खेतीयोग्य जमिन नै सिँचाइविहीन

yamlal
रोपाइँका लागि खेत तयार पार्दै पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेल ।

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असार ।
असार १५ सम्म सुर्खेतमा जम्मा २० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । जबकी जिल्लामा धानका लागि खेतीयोग्य जमिन १४ हजार ६ सय हेक्टर छ । अघिल्ला वर्षहरूमा यतिबेलासम्म आधा भन्दा बढी रोपाइँ सम्पन्न भइसकेको हुन्थ्यो ।
धान मात्र होइन यसपटक कृषकले समयमै गहुँ र मकै खेती गर्न समेत पाएनन् । यसको प्रमुख कारण हो, सिँचाइ सुविधा नहुनु । जिल्लामा ठूलो क्षेत्रफलमा खेतीयोग्य जमिन भए पनि सिँचाइ सुविधा नहुँदा कृषकहरूले आम्दानी लिन सकेका छैनन् । जिल्ला कृषि विकास कार्यालय सुर्खेतका अनुसार जिल्लाको ३२ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइको सुविधा
छ । बाँकी ६८ प्रतिशत क्षेत्रफलमा आकाशे पानीको भरपर्नुपर्ने बाध्यता छ । जसले गर्दा कृषकहरूले हरेक वर्ष हैरानी खेप्दै आएका छन् ।
आकाशे पानीको भर पर्नुपर्दा कृषकहरूले समयमै खेती गर्न पाएका छैनन् । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने र व्यवसायिक बनाउने बताउँदै आए पनि सिँचाइका लागि भने चासो नदिएको कृषकहरूको गुनासो छ । सधैं आकाशे पानीको भर परेर व्यवसायिक कृषि गर्न नसकिने उनीहरू बताउँछन् । विकास निर्माणका अन्य कामहरूलाई जस्तै सिँचाइलाई पनि प्राथमिकता दिनुपर्ने कृषकहरूको माग छ । सिँचाइ सुविधा नहुँदा कृषकहरूले लगानी अनुसारको प्रतिफल समेत पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
धान दिवस मनाइयो
असार १५ कृषकहरूको लागि उल्लाशमय उत्सव हो । दही चिउरा खाने दिनका साथै धान दिवस र रोपाइँ महोत्सवको रूपमा यो दिनलाई मनाउने गरिन्छ । विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि कृषकहरूले धान दिवस एवम् रोपाइँ महोत्सव मनाएका छन् ।
दिवसकै अवसरमा बुधवार सुर्खेतका विभिन्न स्थानमा सामूहिक रूपमा रोपाइँ महोत्सव गरिएको छ । यसवर्ष सुर्खेतमा कृषकले मात्र होइन जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीदेखि पूर्वमन्त्रीसम्मले रोपाइँ महोत्सव मनाएका छन् । सरकारी कार्यालयका प्रमुखदेखि राजनीतिक दलका नेता र पूर्वमन्त्रीसम्म रोपाइँमा सहभागी भएपछि धान दिवसको रौनक पनि बढेको थियो ।
राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सुर्खेतले वीरेन्द्रनगर–४ को खोर्केमा धान रोपाइँ कार्यक्रमको आयोजना ग¥यो । डिल्ली लम्सालको खेतमा आयोजना गरिएको धान रोपाइँ कार्यक्रमको पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य यामलाल कँडेलले आफै बाउसे बनेर उद्घाटन गरेका थिए । अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका कँडेलले बाउसे बनेर रोप्नका लागि खेत तयार पार्नेदेखि लिएर आफै धान रोप्ने काम समेत गरे । पूर्वमन्त्री कँडेल नै बाउसे बनेर खेतमा पसेपछि स्थानीयवासीले पनि खुशीयाली मनाएका थिए ।
कँडेल मात्र होइन मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक शिवनारायण चौधरी, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख विजयकुमार गिरी लगायत कर्मचारी, राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयवासीले सामूहिक रोपाइँ गरेर धान दिवस मनाएका हुन् । कार्यक्रममा बोल्दै कँडेलले सबै कृषकहरूमा धान दिवसको शुभकामना व्यक्त गरे । उनले मुलुकको आर्थिक समृद्धिका लागि अब कृषिमा आधुनिकीकरण जरुरी रहेको बताए । कृषि क्षेत्र राज्यको पनि प्राथमिकतामा रहेकाले अब यसलाई व्यवसायिक र आधुनिक बनाएर लैजानुपर्ने कँडेलको भनाइ थियो । पूर्वमन्त्री कँडेलले कृषिको आधुनिकीकरण गर्दै किसानलाई व्यवसायी बनाउनसके कृषि क्षेत्रले युवाहरूका लागि स्वदेशमै रोजगारीको प्रशस्त अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘हामीले पुस्तौदेखि गर्दै आएको यही खेतीलाई समय सुहाउँदो प्रविधिको उपयोग गरी आधुनिकीकरण गर्न सक्यौं र यसलाई व्यावसायिक बनाउन सक्यौं भने हाम्रा युवा जनशक्तिले खाडीमा गएर पसिना बगाउनुपर्ने छैन’ उनले भने । यस्तै बुधवार नै वीरेन्द्रनगर–१४ मा पनि सामूहिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा दिवस मनाइएको हो ।

प्रकाशित मितिः   १६ असार २०७३, बिहीबार ०५:३९