कर्णालीले कहिले फेर्छ मुहार ?
कुलप्रसाद चपाईं
यसवर्षको शैक्षिक सत्रको समाप्तीसँगै हाम्रो स्कुल टिमको राराताल हेर्न जाने यात्रा जुट्यो । मधेस पृष्ठभूमि भएका प्रधानाध्यापकको नेतृत्वमा हाम्रो यात्रा १४ सीट जीपमा अगाडि बढ्यो, जब हाम्रो परिचित ठाउँ तल्लो डुङ्गेश्वरबाट अगाडि लाग्यौं तब हामीलाई सबैकुरा अनौठो लाग्यो । कठिन भू–बनोट, अत्यासलाग्दा भीरपहाड, छिचोलेर बनाएको कर्णाली राजमार्ग । कडा चट्टानयुक्त भू–बनोट भिरालो जमिन, साँघुरो उपत्यका, नदीकोतिर र बाँदर लाग्नेभिर, हामीले देखेका विशेषता थिए ती बाटोका । बस्तीको बनावट नै कस्तो विचित्रको एउटा बस्तीको झण्डबाट अर्को बस्तीको झुण्डमा पुग्न कम्तीमा एक घण्टा हिँड्नुपर्ने निकै साँघुरो बाटोबाट चलाएका थिए सबैले आफ्नो दैनिकी घाँसपात, गोठाला । यी दृश्यहरू हामीले गाडीबाट नियालेका थियौं, वास्तविक कर्णाली बुझ्न त हामीलाई त्यहाँको सामाजिक संरचना बुझ्नु आवश्यक थियो । यदि त्यतातिर गएको भए सायद हाम्रो नयाँ शैक्षिक सत्र त्यतै सुरु हुन्थ्यो होला । त पनि बाटामा जे देखिनु तिनीहरू सिंगो कर्णालीलाई बुझ्न पर्याप्त देखिदैंनथ्यो ।
कर्णालीले के खोजेको छ भनेर कसैले सोध्यो भने विभिन्न थरीले विभिन्न उत्तर दिन सक्दछन् । कोही भन्लान् चामल, रोजगार, विकास, उचित जीवनस्तर, उचित मोटर बाटो, कर्णालीको खाद्यन्न, जडिबुटीको बजारीकरण । यी भनाइ सबैको भित्री मनदेखि नै आएका होलान् भन्ने लाग्ने छाडिसक्यो । आज कर्णालीमा विकास र समृद्धिको नाम भजाएर सयौं एनजीओ र आईएनजीओहरू काम गरिरहेका छन्, बाल्ने सोलारदेखि हात धुने साबुनसम्म यस्ता संघ–संस्थाले बाँडेको कुरा बुझिन्छ । खाद्य संस्थान र नेपाल सरकारले वर्षौं हेलिकप्टर र जहाजमार्फत् चामल पु¥याउने गर्दछ, चेतना शिक्षा र संस्कृतिको साथसाथै पर्यटन विकासको लागि थुपै्र रकम राज्यले छुट्याएको दाबी गर्दछ । तर रोग, भोक स्वास्थ्य र अशिक्षा सम्बन्धी समस्या कर्णालीले भोग्दै आइरहेको छ । हाम्रो छोटो बसाइँ र हिँडाइले भेटेका कुराहरू हुन् यी । यति धेरै गर्दा पनि कर्णाली किन पछाडि आज समीक्षाको विषय बन्न सक्दछ । सबैलाई लाग्नसक्छ, गरिबी के हो, त्यो बुझ्न कर्णाली जानुपर्दछ । त्यस्तो होइन कर्णाली वारी पनि गरिबीको चाङ छ । कर्णालीको केही भाग गरीब होला तर पूर्ण कर्णाली गरीब छैन, त्यो त राज्यले गराएको नीतिले कर्णाली गरीब बनेको हो । बाटामा थुप्रै कुराहरू थिए, जसले कर्णालीलाई गरीब हैन सम्पन्न बन्न मद्दत गर्दछ । आज किन कर्णाली गरीब भन्दै पैसा र राजनीतिलाई भजाइदैंछ । के हिजो पनि कर्णाली त्यस्तै थियो ? मैले पढे र सुने अनुसार कर्णालीको सान गौरवमय देखिन्छ, एउटै घरमा १०० भन्दा बढी भेडा हुन्थे र जुम्लाको मार्सी चामल उतिखेर काठमाडौं भित्रिन्थ्यो रे, भेडा च्याङ्ग्रा, सिमी, आलु, घ्यू, मह, उन, राडीपाखी आदि प्रशस्तै थिए रे । छोटोमा भन्नुपर्दा कर्णाली आत्मनिर्भर थियो । वस्तु विनिमयले गर्दा हुने खाने र हुँदा खानेबीच त्यति धेरै अन्तर थिएन रे । कर्णालीको शान थियो तर आज कर्णाली दुःख बाहेक अरु सबै थोक आयात गर्नुपर्ने अवस्थामा छ । आफ्नो सिरानमा सुन राखेर नुन खोज्दै हिँड्ने जस्तो भएको छ । कर्णाली गरिबी रोग र भोगको विम्ब बनेको छ कर्णाली । हामीले के अनुमान ग¥यौं भने, आत्मनिर्भर अर्थतन्त्रबाट अब कर्णाली ओरालो लाग्यो तब काठमाडौंको दयाको पर्खाइमा