२५ हजार घुससहित पक्राउ
साझा बिसौनी संवाददाता
सुर्खेत, १० असार ।
२५ हजार रूपैयाँ घुस रकमसहित सल्यानमा मंगलवार एक कर्मचारी पक्राउ परेका छन् । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख (शाखा अधिकृत) धनबहादुर वली घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिइ गएको टोलीले वलीलाई कार्यालय परिसरबाटै रङ्गेहात पक्राउ गरेको सुर्खेतस्थित कार्यालयका सूचना अधिकार मेघनाथ सापकोटाले बताए । इकाई प्रमुख वलीले शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै घुस रकम माग गरेका थिए ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा सुर्खेतबाट अख्तियारको टोली सल्यान पुगेको थियो । अख्तियारको सुर्खेतस्थित कार्यालयका अनुसार वलीलाई सेवाग्राहीसँग पच्चीस हजार घुसवापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । अख्तियारको टोलीले वलीलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।
साझा बिसौनी संवाददाता ।