२० जना कृषकलाई परिचय–पत्र

krishak id
किसान परिचयपत्र पाएपछि वीरेन्द्रनगरका कृषक हर्कबहादुर खत्री ।

सुर्खेतका किसानलाई किसान परिचय–पत्र वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले धान दिवसको अवसर पारेर बुधवारबाट किसान परिचय–पत्र वितरण सुरु गरेको हो ।
धान दिवसको अवसरमा मनिकापुरमा भएको रोपाइँ कार्यक्रममा वीरेन्द्रनगर–१५ मनिकापुरका २० जना किसानलाई किसान परिचय–पत्र वितरण गरिएको थियो । मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका निर्देशक शिवनारायण चौधरीले उनीहरूलाई परिचय–पत्र प्रदान गरेका थिए । चालु आर्थिक वर्षको असार मसान्तभित्र पाँच हजार किसानलाई किसान परिचय–पत्र प्रदान गर्ने कृषि विकास कार्यालयका सूचना अधिकारी सुरेश थापाले बताए ।
सुर्खेत उपत्यकाभित्रका एक हजार र उपत्यका बाहिरका चार हजार किसानलाई पहिलो चरणमा परिचय–पत्र वितरण गर्न लागेको उनको भनाइ थियो । परिचय पत्रको लागि किसान छनौट भइसकेकोले ६ सेवा केन्द्रमार्फत् परिचय–पत्र वितरण गर्ने जिल्ला कृषि कार्यालयले बताएको छ । कार्यालयका अनुसार सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान लगायतका सुविधाहरूलाई प्रभावकारी रूपमा किसानहरूसम्म पु¥याउनका लागि किसान परिचय–पत्र वितरण सुरु गरिएको हो ।
किसान परिचय–पत्र वितरणपछि सरकारले उपलब्ध गराउने अनुदान लगायतका सेवा लक्षित किसानसम्म पु¥याउन सहज हुने कृषि विकास कार्यालयका प्रमुख विजयकुमार गिरीले बताए ।

प्रकाशित मितिः   १६ असार २०७३, बिहीबार ०५:४९