मलेसियालाई हराउँदै नेपालले जित्यो टि-२० सिरिज

काठमाडौं, २९ असार । नेपालले मलेसियासँगको २ खेलको मैत्रिपूर्ण टी-२० क्रिकेट शृंखलामा जितेको छ। शनिबार र आइतबार खेलिएका दुवै खेलमा जित हात पार्दै नेपालले शृंखला ‘क्लिनस्विप’ गरेको हो।

मलेसियाविरुद्धको दोस्रो खेलमा नेपालले आइतबार मलेसियालाई ६ रनले पराजित गर्दै शृंखलामा कब्जा जमाएको हो।

विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले मलेसियालाई १ सय ७४ रनको लक्ष्य दिएको थियो। मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि नेपाल ६ रनले विजयी भयो।

नेपालले ६ विकेटको क्षतिमा १ सय ७३ रनको योगफल खडा गर्दा विनोद भण्डारीले महत्वपूर्ण योगदान गरे। क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि विनोद भण्डारीले २५ बलमा अविजित ५१ रनको पारी खेले। उनको पारीमा ३ चौका र ५ छक्का सामेल थियो।

शरद भेसवाकरले ४० रन जोडे। सर्भिन मुनियन्दीको बलमा अमिनुन्दिन राम्लीको हातबाट समातिनुअघि भेसवाकरले ४ चौका र २ छक्का प्रहार गरेका थिए। पहिलो ६ ओभरमा ३ विकेट गुमाएर दबाबमा आएको नेपालको इनिंग्सलाई मध्यक्रममा ब्याट्सम्यानले उकासेका थिए।

रोहित पौडेलले १९ रन बनाउँदा करण केसी १६ रनमा पेवलियन फर्किए। यसअघि आक्रामक सुरुवात गर्न खोजे पनि पहिलो विकेटको रुपमा पवन सर्राफलाई नेपालले गुमाएको थियो।

‘टप एज’ लागेर आकासिएको बललाई क्याच गर्न नसके पनि मलेसियाका बलर सैयद अजिजले सर्राफलाई रन आउट गराएका थिए। सर्राफले ११ बलमा २ चौकाको मद्दतमा १० रन बनाए। सर्राफपछि मैदानमा उत्रिएका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ३ बल मात्रै खेलेर ७ रनमा पेवेलियन फर्किए। उनले एक छक्का प्रहार गरेका थिए।

प्रारम्भिक ब्याट्सम्यानको रुपमा मैदानमा उत्रिएका कप्तान पारस खड्का पनि २३ रनमा क्याच आउट भए। १९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिन चाहे पनि पारी लामो समयसम्म टिक्न सकेन। उनले शनिबार भएको पहिलो खेलमा अविजित ८६ रन बनाउँदै नेपाललाई ७ विकेटको सहज जित दिलाएका थिए।

मल्ल र खड्कालाई मलेसियाका फित्री सामले छैटौं ओभरको दोस्रो र तेस्रो बलमा क्याच आउट गराएका थिए।

मलेसियाका फित्री सामले ३ विकेट लिँदा मुनियन्दी र सइद अजिजको नाममा समान १/१ विकेट रह्यो।

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाका लागि सइद अजिजले अर्धशतक बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले लामो पारी खेल्न सकेनन्। प्रारम्भिक ब्याट्सम्यान अजिजले ३७ बलमा ५० रनको पारी खेले। उनको पारीमा ७ चौका र १ छक्का सामेल थियो। भिरनदीप सिंहसँग मिलेर अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरे। सिंहले २३ रन बनाए।

अमिनुद्दिन राम्ली र मोहम्मद स्याहदातले क्रमशः २३ र २१ रन जोडे पनि त्यो जितका लागि पर्याप्त बनेन।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए। करण केसी, अभिनाश बोहर र कप्तान पारस खड्काको नाममा समान १/१ विकेट रह्यो।

साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो।

प्रकाशित मितिः   २९ असार २०७६, आईतवार १२:३८