भूमि व्यवस्था विभाग गठन गर्न माग
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ जेठ ।
कर्णाली प्रदेशका सुकुम्बासी तथा भूमिहीनहरूले प्रदेश तहमा विभाग गठन गर्न माग गरेका छन् । प्रदेशका भूमिहीनको तर्फबाट आगामी बजेटमा प्राथमिकता दिन ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल सुकुम्बासी संघले अधिकार सम्पन्न विभाग गठन गर्न माग गरेको हो ।
विभागमा सुकुम्बासी, भूमिहीन र बाढीपीडितका क्षेत्रमा काम गर्दै आएको व्यक्तिलाई अध्यक्ष र एक जना महिला सदस्य सहितको तीन जनालाई समावेश गर्न समेत माग गरिएको छ । सुकुम्बासी तथा भूमिहीनको वास्तविक तथ्यांक संकलनका लागि प्रदेश सरकारले लाग्न पनि आग्रह गरिएको छ । तथ्यांक संकलनका लागि प्रदेश सरकारले पाँच जनासम्मको समिति गठन गर्न आग्रह गरिएको हो । सुकुम्बासी र भूमिहीनका लागि एक घर एक रोजगार नीति बनाउन र कार्यान्वयन गर्न, बाढीपीडितको निःशुल्क घर निर्माण, स्वास्थ्य सेवा, उच्च शिक्षासम्मको अध्ययन सेवा उपलब्ध गराउने माग पत्रमा उल्लेख छ ।
संघका प्रदेश अध्यक्ष यामराज मल्लले हस्ताक्षर गरेको विज्ञप्तिमा भूमिको सर्वेक्षण गर्नुपर्ने, अभिलेख आवाधिक गर्नुपर्ने, भूमिको वर्गीकरण गर्नुपर्ने, अव्यवस्थित रूपमा घरबास गरि बसेका सुकुम्बासीहरूलाई बसेकै ठाउँमा विना राजश्व स्थायी लालपूर्जा बनाइ हक कायम हुने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।
साझा बिसौनी ।