वीरेन्द्रनगरमा पनि फाइबर सेवा
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ जेठ ।
नेपाल टेलिकमले सुर्खेतमा उच्च गतिको फाइवर टू होम सेवा शुरु गरेको छ । यसअघि एडिएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा सुरु गरेको हो ।
पहिलो चरणमा वीरेन्द्रनगरको पिपलचौतरा, वीरेन्द्रनचौक र तल्लो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिरहेको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । उनका अनुसार यो क्षेत्रमा तत्काल एक हजार पाँच सय बढी ग्राहकले फाइवरमार्फत् इन्टरसेवा उपभोग गर्न पाउनेछन् । ‘१० दिनभित्रै फाइवरबाट इन्टरनेट जडान गर्दैछौं’ खतिवडाले भने, ‘वीरेन्द्रनगरका बाँकी क्षेत्रमा भने आउने आर्थिक वर्षमा फाइवर सेवा विस्तार गर्ने लक्ष्य छ ।’
टेलिकमले तत्कालै अफिसियल र इत्राम क्षेत्रमा समेत फाइवरको काम सुरु गर्न लागेको छ । फाइवर बिछ्याउन वीरेन्द्रनगरका केही क्षेत्रहरूमा सर्भेको काम सुरु गरिएको प्रमुख खतिवडाको भनाइ छ । दैलेख सदरमुकाममा पनि फाइवर विस्तार गर्ने काम जारी रहेकाले दुई महिनामै इन्टरनेट सेवा सुरु हुने नेपाल टेलिकम सुर्खेतले जनाएको छ । ग्राहकले आठ एमबीपीएसको इन्टरनेटमा फोन सेवा, डीवाइस र एक सय मिटर तार निःशुल्क पाउनेछन् । यसको वार्षिक शुल्क आठ हजार रहेको टेलिकमले जनाएको छ । तर एडीएसल ग्राहकहरू स्वतः फाइवर सेवामा रूपान्तरण गरिने खतिवडाले जनाए ।
साझा बिसौनी ।