आज बजेट ल्याउँदै स्थानीय सरकार

सीता वली
सुर्खेत, ९ असार ।
सबैभन्दा तल्लो तहमा रहेको स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आज (मंगलवार) नीति–तथा कार्यक्रम तथा बजेट ल्याउँदैछन् । सुर्खेतका स्थानीय सरकारले पनि आज गाउँ तथा नगरसभामा आगामी बजेट प्रस्तुत गर्दैछन् ।

स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको लागि बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार यहाँका सबै स्थानीय सरकारले बजेट ल्याउन लागेका हुन् । बजेट पेश गर्नका लागि तयारी पूरा भइसकेको जिल्लाका स्थानीय सरकारले जनाएका छन् । वडा, गाउँ तथा कार्यपालिकामा छलफल गरी तहहरूले बजेटको अन्तिम तयारी गरीसकेका छन् ।
वीरेन्द्रनगरको बजेट एक अर्ब बढी
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले करिब एक अर्ब २० करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि ९६ करोड ७४ लाख ८३ हजार बराबरको बजेट ल्याएको नगरपालिकाले आउँदो वर्ष वृद्धि गरेर एक अर्ब २० करोड पु¥याएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार वीरेन्द्रनगरले पाँच वटा विकासका क्षेत्रभित्रका पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण र विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा र सुशासन व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । यो बाहेक चालुतर्फका अन्य तथा सामाजिक सुरक्षालाई समेत ध्यानमा राखेर बजेट ल्याउने तयारी गरेको पौडेलले बताए ।
पहिलेकै महŒवपूर्ण योजनालाई निरन्तरता
भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्दका अनुसार यो वर्ष नगरपालिकाले करिब ५७ करोडको बजेट ल्याउने तयारी गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडकलाई नै प्राथमिकतामा राखेर नगरले बजेट ल्याउन लागेको उनले बताए ।
पुरानै शैलीमा नगरपालिकाले नगरभित्रका जनताका आवश्यकतालाई ध्यानमा राखेर बजेट ल्याउन लागेको प्रमुख चन्दले बताए । उनले सरोकारवालाहरूसँग छलफल गरेर र नागरिहरूको सुझाव अनुसार योजना छनौट गरिएको बताए ।
खानेपानीमा केन्द्रीत चौकुने
चौकुने गाउँपालिकाले भने खानेपानीलाई प्राथमिकतामा राखेर करिब ३४ करोडका हाराहारीमा बजेट ल्याउन लागेको गाउँपलिकाका उप–प्रमुख निर्मला रानामगरले बताइन् । ‘चौकुनेमा खानेपानीको असाध्यै समस्या छ’ उनले भनिन्, ‘हामीहरूले खानेपानीलाई नै प्राथमिकतामा राखेर बजेट ल्याउँदैछौं ।’
पूर्वाधार विकासका अन्य योजनाहरूसँगै खानेपानीलाई प्राथमिकतामा राखिएको जनाइएको छ । शिक्षा, स्वास्थ्य, लगाएतका नियमित कार्यक्रमहरूसमेत चौकुने गाउँपालिकाले समेटेर बजेट ल्याउने तयारी गरेको उनले बताइन् । बजेट थोरै र कार्यक्रम धेरै भएकोले छनौटमा समस्या भएको उप–प्रमुख रानाको भनाइ छ ।
लेकवेशीको ध्यान पूर्वाधरमा
लेकवेशी नगरपालिकाले आउँदो वर्षका लागि ४० करोड ३३ लाख २३ हजार बराबरको बजेट ल्याउँदैछ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद खरेलका अनुसार लेकवेशी नगरपालिकाले पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको छ ।
पूर्वाधारलाई जोड दिँदै कृषि, पशुसेवा, शिक्षा, महिला विकास तथा लक्षित वर्गको लागिसमेत विशेष बजेट ल्याउन लागेको उनले जानकारी दिए । नगरपालिकाभित्र सडक लगायत अन्य पूर्वाधारहरू आवश्यक भएकाले सोही अनुसार बजेट बनाइएको उनले जनाए ।
