‘घाइते तथा अपा·ता भएकाहरूको समस्या समाधान हुन्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ जेठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएकाहरूको समस्या सरकारले सम्बोधन गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा सोमवार जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपाङ्गता भएकाहरूको ज्ञापन–पत्र बुझ्दै मुख्यमन्त्री शाहीले आन्दोलनका घाइतेहरूको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री शाहीले गम्भीर प्रकृतिका घाइतेहरूको पुनस्र्थापना केन्द्र बनाएर व्यवस्थापन गरिने बताए । पुनस्र्थापना केन्द्रमा एक जना सहयोगीसहित गास, बास, कपास र उपचारको व्यवस्थासहित राखिने उनको भनाइ थियो । काम गर्नसक्ने घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र ईच्छा अनुसारको रोजगारीको प्रबन्ध गरिने मुख्यमन्त्री शाहीले बताए । सरकारी नोकरीमा अपाङ्गताको आरक्षण सुरक्षित गरेर आन्दोलनका घाइते तथा अपाङ्गता भएकाहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ । विगतमा घाइतेहरूको समस्या बुझे पनि सोचे जस्तो गर्न नसकेको बताउ“दै उनले भने, ‘एउटै मोर्चामा सँगै लडेको कमाण्डर सरकार प्रमुख छ, सरकारले तपाईंहरूको माग सम्बोधन गर्छ ।’
अपाङ्गता भएका बालबालिकाको लागि निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क उपचार व्यवस्था गरिदिन घाइतेहरूले मुख्यमन्त्रीसँग माग गरेका छन् । उनीहरूले सीप विकासका लागि तालिम, १० लाखसम्म विना धितो ऋण, सवारी साधन खरिदमा ५० प्रतिशत छुट लगायतको माग गरेका छन् । त्यसैगरी ज्ञापन–पत्रमा अपाङ्गता भएका व्यक्तिको व्यवसायमा करछुट, घाइते अपाङ्गको लागि पुनस्र्थापना केन्द्र स्थापना लगायतका माग गरिएको छ ।
यसैबीच सोमवार नै पूर्वजनमुक्ति सेना महिला प्रतिष्ठानको टोलीले पनि मुख्यमन्त्री शाहीलाई पूर्वजनमुक्ति सेनालाई रोजगारी, सहुलीयत ऋण, सीप विकास तथा आयआर्जनमूलक कामका लागि बजेट विनियोजनको माग गरेको छ । प्रतिष्ठानकी अध्यक्ष सिर्जना ओली रावतको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्री शाहीलाई पूर्व महिला जनमुक्ति सेनाका समस्याहरू अवगत गराएको थियो ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७६, मंगलवार १८:०७