व्यापार मात्र होइन सेवा पनि

रास्कोट–८ कालिकोटका शेखर बराल पेसाले एक फार्मेसिस्ट हुन् । सानैदेखि औषधिको विज्ञतामा रुचि राख्ने उनी सोचे अनुसार नै आफ्नो लक्ष्यमा पुगे । बुबा नन्दगोपाल बराल र आमा मडे बरालका जेठा छोराका रूपमा उनी वि.सं. २०४७ साल जेठ ३ गते जन्मिएका हुन् । पढाइमा तेज तथा मिलनसार स्वभावका बराल सेवामूलक पेसा गर्न पाउँदा गर्वको महसुस गर्छन् । आम्दानीलाई मात्रै नहेरी सेवालाई पनि ध्यान दिन जरुरी भएको बताउते शेखरले आफ्नो पेसागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

रोजेको पेसामा छु

म सानैदेखि पढाइप्रति अति लगनशील थिएँ । साथीहरुसँग पनि कहिल्यै झगडा भएन । त्यसैले पनि मेरो काममा परिवारका सदस्यहरुले कहिल्यै बाधा पु¥याउनु भएन । परिवारको लागि म सधैं विश्वासको पात्र भएँ ।
श्री बडिमालीका माध्यमिक विद्यालय रास्कोट–८, कालिकोटबाट एसएलसी र प्लसटू पास गरेको हुँ । त्यसपछि मैले डि–फार्मेसी भागेश्वर एकेडेमी फर हेल्थ साइन्स धनगढी कैलालीबाट गरेको हुँ । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल काठमाडौंबाट फार्मेसी पढेको हुँ ।
विद्यालय पढ्दादेखि नै मलाइ औषधिप्रति खुब जिज्ञासा लाग्थ्यो । कसैले औषधि ल्यायो भने यो औषधिको नाम के हो ? यो किन खाने ? यो कहाँ बन्छ लगायतका प्रश्न सोध्ने गर्दथें । मैले भोलि ठूलो भए पनि यही औषधि सम्बन्धी विषय पढ्छु भन्ने सोच्थें । जब माध्यमिक तहका पढाइ सकियो तब मेरो सपना पूरा हुने दिन पनि आए । र मैले फार्मेसी पढ्ने निधो गरें । मेरो परिवारले पनि मलाई त्यसमा साथ दियो । हाल मैलै वीरेन्द्रनगर–१०, खजुरामा आमा फार्मेसी सञ्चालन गर्दै आएको छु ।
पेसा सेवामूलक हुनुपर्दछ
हरेक मानिसका आ–आफ्नै पेसा र व्यवसाय हुन्छन् र रुचि पनि । सबैलाई सबै पेसा मन पनि पर्दैन । तर जे भए पनि अरुले गरेको पेसालाई सम्मान गर्ने हामीमा संस्कार भने हुनैपर्दछ । मलाई पनि सानैदेखि औषधि विशेषज्ञको रुपमा काम गर्ने खुब रुचि थियो । मेरो बुबा शिक्षक हुनुहुन्थ्यो । तर पनि उहाँले मलाई यो पेसा गर या त्यो पेसा नगर भनेर कहिल्यै भन्नुभएन ।
मेरो सानैदेखिको रुचि औषधिमाथिको विशेषज्ञता हाँसिल गर्ने थियो । त्यो थोरै भए पनि पूरा गर्ने मौका मिलेको छ । अर्को कुरा पेसा भनेको सेवामूलक हुनुपर्दछ । जुन मैले गरेको पेसामा त्यो पाएको छु । जनतालाई अति आवश्यक पर्ने औषधिबाट नै मैले सेवा गरेको छु । यो पेसाबाट कसैले मनग्य आम्दानी पनि लिएका छन् । तर औषधि जस्तो संवेदनशील कुरालाई व्यवसायका रुपमा लिनुभन्दा पनि सेवाको रुपमा लिन राम्रो हुन्छ । मैले यसलाई त्यही रुपमा लिएको छु । सानैदेखिको सपनाको पेसा भएर पनि हुनसक्छ । मलाई मेरो पेसाप्रति एकदमै गर्व लागेर आउँछ ।
ग्रामीण क्षेत्रमा घाँस दाउरा बोकेर पनि यो प्राप्ती होला भन्ने सोच त थिएन । तर पनि चाहे जे पनि गर्न सकिन्छ भन्ने भान भने पक्कै भएको छ । मेरो जीवनमा त्यति धेरै दुःख त परेन । किनभने मेरो बुवाआमाले मलाई सबैथोक पु¥याइदिनु भएको थियो । तर पनि घर छोडेर काठमाडौंका भाडाका जीवन बिताएर पढ्नु पनि दुःख हो जस्तो लाग्छ । जे भए पनि समाजमा सेवामूलक काम गर्न पाइएको छ । त्यो दुःखलाई अहिलेको सफलताले बिर्साइदिएको छ ।
अबको लक्ष्य
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी पनि हो । यहाँ सामान्य औषधिको अभाव हुने कुरा पनि भएन । तर साविकको कर्णालीमा अहिले पनि सिटामोल र ज्वरोको औषधि नपाएर मानिस छट्पटिएको अवस्था छ । त्यो अवस्थाको अन्त्य गर्नको लागि मैले मेरो फार्मेसीलाई विकट क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य लिएको छु ।
कतिपय अवस्थामा आँफूसँग पैसा हुँदाहुँदै पनि औषधि नपाएर दुर्गमका नागरिक मर्न बाध्य भएका छन् । यातायातको साधन अभावमा सुगम क्षेत्रमा आएर औषधि सेवन गर्नसक्ने अवस्थासमेत साविकको कर्णालीमा छैन । नेपाल सरकारको मान्यता प्राप्त स्वास्थ्यचौकी दशौकोष टाढा हुन्छ । त्यहीं जानको लागि पनि नागरिकहरुलाई दिनहुँ लाग्छ । त्यस्तो क्षेत्रमा मेरो फार्मेसी पु¥याउने सपना देखेको छु । यो पेसा अरु भन्दा गाह्रा पनि छ । किनभने जति पायो त्यति र जहिले पायो त्यहिले व्यापार गर्न मिल्दैन । आवश्यकता अनुसार मानिसहरुलाई सेवा गर्नुपर्दछ । त्यसैले आर्थिक रुपमा सबल हुने कुरा भन्दा पनि सेवाको हिसाबले म एकदमै सन्तुष्ट छु ।

प्रकाशित मितिः   ११ असार २०७६, बुधबार ०७:२७