बाँध निर्माण गर्न जग्गा अधिग्रहण हुँदै

मुना हमाल
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण गर्न जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । बाँध निर्माण गर्दा प्रभावित हुने क्षेत्रको जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको हो ।

आयोजनाले बाँध निर्माणपछि डुबान पर्नेसक्ने प्रभावित क्षेत्र भेरी नदीको चिप्लेदेखि गोचेखोलासम्मको दायाँ–बायाँ किनारामा पर्ने जग्गा अधिग्रहण गर्दैछ । सुर्खेतको भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र लेकवेशी नगरपालिकामा पर्ने उक्त डुबान क्षेत्रमा जग्गा अधिग्रहण गर्न लागिएको आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रको जग्गा प्राप्तीका लागि आयोजनाले १५ दिने सूचनासमेत प्रकाशित गरिसकेको छ ।

आयोजनाले गरेको प्रारम्भिक सर्भेका अनुसार बाँध निर्माण गर्दा करिब २२ हेक्टर क्षेत्रफल जमिन डुबान पर्ने देखिन्छ । सोही जग्गा अधिग्रहण गर्न लागिएको उपाध्यायले जनाए । उनका अनुसार उक्त क्षेत्रमा १४ हेक्टर दर्ता जग्गा र आठ हेक्टर ऐलानी जग्गा रहेको छ । डुवान क्षेत्रमा १५ घरधुरी पनि पर्ने बताइएको छ । प्रभावित घरधुरीलाई मुआब्जासमेत दिइने छ ।

जग्गा प्राप्तीका लागि तीन वटै स्थानीय तहका जनप्रतिनिधि, प्रभावित क्षेत्रका स्थानीय र अन्य सरोकारवालाहरूलाई जानकारी दिइसकिएको भन्दै उपाध्यायले जिल्लाका राजनीतिक दल लगायत सरोकारवालाहरूलाई पनि जानकारी गराइने जनाए । जग्गा प्राप्त भइसकेपछि मुआब्जाको निर्धारण गरिने र यसको वितरण प्रक्रिया पनि अघि बढाइने उनले बताए ।

राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये सबैभन्दा बढी प्रगति हासिल गरेको भेरी–बबई आयोजनाको पहिलो चरणमा सुरुङ खन्ने काम सकिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा निर्धारित समयभन्दा एक वर्ष अगावै सुरुङ खनेर सकिएको छ । सुरुङ निर्माण सम्पन्न भएसँगै दोस्रो चरणका काम अघि बढेको आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा ड्याम तथा पावर हाउस निर्माणको कामहरू सुरु हुँदैछ । आयोजना सम्पन्न भएपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । यसका साथै साथै ४६.८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यसबाहेक कर्णाली प्रदेश सरकारले आयोजनाको बाँधस्थलबाट थप नौ मेगावाट विद्युत उत्पादन गर्ने योजना अघि सरोको छ । आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि सरकारले ल्याएको बजेटमा उक्त योजना समावेश गरिएको छ । कार्ययोजना अनुसार काम भएमा आर्थिक वर्ष २०७९÷०८० सम्म आयोजनाबाट विद्युत उत्पादन सुरु हुने जनाइएको छ ।

प्रकाशित मितिः   २८ असार २०७६, शनिबार १७:२९