‘जागरण अभियान सफल’
सुर्खेत, २० जेठ । साबिस)
नेपाली कांग्रेस सुर्खेतले पार्टीले जिल्लामा सञ्चालन गरेको जनजागरण अभियान सफल भएको निश्कर्ष निकालेको छ । जिल्ला समितिको सोमवार वीरेन्द्रनगरमा बसेको बैठकले अभियान सफल भएको निश्कर्ष निकाल्दै जेठ २५ गते समापन गर्ने निर्णयसमेत गरेको छ ।
जिल्ला सभापति कमलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले गत वैशाख २३ गतेदेखि थालिएको कांग्रेसको पहिलो चरणको जनजागरण अभियान अहिलेसम्म सफल भएको र पहिलो चरणको अभियानको समापन यही जेठ २५ गते भव्यरूपमा गर्ने निर्णय गरेको हो । समापन यही जेठ २५ गते दिउँसो १ बजे पार्टी कार्यालयमा गरिनेछ ।
पहिलो चरणमा जिल्लाका एक दर्जन स्थानहरूमा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा अभियानहरू सम्पन्न भएका छन् । पहिलो चरणको अभियान पूर्णरूपमा सफल भएको र यसले कार्यकर्ताहरूमा उत्साह थपिएको पाएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । उनले कांग्रेसको जागरण अभियानले गाउँ–गाउँमा कार्यकर्ताहरू उत्साहित भएको, संघीयता अनुसार पार्टीको पनि संरचना हुनुपर्ने, पार्टीभित्रको गुट उपगुटको राजनीतिक अन्त्य हुनुपर्ने र एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने सुझाव कार्यकर्ताहरूबाट प्राप्त भएको जनाए ।
अभियानको पहिलो चरणको समापन कार्यक्रममा सहभागी हुन पार्टीका भातृ संगठन, शुभेच्छुक संघसंगठनहरूलाई आग्रह गरिएको सभापति रेग्मीले बताए ।
साझा बिसौनी संवाददाता ।