लगातार पराकम्पन हुनु पनि यसैको सङ्केत हो, पूर्वशतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’ करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । महर्जनले थपे, ‘बझाङमा यसअघि वैशाखमा पनि भूकम्प गएको थियो, त्यहाँ आसपासको क्षेत्रमा बेलाबेलामा धक्का महसुस हुने गरेको छ । यसपटक लगातार धक्का आइरहेको छ, सावधानी अपनाउनु नै हितकर हुनेछ ।’ केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच रेक्टर भन्दा ठूलो धक्का भने मापन भएको छैन ।
केन्द्रका अर्का प्राविधिक तीर्थ दाहालले भने, ‘अहिलेसम्म बझाङमा मात्र सामान्य घर र विद्यालय भवनहरू चर्किएका छन्, मानवीय क्षति भएको छैन । तर अब सावधानी अपनाउन आवश्यक छ, कति बेला के हुन्छ ढुक्क हुने अवस्था छैन ।’ अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्बेतीयन प्लेट एक आपसमा घर्षण भइरहेको र यसैको परिणाम धक्का आइरहेको केन्द्रको भनाइ छ । भूकम्पको जोखिम बढी भएको र पश्चिम क्षेत्र संवेदनशील भएकाले पनि पश्चिम क्षेत्रमा उच्च शतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ । लगातार भूकम्पको धक्का आउन थालेपछि अहिले वीरेन्द्रनगरमा रहेको भूकम्प मापन केन्द्रमा रहेका प्राविधिक तथा कर्मचारीहरू पनि शतर्क अवस्थामा छन् । केन्द्रले सावधानी अपनाउन आग्रह गर्दै हल्लाको पछि नलाग्न र भागदौड नगर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ । कार्यालयले होसियारीपूर्वक सचेत रहन आग्रह गर्दै नआत्तिन समेत सुझाव दिएको छ । बझाङमा भने स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ ।

प्रकाशित मितिः   १७ असार २०७३, शुक्रबार ०४:२०