मप विश्वविद्यालय नवौं वर्षमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असार ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय स्थापना भएको नौ वर्ष पूरा भएको छ । नौ वर्ष पूरा भएको अवसरमा विश्वविद्यालयले आज (मंगलवार) आफ्नो स्थापना दिवस तथा वार्षिकोत्सव मनाउँदैछ । वि.सं. २०६७ साल असार ३ गते संसदले ऐन जारी गरेको मितिलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
वार्षिक उत्सवको अवसरमा विश्वविद्यालयले महिला तथा पुरुषतर्फको खुल्ला म्याराथुन प्रतियोगितासमेत सञ्चालन गर्ने भएको छ । यसअघिका वर्षहरूमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउँदै आएको विद्यालयले यसवर्ष मञ्चमा विशेष कार्यक्रम र म्याराथुन प्रतियोगिता गरी मनाउने भएको हो । कार्यक्रमको प्रमुख अथितिको रूपमा कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल रहनेछन् ।
विद्यालयले नौ वर्षमा प्रवेश गर्ने समयसम्म थुप्रै महŒवपूर्ण कामहरू गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले बताए । उनले हाल विद्यालयमा ६ वटा संकाय रहेको जानकारी दिए । कर्णाली प्रदेश र प्रदेश नं. ५ मा गरी १० वटा आंगिक क्याम्पसको समेत स्थापना गरिएको केसीले बताए । नयाँ संकाय अन्तर्गत कानुन, मानविकी तथा सामाजिक शास्त्र संकाय, इन्जिनियरिङ्ग संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र व्यवस्थापन संकाय लगायत ६ वटा संकाय विश्वविद्यालयले सञ्चालन गर्दै आएको केसीले जानकारी दिए ।
स्वायत्त कार्यक्रमको रूपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट ( मुसुम) समेत सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत बीबीए र एमबीएको कार्यक्रम सञ्चालन गरेको उनले बताए । प्रदेश नं. ५ को बागेश्वरी बहुमुखी क्याम्पस, जलजला बहुमुखी क्याम्पस रोल्पा र बबै बहुमुखी क्याम्पस गुलरिया बर्दियामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालनमा रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशको मुसिकोट खलङ्गा बहुमुखी क्याम्स रुकुम, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, रारा बहुमुखी क्याम्पस मुगु, नायायण क्याम्पस दैलेख, विद्यापुर बहुमुखी क्याम्पस विद्यापुर सुर्खेत, भेरी शिक्षा क्याम्पस गुमी सुर्खेत र भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा विश्वविद्यालयको आंगिक क्याम्पस सुरु भएको सूचना अधिकारी केसीले बताए ।

प्रकाशित मितिः   ३ असार २०७६, मंगलवार १५:०१