शाहीलाई यातना दिइएको छैनः प्रहरी

सुर्खेत, २० जेठ । (साबिस)
साइबर क्राइमको मुद्दामा पक्राउ परेका ज्ञानेन्द्रबहादुर शाहीलाई यातना नदिइएको प्रहरीले प्रष्ट पारेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शाहीले प्रहरीमाथि लगाएको आरोप गलत र निराधार भएको बताएको हो ।

गत वैशाख १८ गते एक अनलाइनलाई फेसबुकमार्फत अन्तरवार्ता दिदै पत्रकारलाई गाली गरेपछि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले संयुक्त रूपमा शाहीविरुद्ध साइबर अपराधको उजुरी दिएका थिए । सोही जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते शाहीलाई पक्राउका लागि वारेन्ट जारी गरेको थियो । अदालतको आदेशमा शाहीलाई जेठ १५ गते वीरेन्द्रनगरको खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो । शाही पक्राउ परेयता सामाजिक सञ्जालमा प्रहरी र पत्रकारहरूमाथि टिकाटिप्प्णी हुन थालेका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले प्रहरीबाट यातना खेप्नुपरेको भनेर शाहीले लगाएको आरोप गलत भएको दावी गरे । ‘शाहीलाई पक्राउ परेलगतै प्रहरी निरीक्षकको कार्यकक्षमा राखिएको छ, हिरासतमा नराखेर काठमाडौं पठाएको थियो’ शाहले भने,‘उनलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले जवरजस्ती गरेको हो । तर, उनका समर्थकले ढुङ्गामुढा गर्दा प्रहरीसमेत घाइते भएका छन् ।’ शाहीलाई लागेको चोट उनका समर्थकले प्रहरीमाथि ढुङ्गामुढा गर्दा लागेको उनले बताए । शाहीलाई पक्राउ पूर्जी बिनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भएपछि प्रहरीले उक्त अभिव्यक्तिहरू आधारहिन भएको बताएको छ ।

प्रहरीका अनुसार अदालतले पक्राउ पूर्जी जारी गरेपश्चात शाहीको खोजतलास गरिएको थियो । शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्वय रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएको प्रहरीले जनाएको छ । शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बााकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो ।
शाहीसँगै पक्राउ परेका समर्थकहरूलाई समेत सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७६, मंगलवार ०७:००