संघ र प्रदेशकै सिको, लोकप्रियताको लोभ

साझा बिसौनी संवाददाता
सुर्खेत, १० असार ।
संघ र प्रदेश सरकारकै सिको गर्दै सुर्खेतका स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट बनाएका छन् । मंगलवार गाउँ तथा नगरसभामा प्रस्तुत गरिएको बजेटमा लोकप्रिय नारासहित माथिल्लो तहका सरकारकै अनुशरण गरिएका कार्यक्रम समावेश गरिएको छ ।
जिल्लाको चिङ्गाड गाउँपालिकाले संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमको नक्कल गर्दै अध्यक्ष रोजगार कार्यक्रमलाई बजेटमार्फत् आगामी योजनामा समावेश गरेको छ । गाउँपालिकामा रहेका बेराजगार युवाहरूलाई रोजगारी दिने गरी यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि १७ लाख रूपैयाँ बजेट छुट्याइएको छ ।
अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम देशभरका सबै स्थानीय तहहरूमार्फत् कार्यान्वयनमा छ । वडापालिकाले बेरोजगारहरूको तथ्यांक संकलन गरेर रोजगारमूलक कार्यमा लगाउने गरिएको छ । यस्तै कर्णाली प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । यो कार्यक्रम पनि उस्तै प्रकृतिको हो । त्यसैलाई सिको गर्दै चिङ्गाडले पनि अध्यक्ष रोजगार कार्यक्रम ल्याएको छ । यस कार्यक्रम अन्तर्गत पनि वडाबाट बेरोजगार युवाहरूको तथ्यांक संकलन गरी रोजगारी दिने गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले जानकारी दिए । कामका आधारमा ज्याला दिएर रोजगारीको अवसर सिर्जना गर्ने योजना गाउँपालिकाको छ ।
यसैगरी अधिकांश स्थानीय सरकारले लोकप्रिय नारा दिएर कार्यक्रम बजेटमा समावेश गरेका छन् । ‘मैले खोजेको अधिकार, मेरा लागि महिला स्वरोजगार’ को नारासहित महिला रोजगार कार्यक्रमलाई वीरेन्द्रनगर नगरपालिकाले प्राथमिकतामा राखेको छ । त्यस्तै ‘सुन्दर नगर बनाऔं मिलिजुली, सडक तथा घरमा बत्ती झिलीमिली’, ‘दिँदैन म फोहर, घरमै बनाउँछु मोहर’, ‘एक घर दुई बिरुवा, हामी आफै कुरुवा’ लगायतका नारा नगरपालिकाले अघि सारेको छ । एक अर्ब २० करोड ७९ लाख रूपैयाँ बराबरको बजेट ल्याएको वीरेन्द्रनगरले पूर्वाधार निर्माण सँगसँगै सामाजिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलाई प्राथमिकतामा राखेको छ ।
लोकप्रिय मात्र होइन कतिपय स्थानीय सरकारले महŒवाकांक्षी योजनाहरू पनि ल्याएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले केबुलकार सञ्चालनको योजनाअघि सारेको छ । कर्णाली प्रदेश सरकारले नै चालु वर्षको बजेटमा ल्याएर छोडेको केबुलकार सञ्चालनको योजना आउँदो वर्षका लागि भने पञ्चपुरी नगरपालिकाले समेटेको छ । पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैंटेसम्म केबलकार सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।
सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका, चिङ्गाड गाउँपालिका र पञ्चपुरी नगरपालिकाले नीति तथा कार्यक्रमसहित आगामी वर्षको लागि बजेट विनियोजन गरेका छन् । तर गुर्भाकोट नगरपालिकाले भने बन्दको प्रभाव भन्दै नीति तथा कार्यक्रम बुधवार प्रस्तुत गर्ने भएको छ । गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी दिपक शर्माका अनुसार बुधवारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भए पनि बजेट भने अर्को दिनको लागि बोलाइने तयारी भएको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी वर्षको लागि एक अर्ब २० करोड ७९ लाख ३० हजार चार सय रूपैयाँ विनियोजन गरेको छ । चालुतर्फ ७४ करोड ९३ लाख ३८ हजार चार सय, पूँजीगततर्फ ४५ करोड तीन लाख १२ हजार बजेट विनियोजन गरेको छ । त्यस्तै लेकवेशी नगरपालिकाले ४८ करोड ४८ लाख ८० हजार बजेट विनियोजन गरेको छ । चालुतर्फ २३ करोड ७१ लाख २२ हजार, पूँजीगततर्फ १८ करोड ३३ लाख ६६ हजार रूपैयाँ विनियोजन गरेको नगरपालिकाका प्रमुख गगनसिं सुनारले जानकारी दिए । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीका अनुसार ३९ करोड ५२ लाख ४८ हजार बजेट विनियोजन भएको छ ।
त्यस्तै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार ३४ करोड १० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको छ । चालुतर्फ पाँच करोड, पूँजीगततर्फ १५ लाख ७५ हजार, १३ करोड ४५ लाख सशर्ततर्फको बजेट विनियोजन भएको छ । बराहताल गाउँपालिकाले ४० करोड १५ लाख ८२ हजार बजेट आगामी वर्षको लागि विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटाका अनुसार सशर्ततर्फ १६ करोड ६९ लाख, चालुतर्फ नौ करोड र पूँजीगततर्फ १४ करोड ४६ लाख ८२ हजार रूपैयाँ विनियोजन गरेको छ ।
भेरीगंगा नगरपालिकाले ५७ करोड २० लाख ८५ हजार रूपैयाँ आगामी वर्षको लागि विनियोजन गरेको छ । चिङ्गाड गाउँपालिकाले २७ करोड ७३ लाख ३९ हजार बजेट आगामी वर्षको लागि विनियोजन गरेको छ । चालुतर्फ १८ करोड ७७ लाख ५४ हजार र पूँजीगततर्फ आठ करोड ९५ लाख ८५ हजार बजेट विनियोजन भएको छ ।

प्रकाशित मितिः   ११ असार २०७६, बुधबार २१:३३