साउन २९ को ऐंठन
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ असार ।
भयानक र त्रासदीले भरिएको त्यो रात सम्झदा मात्र पनि हरिहरपुरकी गंगा बुढाको आँत काप्छ । मनमा त्रासको हुण्डरी पस्छ । हातगोडा फतक्कै गल्छन्, लुला हुन्छन् । रिङ्गटा लाग्लाझै हुन्छ । आँखा वर्षिन थाल्छन् ।
मध्यरातमा एकाएक घरभित्र पसेको बाढी, बाढीसँगै बगेको आफ्नो श्रीसम्पत्ति र बल्लतल्ल ज्यान जोगाएको त्यो घटना पाँच वर्षअघिको हो । तर उक्त घटना सम्झेर अहिले पनि उनलाई ऐंठन हुन्छ । सपनामा पनि पटक–पटक त्यही विपद् दोहोरिरहन्छ । ‘पाँच वर्ष भइसक्यो अब त बिर्सनुपर्ने हो तर बिर्सन सकेकी छैन’ उनी भन्छिन्, ‘सपनामा पनि त्यही रातको घटना दोहोरिन्छ, कयौं पटक ऐंठन हुन्छ ।’
२९ साउन २०७१ राती आएको बाढीले गंगाको उठीबास बनायो । उनी जस्तै यहाँका एक हजार बढी परिवारलाई घरबारविहीन बनायो । जिल्लाका विभिन्न स्थानमा धनजनको ठूलो क्षती पु¥यायो । बाढी–पहिरोमा परी सुर्खेतका ३४ जनाको मत्यु हुन पुग्यो भने बेपत्ता भएका ९१ जनालाई पनि सरकारले मृत घोषणा ग¥यो । त्यही घटना हो जसले गंगालाई अहिले पनि सताइरहन्छ ।
गंगा एकातर्फ त्यो रात सम्झेर छट्पटाउँछिन् तर उनको छटपटी त्यति मात्रै पनि होइन । बाढीका कारण विस्थापित भइ घरवारविहीन भएको पाँच वर्षसम्म पनि स्थायी बसोबासको टुंगो नलाग्दाको पीडा झन बढी छ । उनको परिवार अहिले पनि बराहताल गाउँपालिकाको गिरीघाटमा रहेको अस्थायी शिविरमा बसिरहेको छ । त्रिपालको छानोको भरमा पाँच वर्ष बिताइसकेकी गंगा आफ्नो अनिश्चित घरवास र छोराछोरीको भविष्यलाई लिएर निकै चिन्तित छिन् । ‘घरबासको टुंगो छैन, त्रिपालमा बस्न थालेको पाँच वर्ष भयो’ उनले भनिन्, ‘न गासवासको टुंगो छ न छोराछोरीको पढाइ नियमित हुन पाएको छ ।’
यसवर्षको वर्षात् पनि सुरु भइसकेको छ । वर्षात् आउनु भनेको गंगा र उनीजस्तै बाढीपीडितहरूका लागि उही पीडा र त्रास फर्की आउनु हो । मन रुवाउनु हो । घाउ बल्झाउनु हो र दुखाउनु हो । वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविरमा बस्दै आएकी धनसरी कामी भन्छिन् ‘बर्खा फर्की–फर्की आउँछ, हाम्रो खुशी भने अझै फर्किएन ।’ इत्राम खोलामा आएको बाढीले घर बगाएपछि विस्थापित भएकी उनी पनि आफ्नो अनिश्चित भविष्यको चिन्तामा छिन् । ‘यत्तिका वर्ष यसैगरी त्रिपालमा बिते, अझै कत्ति वर्ष बित्ने हुन्’ उनले भनिन्, ‘दुखी, गरीबलाई हेर्ने पनि कोही हुँदैन ।’
अस्थायी शिविरमा बस्न थालेको पाँच वर्ष पूरा भइसक्यो । पाँच बर्खा त्रिपालकै भरमा खपिसकेकी उनले हरेक वर्षको वर्षाले आफूहरूलाई पीडा लिएर आउने गरेको बताइन् । पुराना त्रिपाल च्यातिन थालिसके । केहीले मजदुरी गरेरै भए पनि त्रिपाल फेरे, नसक्नेल छिया–छिया भएका त्रिपालकै भरमा गर्मी, झरी र हिउँद काटिरहेका छन् ।
सरकारले पुनस्र्थापनामा ढिलाइ गर्दा यहाँका बाढीपीडितहरू कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढीपीडित तुलसी सुनारले आज मरिन्छ कि भोलि मरिन्छ भन्ने अवस्थामा पुगेको दुखेसो पोखिन् । ‘त्रिपाल पनि च्यातिएका छन्, नयाँ किन्नका लागि पैसा छैन’ उनले भनिन्, ‘हिउँदमा रातभरी शीत चुहिएर कपडा सबै भिजेको हुन्छ, गर्मीमा घामले बसिनसक्नु हुन्छ, वर्षामा झरीले पिरोल्छ, यसैगरी पाँच वर्ष बितिसके ।’
बाढीपीडितहरूले जतिसक्दो छिटो पुनस्र्थापना गरिदिन सरकारसँग माग समेत गरेका छन् । ‘त्रिपालको बास छ । यसले न जाडो छेक्छ, न गर्मी छेक्छ’ धनसरीले भनिन्, ‘वर्खा पनि हाम्रा लागि कष्ट बनेर आउँछ । यसरी कतिञ्जेल बस्ने ? सरकारले हाम्रो पीडा बुझेर पुनस्र्थापना गरिदिए हुने थियो ।’ पछिल्लो पटक कर्णाली प्रदेश सरकारले बाढीपीडित व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन गरे पनि पीडितहरूको व्यवस्थापन र पुनस्र्थापना भने हुन सकेको छैन । तर गत चैत्र २६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सुर्खेतका बाढीपीडितलाई पुनस्र्थापनका लागि प्रतिपरिवार तीन लाखका दरले ३१ करोड ३५ लाख रकम छुट्याएको छ । जसबाट पहिलो किस्ता अन्तर्गतको रकम सम्बन्धित स्थानीय सरकारमार्फत् पीडितलाई उपलब्ध गराउने काम भइरहेको जनाइएको छ ।
उच्चस्तरीय समितिले पछिल्लो पटक गरेको अध्ययन अनुसार वीरेन्द्रनगर नगरपालिकामा तीन सय २२, पञ्चपुरीमा दुई सय १४, बराहताल गाउँपालिकामा दुई सय ५९, चौकनेमा ६, भेरीगंगामा एक सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार विस्थापितहरू विभिन्न अस्थायी शिविरहरूमा बसिरहेका छन् ।
प्रकाशित मितिः २९ असार २०७६, आईतवार १२:२९
साझा बिसौनी संवाददाता ।