रुमलिरह्यो । कर्णालीको नाममा विकास र राजनीति गर्नेहरू आफ्नो दुनो सोझ्याउनु भन्दा अर्को कुनै कुरा नगरेको भान सबैमा देख्न सकिन्छ । विभिन्न विकासे योजनाहरू ल्याउने तर त्यसको कार्यान्वयन गर्न नसक्ने अर्को पाटो देखिन्छ, सबै कार्यक्रमहरू अहिले वितरणमुखी मात्रै देख्न सकिन्छ तर उपभोक्तामुखी भने देख्न सकिदैंन । पूर्वाधारको विकास नहुँदा सबैतर्फबाट खुम्चिएको अनुभव हामीलाई पनि भइरहेको थियो तर अब यी कार्यक्रमहरू गरीब केन्द्रित हुन् आवश्यक देखिन्छ । मुगुको गमगढीबाट फर्कर्दै गर्दा हामीले अनौठो कुरा देख्यौं ।
सदरमुकाम भन्दा तल एक हुल महिलाहरू जम्मा भएका थिए, जब हाम्रो गाडी नजिकैबाट गयो तब एक जना महिला बढो बेतोडले हुत्तिदै हाम्रो गाडीतर्फ आइन् उनी गाडी रोक्न आग्रह गर्दै थिइन् हाम्रो आग्रहमा गुरुजीले गाडी रोके । खासमा उनीहरू हाम्रो गाडीलाई गमगढीमा औषधि बाँड्न राखिएको शिविरको गाडी सम्झिएका रहेछन् । गमगढी पुग्न धेरै समय लाग्ने भएपछि बाटो रगेर बसेका थिए उनीहरू, भन्दै थिए नेपालगन्जबाट सरहरू आयाछन् रे, औषधि, कपडा, साबुन, क्या–क्या हो बास्दा थिए रे हिजो हामी त टाढा भइउँ जान पाउन्नौं’ पछि हाम्रो गाडी राराताल हेरेर फर्किएको भनेपछि उनीहरू फर्किए । यो दृश्यले मलाई लाग्यो ‘कर्णालीबासीमा आत्मनिर्भर हुने भन्दा पनि परनिर्भर बन्ने मनोविज्ञान मौलाएको देखिन्छ । त्यो नै अहिलेको समस्याको मूल जड हो । अब कर्णालीबासीको नाममा काम
गर्नेहरूले, यो मनोविज्ञान हटाउन थाल्नु सम्बन्धित सरोकारवालाको प्रमुख दायित्व हो । हिजोको आत्मनिर्भर कर्णालीको इतिहासलाई गर्व गर्दै नयाँ इतिहास बनाउन लगाएमा मात्र कर्णालीको विकास हुन सक्दछ नत्र भने राज्यबाट दुई चार जना टाँठाबाठाले फाइदा लिने भन्दा अरु केही नहुन सक्छ । हामीलाई लाग्यो कर्णाली प्रचूर सम्भावनाले भरिएको छ ।
मुलुकको १४.५% भू–भाग ओगटेको कर्णाली पौने तीन लाख जनसंख्यामा रहेको छ । ऊर्जा, जैविक विविधता र पर्यटन विकासको प्रचूर सम्भावना भएर पनि राज्यशक्तिमा पहुँच निकै कम देख्न सकिन्छ । नेपाल मानव विकास सूचकाङ्क भन्दछ कि कर्णालीमा ४८.१% गरिबी छ । ५५% भन्दा बढी वयस्क साक्षर छैनन् । नेपालीको औषध आयु ६३.६ वर्ष रहे पनि कर्णालीका जनतालाई ५० वर्ष पुग्न मुस्किल छ । छरिएका बस्ती र अवस्था हेर्दा लाग्छ सरकारको उपस्थिति बाध्यात्मक छ । कुनै पनि सरकारी कर्मचारी कर्णालीमा गयो भने हिनता बोध मान्ने र सजाए कटाउन गए जस्तो मान्ने मनोविज्ञान छ । प्रशासनमा शिथिलता, जनमानसमा निराशा, प्रभावकारी अनुगमनको अभाव, असजिलो भू–बनोट, कर्णालीको विशेषतामा आधारित नीति कार्यक्रमको अभाव, कर्णाली विकासका अवरोधहरू हुन् । सम्भाव्यताले मात्र परिवर्तन हुँदैन, योजनासहितको इच्छाशक्ति हुनुपर्दछ, अनिमात्र कर्णालीले मुहार फेर्न सक्दछ । यहाँका रारा र फोक्सुण्डो पर्यटक पर्खेर बसेका छन्, जडिबुटी र जैविक विविधता प्रशोधन र उत्पादन पर्खेर बसेका छन्, छरिएका वस्तीहरू एकीकृत गरी विकास हुने प्रतिक्षामा देखिन्छन्, स्याऊ, सिमी तथा अन्य स्थानीय वालीनालीहरू बजारीकरण र सरकारी आयोजनाको प्राथमिकरणका लागि पर्खिएका छन्, यार्सा, शिलाजीतहरू प्रशोधन केन्द्रको लागि र नदीनालाहरू विद्युत उत्पादनको प्रतिक्षामा छन् । सरकार सबैकुराहरू समेट्ने नीति गराएर विकास गरे चाँडै मुहार फेरिन्छ कि ?
साझा बिसौनी संवाददाता ।