‘युवालाई विदेश पठाउन रोक’

सुर्खेत, १० असार । (साबिस)
युवाहरूलाई रोजगारीका लागि विदेश पठाउने कार्य रोक्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । युवा संस्था नेपाल (आयोन) को आयोजना तथा मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरेक नेपाल लगायतका संस्थाहरूको समन्वयमा मंगलवार वीरेन्द्रनगरमा आयोजित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार पैरवी क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर विष्टले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘आज धेरैजसो युवाहरू खाडीमा छन् । दक्ष जनशक्तिसमेत युरोप अमेरिकाले तानिरहेको छ’ विष्टले भने, ‘गाउँमा जाने हो भने महिला र वृद्ध मात्रै छन् । कसैको मृत्यु भयो भने मलामीसमेत पाउन गाह्रो छ । यस्तो अवस्थालाई रोकी देशमै युवाहरूलाई रोजगार बनाउनुपर्दछ ।’
युवाहरूलाई उद्यमशीलतामा जोड्न सक्ने हो भने कोही पनि युवा विदेशिनु नपर्ने बताउँदै उनले सरकारले अझै पनि युवाको क्षेत्रमा काम गर्न नसकेको बताए । युवाहरू सशक्त नभएसम्म देश नबन्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा युवा परिषद् सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले युवाहरूलाई उनीहरूको शारीरिक विकाससँगै स्वास्थ्य अधिकारका कुरासमेत जानकारी हुनुपर्ने बताए ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट युवाहरूको सहभागिता रहेको तीन दिने कार्यक्रममा यौन सम्बन्धलाई व्यवस्थित गर्ने उपाय, अस्थायी साधन र त्यसलाई प्रयोग गर्ने उपाय, जन्मान्तर लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

प्रकाशित मितिः   ११ असार २०७६, बुधबार ०७:३१