पुरानालाई नै प्राथमिकता

सीता वली
सुर्खेत, २० जेठ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि योजना बनाउँदैछ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि पञ्चपुरीले सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नगर प्रमुख उपेन्द्रबहादुर थापाले सडक, खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।
पञ्चपुरीसँग सीमाना जोडिएको चौकुने गाउँपालिकाले पनि विगतमा जस्तै पूर्वाधार निर्माणलाई नै प्राथमिकतामा राख्ने तयारी गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला मगरका अनुसार चौकुने जिल्लाकै विकट स्थानीय तह भएकोले यस पटक पनि पूर्वाधार विकास नै प्राथमिकतामा पर्नेछ । योजना छनौट अझै भएको छैन’ उनले भनिन्, ‘तर हाम्रो गाउँपालिका निकै विकट भएकाले यातायात नै मुख्य समस्या हो, त्यसैले सडक प्राथमिकतामा पर्नेछ ।’
पञ्चपुरी र चौकुने जस्तै जिल्लाका अधिकांश स्थानीय तहले पुरानै योजनाहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याउने तयारी गरेका छन् । त्यसका लागि प्रारम्भिक तयारी सुरु भइसकेको छ । विगत दुई आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसकेका स्थानीय तहले तेस्रो पटक बजेट कार्यान्वयनका लागि आवश्यक नीति बनाउन लागेका हुन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आगामी वर्षको नीतिका लागि स्थानीय तहले टोल तथा वडास्तरमा छलफल समेत सुरु गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहहरूले जनताका आवश्यकतालाई सम्बोधन गर्ने गरी जनस्तरमा आवश्यक अन्तरक्रिया र छलफल चलाइरहेका छन् । जनताका सुझावका आधारमा बजेट ल्याउने दाबी गर्दै स्थानीय सरकार नीति निर्माणमा जुटेको हो ।
नौ वटा स्थानीय तह रहेको सुर्खेत जिल्ला कर्णाली प्रदेशका अन्य नौ वटा जिल्लाभन्दा केही सुगम र विकसित पनि मानिन्छ । तर पनि स्थानीय सरकारले विगतका दुई वटा आर्थिक वर्षमाझै यसपाली पनि पूर्वाधार विकासलाई नै आगामी वर्षको कार्यक्रममा प्राथमिकता दिने तयारी गरेका छन् ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको थियो । नगपालिकाका प्रमुख हस्त पुनका अनुसार यो वर्ष पनि पूर्वाधार विकास सँगसँगै आर्थिक विकासलाई प्राथमिकता दिएर नगरले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । ‘नगरका जनताहरूलाई स्वरोजगार बनाउने लक्ष्य हाम्रो रहेको छ’ उनले भने, ‘सीपमूलक र दक्ष जनशक्ति उत्पादन गरी नगरका जनतालाई रोजगारी दिएर आर्थिक समृद्धि ल्याउने लक्ष्यसहित यो वर्षको नीति तथा कार्यक्रम बन्नेछ ।’
भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले आफूहरू पूर्वाधार विकासमा पछाडि परेको हुनाले यस वर्ष पनि त्यसैलाई प्राथमिकता दिने बताए । ‘पूर्वाधार विकासमा अझै पनि हामीहरू पछाडि नै छौं’ उनले भने, ‘अघिल्लो वर्ष झै यो वर्ष पनि भेरीगंगा नगरपालिकाको प्राथमिकतामा पूर्वाधार विकास नै पर्छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक जस्ता कुराहरूमा समृद्धि ल्याउन सकियो भने मात्रै विकासको आभाष जनताले गर्न सक्छन् ।’
चिङ्गाड गाउँपालिकाले भने आगामी वर्ष कुन कुरालाई प्राथमिकता दिने भन्ने निर्धारण गरिसकेको छैन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन कार्यालयले अन्तिम तयारी गरे पनि यही कुरालाई प्राथमिकतामा राख्छ भन्न नसकिने चिङ्गाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले बताए । ‘आन्तरिक रूपमा भने गौरवका आयोजनालाई यो आर्थिक वर्षमा गाउँपालिकाले प्राथमिकतामा राख्ने तयारी गरेको छ’ उनले भने, ‘सडक र खानेपानी नै यो आर्थिक वर्षमा प्राथमिकतामा पर्ने गरी आन्तरिक छलफल भइरहेको छ ।’
प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि पूर्वाधार सँगसँगै थप योजना ल्याइने जनाएको छ । यो वर्ष युवा तथा महिला लक्षित कार्यक्रम ल्याउन लागेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । ‘यो वर्ष युवा र महिला लक्षित कार्यक्रम
बढी ल्याइने छ’ उनले भने, ‘राजश्व संकलनलाई समेत अभियानकै
रूपमा अगाडि बढाउने योजना बनाएका छौं ।’
सिम्ता गाउँपालिकाले पहिलो वर्षमै तीन वटा महŒवपूर्ण कार्यक्रम ल्याएको र पहिलो वर्षकै कार्यक्रम यो वर्ष पनि प्राथमिकतामा पर्ने गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । पहँुचमार्ग निर्माण, सिम्ता उज्यालो कार्यक्रम र जनतासँग सिम्ता गाउँपालिका
कार्यक्रम नै यो वर्ष पनि निरन्तर रूपमा अगाडि बढ्ने उनले बताए । यसैगरी बराहताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटाले कृषिलाई प्राथमिकता दिएर योजना बनाइने बताए । ‘कृषिको राम्रो सम्भावना भएकोले यो स्थानीय तहमा दुग्ध उत्पादन, नगदे बाली उत्पादन लगायतका कार्यक्रम प्राथमिकतामा पर्नेछन् ।’ सँगसँगै विद्युत तथा सडक सञ्जाल निर्माण समेत आगामी वर्षको योजनामा पर्ने सापकोटाले बताए ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७६, मंगलवार ०७:०५