सिम्ताका पुरानै प्राथमिकता
पूर्वी सुर्खेतको सीम्ता गाउँपालिकाले पुराना चार वटा प्रमुख कार्यक्रमलाई निरन्तरता दिँदै करिब साढे ३९ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । गाउँपालीकाका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर हमालका अनुसार सीम्ता गाउँपालिकामा विगतका वर्षहरूमा सञ्चालन भएका चार वटा कार्यक्रमलाई निरन्तरता दिँदै अन्य कार्यक्रमहरू शिक्षा, स्वास्थ्य तथजा पूर्वाधार विकासका लागिसमेत बजेट ल्याउने तयारी गरेको छ ।
‘उज्यालो सिम्ता कार्यक्रम’, ‘पहुँचमार्ग निर्माण’, ‘जनतासँग सिम्ता गाउँपालिका’ र ‘स्वच्छ तथा सफा खानेपानीको उपलब्धता’ कार्यक्रमलाई सिम्ताले पहिलो वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ । यिनै चार योजनालाई पहिलो प्राथमिकतामा राख्दै बजेट बनाइएको छ ।
चिङ्गाडको प्राथमिकता सामाजिक विकास
चिङ्गाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले गाउँपालिकाले सामाजिक क्षेत्रका विषयहरूलाई समेटेर बजेट ल्याउने तयारी गरेको बताए । ‘हामीहरूले समाजिक चेतनाका कार्यक्रमका लागि बजेट बढी ल्याउने तयारी गरेका छौं’ उनले भने ‘सामाजिक चेतना बृद्धि नभएसम्म विकास सम्भव छैन । हामीहरूले बालबालिकाको सिकाइ सम्बन्धी कार्यक्रमलाई समेत महŒव दिएर बजेट ल्याउने तयारी गरेका छौ ।’
पूर्वाधार विकास त नियमित कार्यक्रम भएकोले यसलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको खत्रीले बताए ।
चिङ्गाड गाउँपालिकाकाले आगामी वर्षको लागि करिब २७ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको उनले जनाए ।
बराहतालको जोड कृषिमा
बराहताल गाउँपालिकाले भने कृषि उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षको लागि बराहतालले करिब ४० करोड बजेट विनियोजन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिए ।
उनले बराहतालमा कृषिको अत्याधिक सम्भाबना भएकोले कृषिलाई नै प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको छ । यो बाहेक पूर्वाधार विकासका कार्यक्रमलाई समेत निरन्तरता दिने तयारी गाउँपालिकाको रहेको उनले बताए ।
गुर्भाकोटको नीति अनुसार बजेट
जिल्लाको अर्को ठूलो नगरपालिका गुर्भाकोटले करिब ५३ करोडको बजेट ल्याउने तयारी गरेको छ । सोही अनुसार तयारी भएको नगरपालिकाका सूचना अधिकारी दिपक शर्माले जानकारी दिए ।
उनले नगरपालिकाले नीतिमा टेकेरै बजेट ल्याउने तयारी गरेको बताए । ‘नगरपालिकाले बनाएका नीति अनुसारकै योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ’ उनले भने ।
पञ्चपुरीद्वारा एक दिनअघि नै बजेट
जिल्लाका अन्य आठ वटा स्थानीय सरकारले आज बजेट ल्याउने तयारी गरिरहे पनि पञ्चपुरी नगरपालिकाले भने एकदिन अगावै बजेट सार्वजनिक गरिसकेको छ । नगरपालिकाले सोमवार नै बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाका अनुसार ५४ करोड ८० लाख एक हजार चार सय ५४ रूपैयाँको बजेट नगरपालिकाले आगमी वर्षको लागि ल्याएको छ । पुरानै शैलीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर पञ्चपुरी नगरपालिकाले बजेट ल्याएको छ । पूर्वाधार विकासमा सफल नभएसम्म अन्य विकासको सम्भावना नहुने भएकोले पूर्वाधार विकासलाई जोड दिँदै यो वर्ष नगरपालिकाले बजेट ल्याएको थापाले बताए ।

प्रकाशित मितिः   १० असार २०७६, मंगलवार १९:२८