भीरबाट लडेर तीन जनाको मृत्यु

साझा बिसौनी संवाददाता
जाजरकोट, २७ जेठ ।
बारेकोट गाउँपालिकामा भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ । मृतकमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत छन् । शाही र सिंह वनलसुन खोज्न अनि बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए ।
बारेकोट–४ स्थित कराइचुला लेक पुगेका दुई भाइ भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । शाही स्थानीय वीरेन्द्र मावि लिम्सामा ९ कक्षामा अध्ययनरत थिए । सिंहले यही वर्ष एसईई दिएका थिए ।
वन लसुन एक प्रकारको जडिबुटी हो । यसको बिक्रीबाट आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहको भनाइ छ । वन लसुन प्रतिकिलो ३२ हजार रूपैयाँमा बिक्री हुने गरेको छ ।
उनका अनुसार महँगोमा बिक्री हुने भएकाले वन लसुन संकलनमा स्थानीयको आकर्षण बढेको छ । बारेकोटमा एक साता अवधिमा भीरबाट लडेर चार र यार्सा संकलन क्रममा लेक लागेर दुुई जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७६, मंगलवार १८:०४