बजारीकरण सम्बन्धी अन्तरक्रिया

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असार ।
लघुउद्यम सञ्चालन गर्दै आएका उद्यमीहरू र त्यस्ता उद्यमसँग सम्बन्धित व्यवसाय गर्दै आएका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा सुर्खेत र लघुउद्यम विकास कार्यक्रमको सहयोगमा आवाज संस्था सुर्खेतले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पा कार्यक्रम अन्तर्गत सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण गरेका उद्यमीहरूलाई बजारीकरणका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको आवाजका कार्यक्रम संयोजक शेरबहादुर कुमालले बताए । सीप तथा प्रविधि भएका उद्यमीहरूले उत्पादित वस्तुको माग तथा बजार विस्तार गर्नका लागि सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको कुमालले जानकारी दिए ।
कार्यक्रममा गौरीशंकर एग्रोफिडका सञ्चालक धर्मराज लम्सालले कुखुरापालक उद्यमीहरूलाई व्यवसाय निरन्तरता दिन आग्रह गरेका थिए । आवाजका कार्यकारी निर्देशक पवित्रा शाहीले सीप, प्रविधि भएका तर बजारीकरणमा समस्या भोगिरहेका उद्यमीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा लघुउद्यमीले निर्माण गरेको सामान कति र कसरी बिक्री गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा सुर्खेतकी अधिकृत आइती चौधरीले लघुउद्यमीहरूले स्थापना गरेको उद्यमलाई निरन्तरता दिन आग्रह गरेकी थिइन् । उद्यम व्यवसाय संस्थाको लागि नभइ आफ्नो लागि गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले आफ्नो व्यवसाय गर्दा पहिले सम्भाव्यता अध्ययन गरी व्यवसाय सुरु गर्न अनुरोध गरेका थिए । कार्यक्रममा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम लागू भएका गाविसका कुखुरापालन लघुउद्यमी, बाख्रापालन उद्यमी र तरकारी खेतीका उद्यमी, खाजा नास्ता, चाउमिन उत्पादन सिलाइ कटाइ, मोबाइल मर्मत, टमाटर खेती लगायतका उद्यमी तथा सोसँग सम्बन्धित व्यवसायी र सरोकारवाला निकायको उपस्थिति रहेको थियो । कार्यक्रम आवाजका अध्यक्ष इरादा गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   १६ असार २०७३, बिहीबार ०५:४५